logo
२०८१ बैशाख १३ बिहीवार



नेपालगन्जमा कर्णाली स्याउको भरमार

अर्थ |


नेपालगन्जमा कर्णाली स्याउको भरमार


नेपालगन्ज, भदौ २३ गते । नेपालगन्ज बजारमा अहिले फलपूmलको ‘राजा’ मानिने कर्णाली प्रदेशका रसिलो स्याउको भरमार नै छ । एक किलोको रु १०० देखि १२० सम्म निकै सस्तो मूल्यको ताजा कर्णालीका स्याउले अन्य क्षेत्रका स्याउलाई नेपालगन्ज बजारबाट पाखा लगाइसकेको छ । नेपालगन्जमा अहिले कर्णालीबाहेक अन्यत्रका स्याउ आउनै छाडेको व्यवसायी मोहम्मद नसिम खाँले बताउनुभयो ।

नेपालमा कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्ला, हुम्ला, कालीकोट, डोल्पा र मुगुको स्याउको खुबै नाम छ । जैविक मानिने भएकाले यो क्षेत्रको स्याउ प्रख्यात छ । नेपालगन्जका फलफूल व्यापारीहरु अहिले कर्णाली जिल्लाका स्याउ बिक्रीमा व्यस्त छन् । जुम्ला लगायतका जिल्लामा मोटरबाटो पुगेकाले अहिले सडक मार्गबाटै स्याउ आउँदा सस्तो पर्ने गरेको छ । नेपालगन्जमा दैनिक चार/पाँच ट्रक स्याउ आउने गरेको स्याउ व्यापारीहरु बताउँछन् ।

नेपालगन्जस्थित गुरुद्वारा रोडमा रहेको नेपाल फलफूल सागसब्जीको थोक मण्डीमा स्याउ आउने गरेको छ । मण्डीबाट फुट्कर बिक्रेताहरुले किनेर बजारमा बिक्री गरिरहेका छन् । स्याउका खुद्रा व्यापारी असलम अन्सारीले कर्णालीको स्याउ रसिलो हुने भएकाले यहाँबाट उपभोक्ताले काठमाडौँमा पनि लैजाने गरेको बताउनुभयो ।

कर्णालीको स्याउले नेपालगन्जमा राम्रो बजार लिएपछि त्यहाँका किसानलाई पनि राम्रो फाइदा पुगेको छ । नेपाल फलफूल सागसब्जी व्यवसायी सङ्घ नेपालगन्जका सदस्य मेराइलाल साहु भन्नुहुन्छ, “कर्णालीबाट अहिले एकै जातको स्याउलाई दुई वर्गमा विभाजित गरी नेपालगन्ज पठाउने गरिएको छ ।”

नेपालगन्ज ल्याइएका कर्णालीको स्याउ यहाँबाट बर्दिया र कैलालीमा पनि पठाउने गरिएको व्यवसायी साहुले बताउनुभयो । रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?