logo
२०८० चैत्र १६ शुक्रवार



सामाजिक उत्तरदायित्वसहितको उद्यमशीलता विकास गरिनुपर्छः मन्त्री विष्ट   

अर्थ |


सामाजिक उत्तरदायित्वसहितको उद्यमशीलता विकास गरिनुपर्छः मन्त्री विष्ट   


काठमाडौँ, भदौं १२ गते ।  उत्कृष्ट १० युवा उद्यमीका नवीन उद्यमको प्रस्तुतीकरणमार्फत युवा उद्यमशीलता विकास गर्ने उद्देश्यले राजधानीमा दुईदिने बृहत् राष्ट्रिय संवादको आयोजना गरिएको छ ।    
    
 युएनडिपी नेपालको सहयोगमा राष्ट्रिय युवा परिषद् तथा राष्ट्रिय युवा सञ्जाल (आयोन)ले आज यहाँ आयोजना गरेको सो कार्यक्रममा युवा उद्यमीको नेतृत्व विकास, सिर्जनशीलता र सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गरिने छ ।    
    
 कार्यक्रमले सिर्जनाशीलता र उद्यमशीलतामार्फत दिगो विकासका लक्ष्य प्राप्तीमा योगदान गर्न अभिप्रेरित गर्ने आयोनले जनाएको छ । संवाद कार्यक्रममा सातै प्रदेशबाट चयन भएका ३०० बढी युवा उद्यमी सहभागी भएका छन् ।    
    
 कार्यक्रममा प्रत्येक प्रदेशबाट छनोट भएर आएका १० युवा उद्यमीका समूहले आआफ्ना उद्यमका बारेमा प्रस्तुतीकरण दिनेछन् ।

कार्यक्रममार्फत सबै क्षेत्रका युवालाई नेपालमा सामाजिक उद्यमको अवस्था बुझ्न, सामाजिक उद्यमशीलताका लागि आवश्यक जानकारी प्राप्त गर्न र आफ्नो व्यवसायलाई अझै मजबुत र सामाजिक परिवेश सुहाउँदो बनाउन साझा मञ्च प्रदान गर्ने विश्वास लिइएको छ ।    
    
 संवाद कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक उत्तरदायित्वसहितको उद्यमशीलता विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

मुलुकको सर्वाङ्गीण विकास र सामाजिक कार्यमा युवा परिचालन हुनुपर्ने उल्लेख गर्दै उहाँले युवा सशक्तीकरण भएमात्र मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन टेवा पुग्ने बताउनुभयो ।    
    
 “कृषि, निर्माण, उद्योग, व्यवसाय र उद्यमी क्षेत्रमा युवाको आवश्यकता छ”, विकासमा युवाको सहभागिता विश्वासिलो हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो ।

वर्तमान सरकारले युवा उद्यमशीलता विकास गर्न विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएको स्पष्ट पार्र्दै उहाँले सामाजिक, आर्थिक र सांस्कृतिक पाटोसँग युवालाई जोड्नुपर्ने बताउनुभयो ।    
    
 उहाँले व्यक्ति र कम्पनीलाई मात्र नभई रोजगारी सिर्जना हुने गरी उद्यमशीलता बढाउन आवश्यक भएको बताउनुभयो । “उद्यमशीलता सामाजको उत्थान हुनेगरी हुनुपर्छ”, उहाँले भन्नुभयो, “उद्यमशीलताले समाज बदल्नुपर्छ ।”    
    
 आयोन ४४ जिल्लाका ९२ युवा संस्थाका छाता सङ्गठन हो । सन् २००५ मा स्थापना भएको यस संस्थाले युवाको नीति निर्माणमा सहभागिता, युवा पैरवी, क्षमता अभिवृद्धि तथा युवासँग सम्बन्धित अनुसन्धानलगायत कार्य सञ्चालन गर्दै आएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?