logo
२०८१ बैशाख १३ बिहीवार



नेपाल–मलेसिया श्रम सम्झौता कार्यान्वयन प्राविधिक कमिटीको बैठक हुँदै

अर्थ |


नेपाल–मलेसिया श्रम सम्झौता कार्यान्वयन प्राविधिक कमिटीको बैठक हुँदै


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २३ गते । नेपाली श्रमिक लैजाने विषयमा नेपाल सरकार र मलेसिया सरकारबीच यसअघि भएको सम्झौता कार्यान्वयन गराउने उद्देश्यका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको टोली आइतबार साँझ मलेसियातर्फ गएको छ । मलेसिया सरकारको निमन्त्रणामा श्रम मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरे नेतृत्वको टोली त्यसतर्फ गएको हो ।
आउँदो मङ्गलबार र बुधबार मलेसियामा नेपाल र मलेसियाको प्राविधिक कमिटीको बैठकमा सहभागी हुनका लागि उहाँहरू त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो । श्रम मन्त्रालयका अनुसार बैठकमा दुवै मुलुकबीच यसअघि सम्पन्न भएको श्रमसमझदारी सम्पन्न भएपछि बाँकी रहेको प्राविधिक विषय टुङ्गाउने बारेमा छलफल हुने छ । सो बैठकमा समझदारी कार्यान्वयन प्रक्रियामा हालसम्म भएका प्रगतिका बारेमा समेत बैठकमा छलफल हुने छ ।
बैठकले मलेसिया रोजगारीका सम्बन्धमा देखिएको अन्योल अन्त्य गर्ने र ‘मोडालिटी’ तय गर्ने बताइएको छ । बैठकले समझदारी कार्यान्वयनमा आएको समस्याको समाधान खोज्ने छ । मन्त्रालयका अनुसार बैठकमा नेपाली प्रतिनिधिमण्डलमा श्रम मन्त्रालयका सहसचिव घिमिरेको नेतृत्वमा अर्का सहसचिव, परराष्ट्र र कानुन मन्त्रालयका सहसचिव एक÷एक जना, श्रम मन्त्रालयका उपसचिव एक जना र मलेसियास्थित नेपाली दूतावासबाट दुई जना प्रतिनिधि सहभागी हुनुहुने छ । दुई मुलुकबीच भएको श्रम समझदारी लामो समय भइसक्दा पनि केही प्राविधिक विषय टुङ्गो नलाग्दा मलेसिया रोजगार नियमित हुन सकेको छैन । पहिलो प्राविधिक कमिटीको बैठक श्रम समझदारी लगत्तै काठमाडौँमा बसेको थियो ।
गत असारमा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकी समारोहमा सहभागी हुन जेनेभा पुगेका नेपाल र मलेसियाका उच्च अधिकारीबीच छिट्टै प्राविधिक कमिटीको बैठक बस्ने सहमति भएको थियो । गत कातिक १२ गते नेपाल र मलेसियाबीच श्रम समझदारी भए पनि प्रक्रियाबारे अस्पष्टता कायमै रहेका कारण रोजगारी खुल्न सकेको थिएन । श्रम समझदारी भएको लामो समय भए पनि मलेसिया नियमित हुन सकेको थिएन । मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि १२२ वटा स्वास्थ्य संस्था सूचीकृत भइसकेका छन् ।
श्रममन्त्री गोर्कणराज विष्टले मलेसिया जाने नेपाली श्रमिकमाथि स्वास्थ्य परीक्षणका नाममा हुँदैआएको आर्थिक शोषण अन्त्य गर्न २०७५ जेठ २ गते कठोर निर्णय गर्नुभएको थियो । मन्त्री विष्ट आफ्नो निर्णयमा अडिग रहेर मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारबाही गरेपछि गएको जेठदेखि मलेसियाको रोजगारी बन्द भएको थियो । त्यसयता नेपाली युवा मलेसिया जान पाएका छैनन् । मन्त्रालयले गएको चैत १७ गतेदेखि मलेसियाका कलिङ भिसा आएका व्यक्तिका लागि श्रम स्वीकृति दिने गरी खुला गरेको थियो । कलिङ भिसा आएका तीन हजारभन्दा बढी मलेसिया गइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?