वैदेशिक रोजगार सिक्ने अवसर पनि

अर्थ |


2019-10-08-2396


उमेश ओझा/शरदराज सुवेदी

विदेशको बसाइँले मानिसको सोचाइ बहुआयामिक बनाउँछ । उसले घर बाहिरको संसार बुझ्छ र नयाँ ठाउँको रीत, विधि विधान र ज्ञानले उसको व्यक्तित्व विकास गराउँछ, चाहे श्रमका लागि नै उसले स्वदेश किन नछाडेको होस् । घरमा बस्दा वर्षौंसम्म नजानेको वा नसिकेको कुरा व्यक्तिले छ महिने छोटो वैदेशिक बसाइँमै सिक्न सक्छ ।
नेपाली युवा ठूलो सङ्ख्यामा वैदेशिक रोजगारीमा जाने गरेका छन् । दक्षिण कोरिया, मलेसिया तथा खाडी मुलुकका देश उनीहरूका प्रमुख गन्तव्य हुन् । अनौपचारिक रूपमा अन्यत्र जानेहरू पनि छन् । वैदेशिक श्रममा गएका नेपालीलाई हामीले स्वदेशमा दुई पक्षबाट मात्र चिन्ने गरेका छौँ ः पहिलो हो, वैदेशिक रोजगारीमा जाने नेपालीले अर्बौं रुपियाँ विप्रेषण (रेमिट्यान्स) पठाउने गर्छन् । दोस्रो हो, उनीहरूले साह्रै दुःखपीडा पाउँछन् र ठगिन्छन् । यिनै विषयमा मात्र यहाँ चर्चा परिचर्चा हुने गरेको छ ।
तर यी चर्चाले एउटा निकै महìवपूर्ण कुरा ओझेलमा पारेको छ र त्यो हो उनीहरूले कार्यथलोमा र बसाइँका क्रममा अनौपचारिक रूपमा हासिल गर्ने सीप, अनुशासन र भद्र जीवनशैलीका कुरा । हामीले यिनै विषयलाई खोतल्नका लागि त्रिभुवन विमानस्थलमै गएर वैदेशिक रोजगारीबाट फर्किएका १५ जनासँग कुरा ग¥यौँ । उनीहरूले आफ्ना दुःखका कुरा सुनाए, गुनासा अभिव्यक्त गरे, नेपालमै अब केही गरेर बस्ने विचार व्यक्त गरे, केहीले सीप नै नसिकेको कुरा पनि गरे तर ती सबैका कुरा गर्ने शैलीमा आक्रोश थिएन भद्रता थियो, आशा र परिवार मिलनको चाहना तथा देशप्रतिको माया अभिव्यक्त भयो । सीप हासिल गरेर आएकाहरूले स्वदेशमै सीपको सदुपयोग गर्ने कुरा बताए । दक्षिण कोरियाबाट फर्केर आफ्नै उद्यम सञ्चालन गरिरहेकाहरूका कुरा त झनै उत्साहप्रद थिए ।

रेवन्तबहादुर खत्री

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट प्लम्बिङको तालिम लिएर सन् २०१२ मा दक्षिण कोरिया हानिएका रेवन्तको सफलता र व्यक्तित्व वैदेशिक श्रमलाई आलोचनाको ऐनाबाट मात्र हेर्नेलाई कडा जवाफ हो । आफ्नो ‘चाहना, इच्छाशक्ति र सङ्गत’ले मानिस निर्देशित रहने मान्यता राखेका रेवन्त पाँच वर्ष कोरिया बसेर फर्किए । त्यहाँ उनलाई केही दुःखपीडा त भयो तर त्यसले उनको इच्छाशक्ति झनै बलियो भएर आयो । आज उनी कोरियामा आफूले गरेको कामको सीप यहाँ प्रयोगमा ल्याएर आम्दानी मात्र गरिरहेका छैनन् कोरियामा रहँदा अप्रत्यक्ष रूपमा जानेबुझेका कुराले उनलाई वैचारिक रूपमा सुसंस्कृत पनि बनाएको छ ।
“अब अरू देशमा कस्तो हुन्छ भन्ने त मलाई थाहा भएन तर कोरिया गएर मैले आफूलाई धेरै फराकिलो बनाउने मौका पाएँ । म भिन्न खालको मान्छे बनेँ । समूहमा काम कसरी गर्नुपर्छ र एकअर्कालाई कसरी सघाउनुपर्छ भन्ने वास्तविक ज्ञान मैले कोरियामा प्राप्त गरेँ,” उनी भन्छन् ।
आफ्नै हजाम पसल चलाइरहेका रेवन्तले कोरिया गएर श्रमका साथै हेयर डिजाइनिङ कार्य तीन वर्ष सिके । उनले कपडा बनाउने कारखानामा समेत गरेका थिए । यसबाट उनलाई धागोदेखि कपडाको बजार व्यवस्थासम्मको जानकारी छ ।
कोरियामा आफ्नो व्यक्तित्व विकास भएको मान्ने उनलाई कोरियाको सरसफाइ, बोलीचाली र श्रमको सम्मान गर्ने व्यवहारले साह्रै प्रभावित गरेको छ ।
कोरियालीमा फोहोरलाई माया गर्ने (हाम्रो जस्तो नाक थुन्ने होइन) बानी विकास भएको बताउँदै उनी भन्छन्, “उनीहरू कुनै पनि कामलाई सानो ठूलो भन्दैनन्, जे काम गर्न पनि तयार हुन्छन्, जहाँ पायो त्यहीँ फोहोर फाल्दैनन्, मेरो पाइन्टको एउटा गोजी त हरेक दिन फोहोरले भरिएको हुन्थ्यो ।” रेवन्तको कार्यालयका हाकिम नै आफ्नो शौचालय आफैँ सफा गर्थे ।
उनको भनाइमा कोरियालाई त्यहाँ विकास गरिएको शासकीय प्रणालीले समृद्ध बनाएको छ । त्यही प्रणालीले कोरियालीलाई मायालु तरिकाले व्यवस्थित पारेको छ– उनी भन्छन् ।
यसरी रेवन्तले कोरिया बसाइँका क्रममा कामको सीप सिक्नेदेखि सुसंस्कृत सभ्यताका कुरा पनि जान्ने र बुझ्ने मौका पाए । जुन कुरा उनी यहाँ आएर पनि अपनाउने प्रयास गरिरहेका छन् ।

फायरस्टप प्रविधि सिकेको छु

कैलाली, लम्कीका तेजबहादुर कार्की ३७ महिना कतार बसेर यही भदौमा स्वदेश फर्किए ।
विमानस्थल बाहिर निस्कनासाथ घरपरिवारलाई टेलिफोन गर्ने प्रयासमा सिम खोज्दाखोज्दै रन्थनिएका तेजबहादुरले हामीसँग छोटो कुरा गर्दै अब स्वदेशमै केही काम गर्ने विचार लिएर आएको बताए ।
कतारमा फायरस्टप प्रविधिमा काम गरेका उनी नेपालमा यो प्रविधि भित्रिइनसकेकाले अहिले नै के गर्छु भन्नेमा आपूm स्पष्ट नभएको बताए ।
कोरा श्रमिकका रूपमा कतार गएका तेजबहादुरले केही समय ट्याक्सी वासिङको काम पनि गरे तर उनी फायरस्टप प्रविधिको ज्ञान लिएर आएका छन् ।
मैले फायरस्टप प्रविधि सिकेको छु, यहाँ अहिले नै यसको काम पाइएला जस्तो छैन– भन्छन् तेजबहादुर ।
सरकारले वा अरू कसैले आवश्यक ठानेमा आफूले यस प्रविधिका बारेमा जानेको कुरा साझा गर्ने उनको भनाइ छ ।

हाम्रो यहाँ त, खै त्यसरी काम हुन्छ जस्तो लाग्दैन

दाङको लमहीका गणेश महतरा सन् २०१५ मा कतार गएका थिए । लामो समय स्टोरकिपरको काम गरेर उनी फर्किएका छन् । आफूलाई कत्तिको विशेषज्ञता हासिल भयो वा ज्ञान प्राप्त भयो उनी अभिव्यक्त गर्न सक्दैनन् तर स्टोरकिपिङमा वैज्ञानिक तौरतरिकाले उनलाई प्रभावित पारेको रहेछ । जथाभावी सामान नराखिने, सबै सामान सूचीकृत गरिने र कम्प्युटर प्रणालीबाट व्यवस्थापन गरिनेसम्मका कुरा उनले त्यहाँ देखे ।
“हाम्रो यहाँ त, खै त्यसरी काम हुन्छ जस्तो लाग्दैन । कतारमा काम गर्दा जे मन लाग्यो त्यो गर्न नपाइने, मिलाएर गर्नुपर्ने ।” उनले त्यहाँ विधिविधानका तौरतरिका कत्तिका प्रभावकारी छन् भन्ने सङ्केत दिए ।

श्रमको सम्मान र साहस कोरियालीहरूमा छ ।

सन् १९९१ मै काम गर्नका लागि बृहस्पति दाहाल दक्षिण कोरिया गएका थिए । सन् १९९७ मा उनी त्यहाँबाट फर्किए र सन् २००९–२०१३ सम्म पुनः कोरिया बसाइँपछि स्वदेश फर्केर उनी झापाको चन्द्रगढी र दूधेमा आफ्नै कर्म गरेर बसिरहेका छन् ।
काम गर्न कोरिया गएका बृहस्पतिले त्यहाँ जिन्स पाइन्ट बनाउनेदेखि वासिङसम्मका काम
गरे । गाडीका पाटपुर्जा बनाउने क्षेत्रमा समेत काम गरेको अनुभव पनि उनीसँग छ । तर कोरियामा कुखुरापालन (पोल्ट्री फर्म)का विधिले उनलाई आकर्षित गरेको थियो । उनले साथीहरूले काम गर्ने पोल्ट्री फर्ममा गएर त्यहाँको काम हेरे । आपूmले त्यहाँ जाने, देखेका कुरा पछ्याउँदै उनी अहिले चन्द्रगढी र दूधेमा आफ्नै पोल्ट्री फर्म चलाएर बसेका छन् ।
कोरियालीलाई धेरै नै जागरुक देखेका उनी हामीले पनि आफ्नो काममा सानोठूलो नमानेर दत्तचित्त भएर लाग्नुपर्ने धारणा राख्छन् । उनी भन्छन्, “श्रमको सम्मान र साहस कोरियालीहरूमा छ । उनीहरू आफ्नो देश आफैँले बनाउनुपर्छ ठान्छन् । उनीहरूका तीन प्रेम छन् ः देशप्रेम, प्रकृतिप्रेम र श्रमप्रेम ।”
उनको भनाइमा कोरियालीलाई २१–२३ वर्षसम्म अनिवार्य सैनिक तालिम भएकाले पनि हुनसक्छ उनीहरू आफ्नो जिम्मेवारीप्रति धेरै नै अनुशासित छन्, ठूलालाई सम्मान गर्नुपर्छ भन्ने हरेक कोरियालीको मनमा छ ।

नेपालमा ठूला कम्पनी हुनु प¥यो नि

कतारबाट आएका सन्तोष विश्वकर्माले विमानस्थलमा परिवारका सदस्यसँगै खुसी साट्दै गर्दा छोटो समय दिएर आफू हेल्परका रूपमा काम गर्न गएकाले सीपका कुरा त खासै केही हासिल नगरेको तर कतारको नियम कानुन, अनुशासन र व्यवस्थाबाट आफू प्रभावित भएको बताए ।
रामेछाप ल्याङल्याङ, भिरपानीका सन्तोषले कतारमा खाना बनाउने काम पाएका थिए । त्यही खाना बनाउने कामको ज्ञान उनले पाएका छन्, जुन यहाँको भन्दा बेग्लै छ । “तर नेपालमा ठूला कम्पनी हुनु प¥यो नि हामीलाई काम दिन”, उनले भने ।

सरसफाइ र विकास मात्र देखिने भए पनि देश नै फरक भइहाल्छ

हँसिलो मुद्रामा देखिएका रोल्पा, हार्जनका गुमान पुनमगरले साढे तीन वर्ष कतारमा सीप सिक्ने खासै अवसर नपाए पनि उनलाई त्यहाँको प्रहरी प्रशासनको चुस्तता, अनुशासन र सहयोगी भावनाले धेरै प्रभावित पारेछ ।
“जहाँ पनि आधुनिकताको धनी, सरसफाइ र विकास मात्र देखिने भए पनि देश नै फरक भइहाल्छ नि” कतारबारेमा आफ्नो अनुभव सुनाउँदै उनी भन्छन् ।
सीप केही नसिकेको बताउने उनी कतारमा अप्रत्यक्ष रूपमा जीवनका पक्ष बुझेर आएका रहेछन् । बाटो कहाँबाट पार गर्ने, बाटोमा जेब्रा क्रसिङको महìव, कताबाट गाडी मोड्नुपर्छ, बाटोको सरसफाइ, सेवामुखी प्रशासन, कम बोल्ने र धेरै काम गर्ने, चर्को स्वरमा नबोल्ने, अनुशासित रहने जस्ता कुरा उनीबाट सुन्न पाइयो ।

नेपालीको सीप परीक्षण शुरु गरेका छौँ

राजनप्रसाद श्रेष्ठ
कार्यकारी निर्देशक
वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड

अघिल्लो वर्षदेखि हामीले वैदेशिक श्रममा गएपछि त्यहाँ सीप पनि सिकेर फर्केका नेपालीको सीप परीक्षण कार्य शुरु गरेका छौँ ।
वैदेशिक रोजगारीमा जाने र सीप परीक्षणका लागि आवेदन दिने सङ्ख्याबीचको अन्तर धेरै ठूलो भए पनि आरम्भिक प्रयासलाई हामीले सकारात्मक नै मान्नुपर्छ । प्रभावकारी सूचना प्रवाह नभएर हो वा सीप नै नसिकेर आएकाले हो, आवेदन दिनेको सङ्ख्या निकै कम छ ।
सूचना प्रभावकारी नभएर हो भने त यसमा हामीले काम गर्न सक्छौँ तर रोजगारमा जाने तर सीप नसिकेर नै फर्कने बढी छन् भने त यो चिन्ताको विषय हो ।
श्रम गर्न विदेश जाने र त्यहाँको निर्माण क्षेत्रमा काम गर्ने जस्तो कि प्लम्बर, इलेक्ट्रिसियन, खट बाँध्ने, सीप हासिल गरेका बढी देखिएका छन् । यस प्रकारको सीपले प्रतिस्पर्धी बजारमा त्यति महìव पाउँदैन । तर केहीले भने विशेष खालका सीप हासिल गरेका छन् तर उनीहरू त्यसअनुसारको काम नेपालमा पाइरहेका छैनन् । उनीहरूले जीविकोपार्जनका लागि अन्य पेशा अपनाउँदा विदेशमा हासिल गरेको सीप ह्रास भएर जाने अवस्था छ । तर हामीले वैदेशिक रोजगारीबाट फर्किएकाहरूको बानीबेहोरा परीक्षण भने गरेका छैनौँ ।

वैदेशिक रोजगारीले के सिकाउँछ
- कुरा कम गर्ने, बढी सुन्ने ।
- सम्भावित वा आइपर्ने घटनाका लागि तयारी अवस्थामा रहने ।
- भाषा, रीतिरिवाज बारेमा थाहा पाइने र तिनको सम्मान गर्ने ।
- कुनै पनि काम गर्नसक्छु भन्ने आत्मविश्वास प्राप्त हुने ।
- आफ्नो धरातल चिनिने ।
- सीप सिकिने र दक्ष भइने ।
- कुरा गर्ने तौरतरिका जानिने ।
- सुस्तरी बोल्ने, अरूको चियोचर्चा नगरी आफ्नो काममा ध्यान लगाउने ।
- विधिको पालना गर्ने । नियममा बाँधिएर रहने ।
- अरूका लागि सहयोगी हात बढाउन तयार रहने ।
- वास्तविक रूपमा देशप्रेम महसुस हुने ।
- खाने, पिउने, लाउने, सुत्ने तौरतरिका जानिने ।
- नयाँ प्रविधिको ज्ञान हासिल हुने ।
- समाज र त्यहाँको मूल्य मान्यता बुझ्न पाइने ।
- लोभी, कपटी नभएर मिहिनेतमा विश्वास गरिने ।
- राष्ट्रियता र आत्मीयता गहिरो हुने ।

विचारणीय पक्ष

तपाईंमा सोचेको भन्दा बढी क्षमता छ
वैदेशिक रोजगारीमा अनिश्चितता र चुनौती छन् तर तपाईंमा आफूले ठानेको भन्दा बढी क्षमता पनि छ । जसले तपाईंलाई आइपरेका हरेक बाधा पार गर्न मद्दत गर्छ । समस्या परेका बेला गहिरो सास लिएर विचार गर्नुस् तपाईंले आफूमा बेग्लै खालको ऊर्जा प्रवाह भएको पाउनुहुने छ । तपाईंको आत्मविश्वासले चुनौती पार गराउँछ । केही दिन बेरोजगार भइयो, भनेको जस्तो खान पाइएन, सुत्न पाइएन, नुहाउन पाइएन, घरमा सम्पर्क गर्न पाइएन, तोकिएको ज्याला पाइएन वा भनिएको रोजगारमा लगिएन, बसोबासको समस्या आइप¥यो जस्ता यावत् घटनाले तपाईंको मनोवेग डग्मगाउन सक्छ तर आत्मविश्वास जगाउनुस्, अरूलाई परेका समस्यालाई पनि हेर्नुस् । तपाईंको अन्तर्मन बोल्ने छ, शरीरमा शक्ति सञ्चार हुने छ र तपाईं आफूलाई अरूसरह नै पाउनुहुने छ ।

धरातल नबिर्सनुस्
प्रगति गर्दै जाँदा जसले आफ्नो आरम्भिक बिन्दु बिर्सन्छ उसले अचानकका घटनासँग जुझ्न सक्दैन । विदेशमा नौलो वातावरणमा चाँडै अनकूल हुन तपाईंले आफूमा केही परिवर्तनका धार ल्याउनु जरुरी हुन्छ र आफ्नो हैसियतलाई पनि बुझ्नुपर्छ । तपाईंमा छिट्टै नयाँ खालको प्रवृत्ति विकास हुने छ । त्यहाँ तपाईंले आफ्नो प्राथमिकताका क्षेत्र तोकेर काम गर्दा उन्नति प्राप्त हुनसक्छ ।

प्रसन्न रहनुस् र मुहारमा मुस्कान ल्याउनुस् 
मुस्कानले सबैको मन जित्छ । हाँसोले शरीर र समाजलाई स्वस्थ बनाउँछ । विदेशमा काम गर्दा नाइ भन्ने कुरा मनबाटै निकाल्नुहोस्, अरूलाई साथ दिन सहयोगी हात बढाउनुहोस् र मुस्कुराउनुस् । यसबाट तपाईंको समग्र व्यक्तित्व नै चम्किने छ, यसबाट नयाँ अवसर तपाईंलाई मिल्न सक्छन् । सबै ठाउँमा भद्र रूपमा प्रस्तुत हुने, हँसिलो अनुहार बनाउने, भेट हुँदा अरूलाई सम्मानका दुई शब्द बोल्ने, अभिवादन गर्ने बानी बसाल्नु भयो भने तपाईं सफलताको मार्गमा अग्रसर हुनुहुने छ ।

आपूmमा परिवर्तन ल्याउनुहोस् 
नयाँ देशको नयाँ वातावरण, परम्परा, भाषा, संस्कृति, रहनसहनमा तपाईंले आफूलाई अनुकूल बनाउनुपर्छ, तिनमा आफूलाई अभ्यस्त बनाउन सक्नुपर्छ । स्थानीय रीतिथितिको ज्ञान र अनुभव तपाईंको सफलताका पथप्रदर्शक बन्छन् । स्थानीय भाषा पनि नजान्ने, परम्परा र संस्कृतिलाई पनि बेवास्ता गर्ने हो भने विदेशमा तपाईंको बसाइँ लामो हुन सक्दैन र रोजगारीका दिन पनि कष्टपूर्ण नै हुने छन् । मात्र स्थानीय पोसाक लगाएर तपाईं कम्पनीमा आफ्नो हाकिमको मन जित्न सक्नुहुन्छ ।

प्रत्येक अवसरमा सिक्ने प्रयास गर्नुस्
भनिन्छ कठिनाइ र चुनौतीले धेरै कुरा सिकाउँछ । वैदेशिक रोजगारीमा यी दुवै कुरा छन् । तपाईंले सोचेको जस्तो सजिलो काम नहुन सक्छ र काम पाए पनि त्यसका चुनौती अनेक हुन्छन् । तर हतोत्साहित नभएर काम गर्ने र हरेक कामका अवसरमा सिकाइलाई महìव दिन छाड्नु हुँदैन । विदेशमा सिकेको सीप स्वदेश फर्केपछि आफू र अरूलाई जीविकोपार्जनको उपाय बन्न सक्छ ।

सहयोग माग्न नडराउनुस्
विदेशको नयाँ संसारमा कहाँनेर के समस्या आइपर्ने हो थाहा हुँदैन । समस्या त आयो, त्यससँग कसरी जुझ्ने जानकारी नहुँदा अलपत्र परिने खतरा । समस्या जे पनि हुन सक्छन् ः कमाएको रकम घर पठाउने, स्थानीय गाउँठाउँको जानकारी लिने र बाटो बिराउने, रोजगारीका नयाँ अवसर खोज्ने वा दुर्घटना, नियम कानुन उल्लङ्घन हुने, भाषा, परम्परा र संस्कृति नबुझ्दाका समस्या आदि । यस्तो अवस्था जोसुकैलाई जहिले पनि आउन सक्छ । यसर्थ तपाईंले निडर भएर हँसिलो मुद्रामा सहयोगका लागि अनुरोध गर्नुपर्छ ।

वैदेशिक रोजागरीका सकारात्मक पक्ष धेरै छन्

नरेन्द्र भाट
मध्यपूर्व क्षेत्रका पूर्व संयोजक, गैरआवासीय नेपाली सङ्घ

दुःख त कुन काममा हुँदैन, त्यसमा पनि भाषा, संस्कृति, रहनसहन केही नमिल्ने परदेशमा काम गर्न आउँदा शुरुमा समस्या नहुने कुरै भएन । हामी पनि देशमा आपूmलाई कुनै काममा दक्ष बनाउनमा लाग्दैन, झारा टार्ने उपाय नै बढी खोज्छौँ । विदेशको प्रविधि र आवश्यकता अनुसारको तालिम नहुँदा वैदेशिक रोजगारी पक्कै पनि नेपालीका लागि चुनौतीपूर्ण छ । तर रोजगारीमा आइसकेपछि स्वदेशमा नभएका प्रविधिको ज्ञान उनीहरूले पाउँछन् ।
मैले नै यहाँ कतारमा देखेको छु कामका लागि यहाँ आउँदा शुरुमा कुनै पनि कामको ज्ञान नभएकाहरू केही महिनामै तालिमे जस्ता हुन्छन् । यहाँको कडा नियम कानुनमा भिजेर अनुशासन भनेको के भन्ने थाहा पाउँछन् ।
नेपालीले यहाँ मुख्य गरेर निर्माण क्षेत्र, सेवा क्षेत्र र प्राविधिक क्षेत्रमा काम गर्ने गरेका छन् । हजारभन्दा बढी नेपाली इन्जिनियर यहाँ छन् ।
उनीहरूले नौला प्रविधिको ज्ञान यहाँ हासिल गरेका छन् । पाँच तारे होटलमा काम गर्ने नेपालीको सङ्ख्या पनि धेरै छ । निर्माण क्षेत्रमा लागेका नेपालीले यहाँका ६०÷७० तले भवन, चौडा सडक र अत्याधुनिक रङ्गशालाहरूमा काम गरी जुन सीप आर्जन गरेका छन् त्यसलाई भविष्यमा स्वदेशका ठूलो निर्माण आयोजनाहरूमा प्रयोग गर्न सकिन्छ ।
वैदेशिक रोजगारीका राम्रा पक्ष धेरै नै छन् । राम्रा पक्षको कदर हुन सक्यो भने स्वदेशको विकासमा ठूलो योगदान पुग्ने छ ।
हामीले वैदेशिक रोजगारका नराम्रा पक्षलाई मात्र केलाउनु हुँदैन यसका सकारात्मक पक्षलाई समेत मनन् गर्नुपर्छ ।

युवामञ्च असोज २०७६ 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?