logo
२०८१ बैशाख ८ शनिवार



नेपाली वायुसेवाको उत्तरी उडान ‘स्लट’ दिन चीन सकारात्मक

अर्थ |


नेपाली वायुसेवाको उत्तरी उडान ‘स्लट’ दिन चीन सकारात्मक



गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ९ गते । आफ्ना विमानस्थलमा अत्यधिक चाप रहेका कारण देखाउँदै नेपाली वायुसेवा प्रदायकलाई उडानको ‘स्लट’ उपलब्ध नगराएको चीनले पछिल्लो समय यसमा सकारात्मक सङ्केत दिएको छ । नेपाली विमान कम्पनीहरूले चीन उडानको योजना बनाए पनि उडानका लागि आवश्यक अनुमति (स्लट) नपाउँदा लामो समयदेखि ‘सेड्युल’ फ्लाइट चीनमा हुनसकेको छैन । यद्यपि चिनियाँ पक्ष पछिल्लो समय नेपाली वायुसेवा प्रदायकलाई पनि उडान अनुमति दिने विषयमा लचक रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिनुभयो । राजधानीमा यसै हप्ता सम्पन्न एसिया प्रशान्त क्षेत्रका हवाई सेवा नियामकका महानिर्देशकहरूको ५६औँ सम्मेलनका अवसरमा सिभिल एभिएसन एडमिनिस्टे«सन अफ चाइनाका प्रतिनिधिसँग छुट्टै भएको छलफलमा बेइजिङमा हालै निर्माण सम्पन्न भएको नयाँ विमानस्थलमा स्लट उपलब्ध गराउने जानकारी दिएको उहाँले बताउनुभयो ।
अहिले चीनका पाँचवटा हवाई सेवा प्रदायकले नेपालमा उडान गरिरहेका छन् । यद्यपि नेपालका वायुसेवा कम्पनीले चीनमा सेड्युल उडान गर्नसकेका छैनन् । नेपालमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदा पनि चीनका पाँचवटा वायुसेवा प्रदायकलाई स्लट उपलब्ध गराइरहेको तर चीनले नेपाली सेवा प्रदायकलाई उडान अनुमति नदिएको विषयमा गम्भीर छलफल भएको महानिर्देशक पोखरेलले जानकारी दिनुभयो । प्रतिक्रियामा चिनियाँ टोलीले नेपाल वायुसेवा निगमलाई गोन्झोउ उडानका लागि अक्टोबरसम्म स्लट उपलब्ध गराइसकेको र नयाँ विमानस्थलहरूमा पनि उडान अनुमति दिने जनाएको उहाँले बताउनुभयो ।
हाल नेपालको हिमालय एयरलाइन्सले मात्र चीनमा चार्टर उडान गरिरहेको छ । निगमले गोन्झोउ उडानको तयारी गरिरहे पनि अनुमति र सुरक्षा अडिटको प्रक्रियाको विषयले केही ढिलाइ भइरहेको थियो । चीनले निगमको अनुमति प्रक्रियामा केही कागजात अपुग भएको र अहिले त्यसको काम पनि पूरा भइसकेको नेपाली पक्षलाई जानकारी गराएको थियो । त्यस्तै उडानका लागि गरिने सेफ्टी अडिटबाट निगमलाई उन्मुक्ति दिएको समेत चिनियाँ पक्षले छलफलमा जनाएको थियो । सोही छलफलपछि प्राधिकरणले निगमलाई उडानको प्रक्रिया त्यसैअनुसार अगाडि बढाउने जानकारी गराइसकेको पोखरेलले बताउनुभयो ।
गत साउन १० गते नेपाल र चीनले हवाई सम्झौता पुनरवलोकन गर्दै दुवै देश सातामा ९८ वटा उडान गर्न सहमत भएका थिए । त्यसअघि दुई देशबीच सातामा ७० वटा मात्र उडान गर्न पाउने सम्झौता थियो । बढेको २८ वटा उडान भने चीनले काठमाडौँ बाहिरका विमानस्थलमा मात्र उडान गर्न पाउने गरी सम्झौता भएको थियो । त्यस्तै नेपालले चीनका सातवटा विमानस्थलमा मात्र उडान गर्न पाउने व्यवस्था रहेकोमा आठवटा थप गरी १५ वटा विमानस्थलमा उडान गर्नसक्ने व्यवस्था गरिएको थियो ।
सम्मेलनको अवसरमा नेपालले युरोपको हवाई सुरक्षा हेर्ने संस्था ईआसा, भारत, मङ्गोलिया, बङ्गलादेशसँग छुट्टै छलफल समेत गरेको थियो । ईआसासँगको छलफलमा नेपालले हवाई सुरक्षामा गरेको प्रगति जानकारी गराउँदै युरोपेली आकाशको उडान प्रतिबन्ध हटाउन आग्रह गरेको थियो । त्यस्तै भारतसँगको छलफलमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा भारतीय भागसमेत पर्ने भएकाले त्यसमा सहयोग गर्न र नयाँ उडान प्रवेशबिन्दु कायम गर्न सहयोगका लागि आग्रह गरेको थियो । मङ्गोलियासँग हिमालय एयर रुट टु र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको विषयमा छलफल भएको थियो । महानिर्देशकहरूको आगामी ५७औँ सम्मेलन बङ्गलादेशमा हुने भएकाले त्यसको तयारीका विषयमा छलफल भएको प्राधिकरणले जनाएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?