logo
२०८० चैत्र १६ शुक्रवार



काभ्रेका एक सातादेखि बेपत्ता युवा र युवतीकाे कपडा सुनकाेशी किनारमा फेला

खुला |
प्रदेश |


काभ्रेका एक सातादेखि बेपत्ता युवा र युवतीकाे कपडा सुनकाेशी किनारमा फेला


केदार तिमल्सिना
बनेपा, माघ ८ गते । काभ्रेको पनौती नगरपालिका– ८ खरिबोटका ४० वर्षीय माधवप्रसाद फुयाँल र नमोबुद्व नगरपालिका– ५ की सिर्जना भण्डारी (कोइराला) एक सातादेखि हराएका छन् । माघ २ गतेबाट हराएका माधव र सिर्जनाको अवस्था बारेमा खोजतलास गर्न दुवै परिवारले प्रहरीमा निवेदन दिएका छन् । तर अहिलेसम्म अवस्था अज्ञात रहेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले दुवैको अवस्था पत्ता नलागे पनि उहाँहरु हराएको पुष्टि भएको बताउनुभयो । शुक्रबार भुम्लु गाउँपालिका– ८ दोलालघाटस्थित इन्द्रावती र सुनकोशी नदी दोभानको बगरमा माधव र सिर्जनाको कपडा फेला परेको बताउनुभयो । ‘सुनकोशी नदी बगरमा ढुङ्गामाथि पुरुष र महिलाको कपडा, जुत्ता, घडी, मोबाईल, पर्सलगायतका सामग्री देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।

“अनुसन्धान गर्दा उक्त फेलापरेका वस्तुहरु माधव र सिर्जनाको रहेको पुष्टि भएको छ” खतिवडाले भन्नुभयो । कालो जेन्ट्स ज्याकेट, गाढा सुन्तला रंगको लेडिज कोट, कालो र खरानी रंगको जुत्ता दुई जोर, कालो लेडिज र जेन्ट्सले बोक्ने पर्स, घडी र महिलाको मोबाइल फेलापरेको बताउनुभयो ।

फेलापरेका सामानहरु दुवै परिवारका सदस्यले माधव र सिर्जनाको रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक खतिवडाले हराएका माधव र सिर्जनाको अवस्थाको खोजी गर्न मातहतका प्रहरी युनिट तथा छिमेकी जिल्लाको प्रहरीलाई अनुरोध गरिएको बताउनुभयो । माधव र सिर्जनबीच लामो समयदेखि सम्बन्ध रहेकोले यी दुईबीचको सम्बन्धको बारेमा दुवैको परिवारलाई थाहा भएपछि भागेको हुनसक्ने अनुमान गरिएको छ ।

माधव र सिर्जना दुवै विवाहित हुन् । दोलालघाटस्थित सुनकोशी बगरमा माधव र सिर्जनाको कपडा फेला परेपछि शुक्रबार पनौती नगरपालिकाका नगरप्रमुख भिम न्यौपाने, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडा, माधव र सिर्जनाका परिवारका सदस्य दोलालघाट पुगेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?