logo
२०८१ बैशाख ४ मंगलवार



इँटा उद्योगमा डोजर

अर्थ |


इँटा उद्योगमा डोजर



मधुसुधन तिमल्सिना

(भकुण्डेबेँसी) काभ्रे, भदौ ९ गते । नमोबुद्ध नगरपालिकाको भकुण्डेबेँसी क्षेत्रमा सञ्चालन हुँदै आएका आठबटा इँटाभट्टा नगरपालिकाले भत्काइदिएको छ । अघिल्लो आर्थिक वर्षमा नै इँटा उद्योग हटाउन नगरपालिकाले व्यवसायीलाई आग्रह गरेको भए पनि उनीहरूले असार मसान्तसम्म काम गर्न पाउनुपर्ने र त्यस पछाडि हटाउने सहमति गरेका थिए तर सहमति गरेको एक महिना बितिसक्दा पनि हटाउने तरखर नगरेपछि नगरले जिल्ला प्रशासनको सहयोगमा इँटा उद्योग हटाएको हो ।
यसअघि नगरपालिकाले चालू आर्थिक वर्षका लागि इँटा उद्योगको नवीकरण रोकेको थियो । कार्यालयले गत कात्तिकमा सर्वसाधारणमा समेत सूचित गर्दै विगत केही वर्षदेखि इँटा उद्योगका लागि जमिन ‘लिज’ मा दिँदै आएकालाई आफ्नो जमिन नदिन आग्रह गरेको थियो । गत साल पुसमा जिसस पदाधिकारी, नपा पदाधिकारी र इँटा उद्योगीबीच गत असार मसान्तभित्र नमोबुद्ध नपा क्षेत्रमा सञ्चालित आठ इँटा उद्योग हटाउने सहमति गरेको थियो ।
व्यवसायीले भने विकल्प नदिइकन लाखौँ नोक्सानी भएको भन्दै आक्रोश पोखेका छन् । काभे्र इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष जितेन्द्र खायमलीले अब कानुनी उपचारमा जाने बताउनुहुन्छ । हामीले सहमति गर्दा नयाँ विकल्प दिएर मात्र हटाउने भनेका थियौँ । नगरपालिकाले पनि त्यसमा सहमति गरेको थियो । उहाँले भन्नुभयो तर हामीले असार मसान्त अगाडि नै निवदेन दिएको भए पनि उहाँहरूले त्यो दर्ता नै नगरिकन हटाउनुभयो ।
जिल्लामा सञ्चालित २० इँटा उद्योगमध्ये नमोबुद्ध नगरपालिकाको भकुण्डेमा मात्रै करिब एक किलोमिटरभित्र आठवटा इँटा उद्योग बजार र बस्ती नजिकै सञ्चालनमा थिए ।
नगरपालिकाले सार्वजनिक सूचना निकालेर पटकपटक व्यवसायीलाई सहमतिअनुसार असार मसान्तमा इँटा उद्योग हटाउन अपिल गरेको थियो । २०७५ पुस २७ गते जिल्ला समन्वय समितिका पदाधिकारी, नगरपालिकाका पदाधिकारी र इँटा उद्योगीबीच असार मसान्तभित्र नगरभित्र सञ्चालित उद्योग हटाउने आठ बुँदे सहमति भएको थियो । सोही सहमति कार्यान्वयन गर्न उद्यमीलाई पत्राचार गरी हटाउन निर्देशन दिइएको भए पनि अटेर गरेपछि नगरपालिकाले पुनः सार्वजनिक सूचनामार्फत सम्झौताको कार्यान्वयन गर्न सात दिनको समय दिएको थियो तर सूचना निकालेको १२ दिनसम्म पनि व्यवसायीले नहटाएपछि नगरपालिकाले हटाएको हो ।
नमोबुद्ध नगरपालिका प्रमुख टङ्कसाद शर्मा तिमल्सिनाले असार मसान्तमा हटाउने सहमति भए पनि अटेर गरेपछि सार्वजनिक सूचना नै जारी गरेको बताउनुभयो ।
इँटा उद्योगबाट निस्कने धूवाँ–धूलोका कारण वातावरण, मानव, घरपालुवा जनावर, कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा असर परेको जनाउँदै तत्काल नमोबुद्ध नगरपालिकाले तत्काल हटाउन व्यवसायीलाई निर्देशन दिँदै आएको थियो । २०७५ वैशाखमा वातावरण विभाग र नमोबुद्ध नरपालिकाको संयुक्त अध्ययन अनुगमन टोलीले भकुण्डेमा सञ्चालित इँटा उद्योग मापदण्डविपरीत भएको निष्कर्ष निकालेको थियो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?