logo
२०८० चैत्र १६ शुक्रवार



अन्नपूर्ण पदमार्ग सुनसान

अर्थ |


अन्नपूर्ण पदमार्ग सुनसान


बेलिना थापा

लमजुङ, भदौ ५ गते । हिउँदको समयमा पर्यटकको भीड हुने चक्रीय अन्नपूर्ण पदमार्ग बर्खामा सुनसान बनेको छ । पदमार्गको बेँसीसहरदेखि मनाङसम्मका पदमार्ग यतिबेला सुनसान छ । पदमार्गमा आउने पर्यटक घट्दै गएका छन् । बाढीपहिरोले सडक बिगारेपछि पर्यटक हिँडेर आउने गरेका छन् । स्थानीयको पनि आवतजावत पातालो छ ।
मस्र्याङ्दी गाउँपालिका–४, सिरचौरका होटल सञ्चालक पूर्णबहादुर गुरुङका अनुुसार हिजोआज पदमार्गमा पर्यटक हिँडेको देखिएको छैन । आएका केही गाडीमार्फत मनाङतर्फ जाने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, यो पर्यटक आउने समय खासै होइन । दिनका त्यस्तै आठ÷नौ जना मात्र देखिन्छन् । केही होटलमा बस्छन् । केही जान्छन् । पदमार्ग सुनसान छ । सिजनमा दैनिक तीन सयसम्म पपर्यटकको लस्कर देखिने पदमार्गमा अहिले छिटफुट मात्र हिँडेको देखिएको उहाँले बताउनुभयो ।
मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१, पिसाङको होटल स्विट होमका सञ्चालक लाक्पा लामाका अनुसार सिजनमा पर्यटकको व्यवस्थापन गर्दैमा समस्या हुन्छ । अहिले भने होटल व्यवसायीलाई फुर्सद छ । यो समय पर्यटक कम मात्रामा आउने भएकाले फुर्सदमा बस्नु परेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, यो समय खासै पर्यटक आउँदैनन् । आए पनि नौ÷दस जना हो । पहिले २००÷३०० पर्यटक देखिन्थे । अगस्टको अन्तिमतिरबाट विस्तारै पर्यटक बढ्ने उहाँले बताउनुभयो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)अन्तर्गत मनाङको धारापानीस्थित पर्यटक जाँच चौकीकी पर्यटन सहायक सोमी गुरुङका अनुसार सिजनमा ३५० जनासम्म पर्यटक आउने गरेमा अहिले १५÷२० जनासम्म आउने गरेका छन् । अगस्टबाट पर्यटक बढ्ने उहाँले पनि बताउनुभयो । उहाँका अनुसार सन् २०१९ को जनवरीबाट हालसम्म ११ हजार ४२८ जना पर्यटक पदमार्ग घुम्न आएका छन् । जनवरीमा ४७२, फेब्रुअरीमा ५१४, मार्चमा दुई हजार ५९५, अप्रिलमा पाँच हजार ९५, मेमा एक हजार ९२८, जुनमा ४४६ र जुलाईमा ३७८ जना आएका छन् । अगस्टको २० तारिखसम्म ३१६ जना पर्यटक आएको उहाँले बताउनुभयो ।
हिउँदमा धेरै पर्यटक आउने गरे पनि अहिले ह्वात्तै घटेको छ । दिनमा १५ जनासम्म पनि पुग्न मुस्किल छ, उहाँले भन्नुभयो, बर्खाको समय भएकाले बाटो अवरुद्ध हुँदा पर्यटकको सङ्ख्या घटेको हुनसक्छ । यो महिनाको अन्तिमबाट बढ्न सक्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण मनाङका संरक्षण अधिकृत बाबुलाल तिरुवाका अनुसार ‘लो सिजन’ भएकाले पर्यटकको सङ्ख्या न्यून छ । पछिल्लो वर्ष पर्यटक आगमन बढे पनि यो समय भने पर्यटकको सङ्ख्यामा कमी आएको छ ।
औसतमा १५÷२० जनासम्म पर्यटक मनाङ आउने गरेको उहाँले बताउनुभयो । बर्खा सकिएको छैन । बेँसीसहरदेखि चामेसम्म ठाउँ–ठाउँमा बाढीपहिरो गएको छ । सवारीसाधान सञ्चालनमा अवरोध भइरहेको छ । यसले पनि पर्यटक कम भएको हो । उहाँले भन्नुभयो ।
चक्रीय अन्नपूर्ण पदमार्गमा सन् २०१८ मा २९ हजार ४८० पर्यटकले घुमेको एक्यापले जनाएको छ । सन् २०१७ मा २७ हजार ६८ जना घुमेका थिए । सन् २०१६ मा २२ हजार १०८ पर्यटक पदमार्ग घुम्न आएको तथ्याङ्क छ । लमजुङको बेँसीसहरबाट सुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग मनाङ हुँदै मुस्ताङ, म्याग्दी भएर पोखरा पुगी टुङ्गिन्छ । यसअघि २१ दिने यात्रामा पूरा हुने उक्त पदमार्गको मुस्ताङ र मनाङका विभिन्न ठाउँसम्म सडक पुगेपछि यात्रा छोटिएर सात देखि दस दिनमा धेरै पर्यटकले यात्रा टुङ्ग्याउने गरेका छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?