logo
२०८१ बैशाख १२ बुधवार



सहकारीले बेचे रु दुई करोडका खसीबोका

अर्थ |


सहकारीले बेचे रु दुई करोडका खसीबोका


रीता लामा

घोराही,  असोज २५ गते । बडादशैंँका अवसरमा दाङका छ महिला सहकारीले करीब रु दुई करोडको खसीबोका उत्पादन गरेर बिक्री गरेका छन् । यस वर्षको दशैँमा सबैभन्दा बढी लमही नगरपालिका ९ रिहारमा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाले रु ९० लाख ४१ हजार मूल्यका एक हजार ५३० खसीबोका बिक्री गरेको छ ।
सहकारी संस्थाका अध्यक्ष देवीमाया थापाले सहकारीमा आबद्ध महिलाले उत्पादन गरेका खसीबोका एकमुष्ट सङ्कलन गरेर सहकारीमार्फत नै व्यापारीलाई बिक्री गरिएको जानकारी दिनुभयो । सहकारीले उत्पादन गरेका खसीबोका थोरै मात्र जिल्लामा खपत भएको र अन्य सबै जिल्ला बाहिर एवम् राजधानी पठाइएको उहाँले बताउनुभयो । सहकारीले यस वर्ष करीब तीन हजार पाँच सय खसीबोका बिक्री गर्ने लक्ष्य राखेको छ ।
यस्तै लमही नगरपालिका ८ सतबरियामा रहेको नीलकमल सामाजिक उद्यमी महिला सहकारी संस्थाले रु ४५ लाख ४४ हजार मूल्य बराबरको खसीबोका दशैँमा बिक्री गरेको छ । सहकारीमा आबद्ध महिलाले उत्पादन गरेका ८७६ खसीबोका दशैँमा बिक्री गरिएको छ । यस वर्ष करीब दुई हजार ८०० खसीबोका सहकारीले बिक्री गर्ने लक्ष्य लिएको सहकारीका अध्यक्ष पुनम घर्तीले जानकारी दिनुभयो ।
यस्तै दीपन सहकारी संस्थाले पनि ८७६ खसीबोका रु २८ लाख ९६ हजारमा बिक्री गरेको छ । घोराही उपमहानगरपालिका १३ मा रहेको ज्यामिरे महिला सहकारीले पनि ४६७ खसीबोका रु १४ लाख ८०९ मा बिक्री गरेको छ । समुन्नति सामाजिक उद्यमी महिला सहकारीले ८९६ खसीबोका रु १५ लाख ५६ हजारमा बिक्री गरेको छ ।
सहकारीमा आबद्ध महिलाले उत्पादन गरेका खसीबोका सहकारीका सहजकर्तामार्फत घरघरमा पुगेर उनीहरुकै अगाडि तौलिएर बेच्ने गरिएको सहकारी सहजकर्ता पावती बस्नेतले जानकारी दिनुभयो । महिलालाई उत्पादन र उद्यमसँग जोड्ने उद्देश्यले दाङसहित प्युठान र सल्यानमा पनि ग्रामीण महिला उत्थान केन्द्रले महिला सहकारी संस्था स्थापना गरेको थियो ।
केन्द्रद्वारा सञ्चालित पशु वस्तुको मूल्य शृङ्खलामा आधारित साना किसान परियोजनाका कार्यक्रम संयोजक भीमकान्त चौधरीले तीन जिल्लाका १२ सहकारीले दशैँमा मात्रै आठ हजार ८५० खसीबोका बिक्री गर्नुभएको छ । उहाँका अनुसार दाङका छ, प्युठानका तीन र सल्यानका तीन सहकारीले रु तीन करोड मूल्य बरावरको खसीबोका बिक्री गरेका छन् । ती तीन जिल्लामा रु दुई करोड ९८ लाख ४६ हजार ९८१ बराबरको खसीबोका बिक्री गरिएको छ । ती सहकारीमा आबद्ध महिलाले यस वर्ष करीब २० हजार ३३४ खसीबोका उत्पादन गर्ने लक्ष्य लिएका छन् ।
अहिले जिल्लामा करीब दर्जन बढी महिला उद्यमी सहकारी संस्थाले सहकारी सदस्यमार्फत खसीबोका, कुखुरा, हाँस र दूध उत्पादनको काम गरिरहेका छन् । महिला उत्थान केन्द्रको मातहतमा रहेका ती सहकारी एउटामा कम्तीमा ५०० देखि एक हजारसम्म सदस्य छन् । उनीहरु उत्पादनको काममा सक्रिय छन् । तिनै सहकारीले अहिले जिल्लामा खसीबोकाको माग धानी राजधानीसम्म पठाउने काम गरिरहेका छन् ।
सहकारीमा महिलाले २५ किलोभन्दा माथि जिउँदो खसी रु ५३५ प्रतिकिलो, २० देखि २५ किलोसम्मको रु ५१० प्रतिकिलो र बोका २० किलोदेखि माथि रु ५१० प्रतिकिलोमा घरैबाट बिक्री गरेका थिए । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?