logo
२०८० चैत्र १६ शुक्रवार



महँगियो प्याज

अर्थ |


महँगियो प्याज


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौँ ३० गते । तरकारी स्वदिलो बनाउन प्रयोग गरिने प्याजको भाउ पाँच महिनाको बीचमा २१२ प्रतिशतसम्म महँगो भएको छ । यस पटक प्याज भारतमै महँगो भएकाले नेपाल ल्याई पु¥याउँदा झन् महँगो भएको हो । पाँच महिना पहिले वैशाखमा प्रतिकेजी २५ रुपियाँ थोक मूल्यमा किनबेच भइरहेको प्याज अहिले बढेर ७८ रुपियाँ थोकमै कारोबार भएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्था समितिका अनुसार गएको वैशाखमा प्रतिकेजी २५ रुपियाँमा थोकमा कारोबार भएको प्याज पाँच महिनाको बीचमा बढेर ७८ देखि ८० रुपियाँ थोकमा किनबेच भइरहेको छ । कालीमाटी बजारमै खुद्रा प्याजको प्रतिकेजी ९६ रुपियाँमा किनबेच भइरहेको छ । जबकि पाँच महिना अगाडि सोही बजारमा ४० रुपियाँ खुद्रा मूल्यमा प्याजको किनबेच भएको थियो ।
समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले बजारमा प्याजको आयात कम भएरभन्दा पनि भारतबाट आयात हुँदै आएको प्याज उतै महँगो भएकाले नेपालमा पनि भाउ बढेको बताउनुभयो । उहाँले भन्नुभयो, बजारमा प्याज आउने क्रम रोकिएको छैन तर मूल्य भने महँगो भएको छ, लागत नै महँगो भएकाले हो, कालीमाटी बजारमा आएर गडबढ भएको पाएका छैनौँ ।
समितिका अनुसार उपत्यकावासीको प्याजको शतप्रतिशत माग भारतले नै धानेको छ । समितिका कार्यकारी निर्देशक पौडेलले कालीमाटी बजारमा भित्रिने सबै प्याज भारतबाट आउने गरेको र स्थानीय प्याज कहिले पनि यस बजारमा आई नपुग्ने जानकारी दिनुभयो । भारतले पनि चीन, पाकिस्तान, ग्रिस, अफगानिस्तानसँगै अरू देशबाट प्याज आयात गर्न लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?