logo
२०८१ बैशाख १३ बिहीवार



सत्ताइस वर्षपछि क्षमता विस्तार

अर्थ |


सत्ताइस वर्षपछि क्षमता विस्तार



तारा चापागाई दुवे

कास्की, भदौ २९ गते । अन्नपूर्ण आधार शिविर क्षेत्रमा करिब २७ वर्षपछि होटलको क्षमता विस्तारको काम सुरु भएको छ । आधार शिविर जाने पर्यटकको सङ्ख्या हरेक वर्ष वृिद्ध हँुदै गएपछि होटलको क्षमता विस्तार नहँुदा समस्या आएपछि क्षमता विस्तारको काम सुरु भएको हो ।
गण्डकी प्रदेश सरकारले २०१९ लाई आन्तरिक पर्यटन भ्रमण वर्ष, २०२० लाई छिमेकी आकर्षण पर्यटन वर्ष र सन् २०२२ लाई अन्तर्राष्ट्रिय पर्यटन वर्षको रूपमा मनाउने घोषणा भएसँगै त्यसलाई सफल पार्नसमेत होटलको विस्तार सुरु गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो । अन्नपूर्ण गाउँपालिकामा पर्ने आधार शिविर विस्तारका लागि गाउँपालिकाले गठन गरेको अन्नपूर्ण पदमार्ग क्षेत्रमा पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास एवं व्यवस्थापनका लागि गठित अध्ययन समितिले दिएको प्रतिवेदनका आधारमा क्षमता विस्तारको काम सुरु गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, पदमार्गमा पर्ने सिनुवादेखि आधार शिविरसम्मको बाटोमा रहेका होटलको क्षमता विस्तार हुने भएको छ । सिनुवादेखि दुई हजार मिटरमाथिको जग्गाको लालपुर्जा छैन । त्यसैले स्थानीय स्वायत्त शासन ऐनको अधीनमा रहेर कार्यविधिसहित व्यवस्थापनको काम सुरु गरिएको अध्यक्ष कुँवरले जनाउनुभयो ।
अध्यक्ष कुँवरका अनुसार २०५१ सालमा छ हजार विदेशी पर्यटकले त्यस क्षेत्रको भ्रमण गरेको तथ्याङ्क अनुसार होटल स्थापना गरिएको थियो । आर्थिक वर्ष २०७५÷७६ मात्र करिब ५० हजार विदेशी र दुई लाख ५० हजार स्वदेशी गरी करिब तीन लाख पर्यटक आधार शिविर पुगेका थिए । त्यसैकारण पर्यटकको सहजताका लागि व्यवस्थापन गर्न लागिएको उहाँको भनाइ छ ।
गाउँपालिकाले चालु आव २०७६÷७७ को नीति तथा कार्यक्रममार्फत नौ नयाँ होटलसँगै पुराना २६ होटलमा शतप्रतिशत कोठा थप्ने निर्णय गरेको छ । लामो समयदेखि पदमार्गमा रहेका होटलको विस्तारसँगै नयाँ होटल खोल्न नपाउँदा पदयात्रामा जाने पर्यटकलाई असुविधा भइरहेकोमा अब सहज हुने अध्यक्ष कुँवरको भनाइ छ । भदौ अन्तिम सातादेखि मङ्सिर पहिलो सातासम्म आधार शिविर जाने पर्यटकको चाप बढ्ने भएकाले पदयात्रामा आउने पर्यटकले बास नपाउँदा समस्या भोग्नु परेको थियो ।
अन्नपूर्ण सेन्चुरी पर्यटन समिति घान्द्रुकका अध्यक्ष तथा अध्ययन समितिका सदस्य ललित गुरुङका अनुसार चार दशकअघि त्यस क्षेत्रमा जाने पर्यटक स्थानीयका भेडीगोठसँगै चित्रा भकारीले बारेका झुपडीमा बस्न बाध्य हुन्थे । घान्द्रुक र छोम्रोङमा पर्यटकका लागि आवश्यकभन्दा धेरै होटल भए पनि त्यसभन्दा माथि होटल कम हुँदा सिजनमा तीन महिना समस्या पर्ने गरेको पर्यटकको सुविधाको होटल थप्नुपर्ने उहाँको भनाइ छ ।
एक्यापको स्थापनासँगै २०४९ सालदेखि त्यस क्षेत्रमा होटल स्थापना हुन सुरु गरेका हुन् । त्यसपछि ०५१ सालमा एक्यापले निर्धारण गरेको मापदण्ड अनुसार पदयात्रा मार्ग अन्तर्गत पर्ने अन्नपूर्ण आधार बाम्बोमा चार, हिमालयनमा दुई, दोभानमा तीन, देउरालीमा पाँच, माछापुच्छ्रे आधार शिविरमा पाँच, शिविरमा चार, सिनुवामा तीन, गरी प्रत्येकमा छ कोठाका दरले १५६ कोठासहितका २६ होटल स्थापना भएका थिए । समितिले ती सबै २६ होटलमा शतप्रतिशत कोठा विस्तार गर्न आवश्यक रहेको प्रतिवेदन दिएको थियो ।
अध्ययन समितिका संयोजक नजरमान गुरुङले होटलको क्षमताभन्दा धेरै पर्यटक भ्रमणका लागि आउँदा भान्छा, टेन्ट, भुइँ, डाइनिङसँगै गोठमा समेत सुताउनुपर्ने बाध्यता रहेको बताउनुभयो । पर्यटकमार्फत बास समस्याको नकारात्मक सन्देश स्वदेश तथा विदेशमा जाने भएकाले यस समस्यालाई समाधान गर्न हल गर्न व्यवस्थापन विस्तारको काम गर्न लागिएको र अब बासका लागि कुनै समस्या नहुने उहाँको दाबी छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?