logo
२०८० चैत्र १६ शुक्रवार



बसको टिकट बुकिङ आजबाट

अर्थ |


बसको टिकट बुकिङ आजबाट


लक्ष्मण दर्नाल

काठमाडौँ, असोज ५ गते । दशैँ, तिहार र छठ पर्वका लागि बसको अग्रिम टिकट बुकिङ आजबाट (५ गते) खुला हुनेभएको छ । दशैँमा काठमाडौँबाट विभिन्न जिल्ला जाने यात्रुको अत्यधिक चाप हुने भएकाले यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुलाउने गर्दछन । यस वर्षको दशैँका लागि पनि आजबाट बुकिङ खुला गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।
यसपटक यात्रुहरूको सुविधा, सुरक्षा र बस छुट्ने समयमा बढी प्राथमिकता दिएको महासङ्घले जनाएको छ । महासङ्घका महासचिव सरोज सिटौलाले भन्नुभयो, “पूर्व घोषित मितिअनुसार नै हामी ५ गतेबाट अग्रिम टिकट बुकिङ खुला गर्दैछौँ, त्यसका लागि तयारी पूरा भइसकेको छ, थप टिकट काउन्टरको पनि व्यवस्था भएको छ, यात्रुहरूलाई काउन्टरमै गएर टिकट लिन महासङ्घको अनुरोध छ ।”
लामो तथा मध्यम दूरीका लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । महासङ्घका अनुसार दशैँमा तराईका जिल्लामा भन्दा पनि पहाडी जिल्लामा यात्रुको बढी चाप हुने गर्छ । पहाडी जिल्लामा लामो दूरीका सवारी कम हुने भएकाले अग्रिम टिकटको व्यवस्था गर्नुपरेको महासचिव सिटौलाको भनाइ छ । पूर्व र पश्चिमका पहाडी जिल्लामा यात्रुको बढी चाप हुने र यी जिल्लामा नियमित नम्बरभन्दा पनि थप बसहरू आवश्यक हुने महासङ्घले जनाएको छ । सिटौलाको भनाइ छ “थप बस आवश्यक रहेका स्थान र जिल्लामा हामी थप्न सक्छौँ त्यसको व्यवस्थापन प्रदेश तथा जिल्ला यातायात व्यवसायी सङ्घले गर्ने छन् ।”
दशैँको चहलपहलमा बढी भीडभाड हुने भएकाले यात्रुको सुरक्षाका लागि विशेष सावधानी अपनाइने भएको छ । टिकट नलिएका यात्रुलाई चढ्न नदिने, बसमा शङ्कास्पद व्यक्ति भेटिए प्रहरीलाई बुझाइने, क्षमताभन्दा बढी यात्रु नराखिने र जहाँ पायो त्यहीबाट यात्रु नचढाउने महासङ्घले जनाएको छ । समयमै सुरक्षित यात्राका लागि आफूहरूको पहल हुने सिटौलाको भनाइ छ ।
महासङ्घका अनुसार काठमाडौँको नयाँ बसपार्क, सुन्धारा, पुरानो बसपार्क, कलङ्की, गौशाला, कोटेश्वरलगायतका स्थानबाट अग्रिम टिकट बुकिङ गर्न सकिने छ । भीडमा ठगिने तथा समस्यामा पर्न सकिने भएकाले तोकिएकै काउन्टरबाटै टिकट लिन महासङ्घले अनुरोध गरेको छ । कसैले सस्तो टिकट मिलाइदिन्छु भन्दैमा प्रलोभवनमा नपर्न पनि सिटौलाले अनुरोध गर्नुभयो । बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म अग्रिम टिकट बिक्री गरिने छ । टिकट अनलाइनबाट पनि बुक गर्न सकिने छ । केही निजी कम्पनीले अनलाइनबाटै टिकट बुक गरिरहेको सिटौलाले जानकारी दिनुभयो ।
बस सेवा डटकम नेपालले अनलाइनबाट टिकट बिक्री गर्नेभएको छ । विगतदेखि अनलाइनबाट टिकट बिक्री गर्दै आएको बस सेवा डटकमले नेपालभरका एसी, डिलक्स, हायासलगायतका बसका टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भसमेत अनलाइनबाटै गर्दै आएको छ । शैँका अवसरमा करिब २५ लाख जनसङ्ख्या काठमाडौँबाट बाहिरिन्छ । यातायात व्यवसायीहरूले वर्षात्मा भत्किएका राजमार्गका खाल्टाखुल्टीलाई सम्याउन माग गरेपछि असोज १० गतेसम्म मर्मत गरिसकिने भएको छ । विभागका प्रवक्ता शिवहरि सापकोटाले भन्नुभयो, “वर्षात्मा भत्किएका राजमार्गको मर्मत तथा खाल्टाखुल्टी पुर्ने काम सुरु भएको छ, असोज १० गतेभित्रै सम्पन्न गर्ने गरी काम थालिएको छ ।”  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?