logo
२०८० चैत्र १६ शुक्रवार



१४ महिनापछि सुल्झियो उद्योग वाणिज्य संघको विवाद

अर्थ |


१४ महिनापछि सुल्झियो उद्योग वाणिज्य संघको विवाद


सुरेन्द्र खत्री
रुकुम (पश्चिम), भदौ २८ गते । रुकुम उद्योग वाणिज्य संघमा १४ महिना अघिदेखि जारी विवाद सुल्झिएको छ । गतवर्ष असार २२ गते अधिवेशन सुरु हुनै लाग्दा आर्थिक अनियमितता लगायतको विषयलाई लिएर भएको विवादले अधिवेशन रोकिनुका साथै संघको सबै गतिविधि ठप्प भएको थियो ।

विधान अनुसार अघिल्लो कार्यसमितिको अवधि सकिएको र अधिवेशन पनि नभएपछि जटिल परिस्थिति उत्पन्न भएको भन्दै उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य ध्रुवराज श्रेष्ठको संयोजकत्वमा गठन गरिएको कार्यदलले लामो प्रयासपछि विवादको समाधान गरेको हो ।

कार्यदलले साविकको कार्यसमिति विवादित भएकोले ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्नका लागि स्थानीय व्यवसायी पलबहादुर खड्काको संयोजकत्वमा ५ सदस्यीय अन्तरिम कार्यसमिति गठन गर्दै समस्या लाई समाधा उन्मुख बनाएको छ । अन्तरिम समितिले आगामी ६ महिना भित्रमा संघ भित्र उठेका विभिन्न सवालहरुको संस्थागत रुपले समाधान गर्ने र अधिवेशन गराउने कार्यादेश पाएको छ ।
संयोजकको जिम्मेवारी पाउनुभएका खड्काले जटिल अवस्थामा आफूले नेतृत्व सम्हाल्नुपरेको भन्दै अहिलेसम्म ठप्प रहेको रुकुम उद्योग वाणिज्य संघको गतिविधिलाई सुचारु गर्दै र संघको गुमेको साखलाई स्थापित गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

त्यस्तै निर्धारित समयसीमा भित्र अधिवेशन गराएर आफ्नो कार्यभार इमान्दारिताका साथ पूरा गर्ने खड्काको भनाइ छ । अन्तरिम समितिको अन्य सदस्यहरुमा व्यवसायी दलबहादुर खड्का, नवीन खड्का, डिलबहादुर केसी र पवन केसी रहनुभएको छ ।

अघिल्लो कार्यसमितिले चारवर्षसम्म साधारणसभा समेत नगरी हिसावकिताव अपारदर्शी बनाएको र उद्योग वाणिज्य संघले सञ्चालन गरेको मध्यपश्चिम महोत्सवको आयव्यय सार्वजनिक नगर्नु नै अघिल्लो विवादको मुख्य जड भएकोले त्यसको सबै विवरणको खोजविन गरी सबैसामू सार्वजनिक गर्ने दायित्व समेत भएकोले सबैको सहयोगमा यो काम पनि आफ्नो कार्यअवधिमा पूरा गर्ने संयोजक खड्काले बताउनुभयो ।

विवाद मिलेसँगै रुकुम उद्योग वाणिज्य संघबाट हुने नियमित कामहरु व्यवसाय दर्ता तथा नवीकरण, स्थायी लेखा नम्बरका लागि फाराम संकलन, मूल्य अभिबृद्धि कर बुझाउने कार्यको सहजिकरण लगायतका कामहरु सुचारु भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?