logo
२०८१ बैशाख ८ शनिवार



वज्रवाराहीमा किबी उत्पादन

अर्थ |


वज्रवाराहीमा किबी उत्पादन



राममणि दाहाल

हेटौँडा, असोज १ गते । उत्तरी मकवानपुरको वज्रवाराहीमा उत्पादित किबी फल काठमाडौँमा पठाउन थालिएको छ । थाहा नगरपालिका–६ स्थित वज्रवाराहीका कृषकले उत्पादन गरेका फलको राजा मानिने किबीको पहिलो उत्पादन सोमबार काठमाडौँ पठाइएको हो ।
किबीको व्यावसायिक खेती गर्दै आउनुभएका वज्रवाराहीका कृषक फणिन्द्र सुवेदीले पहिलो उत्पादन नमुनाका रूपमा सोमबार पठाइएको जानकारी दिनुभयो ।
‘रातो किबी फल खानका लागि तयार भएको छ, अर्को साताबाट काठमाडौँ, हेटौँडालगायतका बजारमा लैजान टिपेर प्याकिङलगायतको तयारी गर्दै छौँ’, उहाँले भन्नुभयो, पहिलोपटक पाँच केजी पठाएका छौँ । उहाँले भन्नुभयो, रातो र हरियो किबी फलमध्ये रातो किबी फल अगौटे हो, हरियोभन्दा पहिले नै फल्न थाल्छ । आठ सय ग्राममा प्याकिङ गरिएको किबी तीन सय रुपियाँमा बजारमा बिक्री गरिएको छ ।
हरियो किबी फल आगामी कात्तिकको दोस्रो साताबाट मात्र बजारमा जाने भएको छ ।
रातो किबी अन्य कृषकले पनि लगाएको वज्रवाराहीका सुवेदीसहित तीन जना कृषकले मात्र व्यावसायिक रूपमा उत्पादन गर्दै आउनुभएको छ । सुवेदीले भन्नुभयो, हरियो किबी फलको व्यावसायिक खेती गर्ने धेरै हुनुहुन्छ तर रातो किबीको व्यावसायिक खेती गर्नेको सङ्ख्या कम रहेको छ । किबीको महìव बुझ्दै गएपछि पछिल्लो समय मागसमेत बढ्दै गएको छ । रातो किबी चार सय केजी उत्पादन हुने देखिन्छ तर माग त्योभन्दा अधिक छ ।
उहाँले भन्नुभयो, हेटौँडा, काठमाडौँलगायतका स्थानबाट योपटक उत्पादन हुने परिणामभन्दा धेरैको माग आएको छ । डेङ्गु रोग लागेकालाई पनि चिकित्सकले यो फल खान सुझाएपछि अझै माग बढेको छ ।
रातो किबी फल अन्यत्र उत्पादन नभएको र थोरै परिमाणमा मात्र उत्पादन भएकाले राम्रै मूल्य पाउने भन्दै किबी फ्रुट एसोसिएसनका सचिवसमेत रहनुभएका सुवेदीले बताउनुभयो ।
कृषक सुवेदीसहित स्थानीय हरेराम थापा र मनोरथ बलामीले रातो किबी उत्पादन गर्दै आउनुभएको छ । किबी फल माग बढेसँगै मूल्यसमेत वृद्धि हुने देखिएको छ ।
मकवानपुरमा आगामी कात्तिकमा हरियो किबी करिब १० टनभन्दा बढी उत्पादन हुने अनुमान गरिएको छ । किबीको माग बढेसँगै करिब दुई हजार बोटबाट किबी उत्पादन हुँदै आएकोमा पछिल्लो समय वज्रवाराही, दामन, पालुङ, अघोर, कोगटेलगायतका स्थानमा थप किबी फलका बोट लगाइएको छ । नेपालमा आधा दर्जनभन्दा बढी जातका किबी फल लगाइँदै आएको छ ।
रातो किबी फल गत वर्ष वज्रवाराहीमा १५० केजी उत्पादन भएकोमा स्थानीय बजारमा आठ सय ग्रामको प्याकेटको खुद्रा मूल्य ३५० रुपियाँमा बिक्री गरिएको थियो ।
बहुगुणी किबी फलको विभिन्न जात हुने भए पनि हेवार्ड जातको सबैभन्दा उत्कृष्ट मानिने कृषकको भनाइ छ ।
मकवानपुरमा हेवार्ड, एलिसान, ब्रोनोका जातको खेती भइरहे पनि सबैभन्दा बढी ब्रोनो जातको किबीको खेती भइरहेको छ । यो फलको एक बोटले दुई सय केजीसम्म उत्पादन दिने भए पनि वज्रवाराही क्षेत्रमा सरदर ५० केजीसम्म उत्पादन हुने गरेको छ ।
फाइबर, पोटासियम र क्यालोरीलगायत २१ पौष्टिक तत्वले भरिपूर्ण किबी फलको बजारको समस्या नभए पनि रोप्नका लागि बेर्ना र कोल्ड स्टोरको समस्या रहेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?