logo
२०८० चैत्र १५ बिहीवार



आहा रारा गोल्डकप : एपिएफको विजयी सुरुवात

फुटबल |
खेलकुद |


आहा रारा गोल्डकप : एपिएफको विजयी सुरुवात


अर्जुन काफ्ले
पोखरा, माघ ६ गते । मोफसलको प्रतिष्ठित २०औँ  ‘आहा ! रारा गोल्ड कप’ नकआउट फुटबलमा नेपाल एपिएफ क्लबले बिजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा एपिएफले आयेजक सहारा क्लबलाई २–० गोल अन्तरले हरायो ।

दर्शकविनै सञ्चालन गरिएको प्रतियोगितामा रोमाञ्चक जितसँगै एपएिफ दोस्रो चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा पराजय भोगेको आयोजक साहारा भने पहिलो खेलबाटै बाहिरिएको छ । एपिएफले १४औँ मिनेटमा आवास लामिछानेको गोलबाट अग्रता लिएको थियो । ६०औँ मिनेटमा रबि थिङ्गको पासमा प्रदिप लामाले गोल गर्दै एपिएफको अग्रता दोब्बर बनाउनुभयो ।

एकपक्षीय खेलमा एपिएफले थप अवसर गुमाएको थियो । खेलभर एपएिफको दबाब झेलेको सहाराको गोल फर्काउने प्रयास अन्तिमसम्म सफल भएन । एपिएफ शनिबार विदेशी टोली विवाईएससी मिनेसोटा अमेरिकासगँ प्रतिस्पर्धा गर्नेछ ।

खेलपछि एपिएफका प्रशिक्षक कुमार थापाले पहिलो पटक आहा रारा गोल्ड कप जित्ने लक्ष्यका साथ आएको बताउनुभयो । ‘हामीले सहारासगँ पटक पटक खेलेका थियौँ । आज खेलाडीले सोचेअनुसार राम्रो खेले । सोही अनुसार नतिजा पनि आयो । आगामी खेलमा थप सुधार गर्दै अगाडी जानेछौँ,’ थापाले भन्नुभयो ।

सहाराका प्रशिक्षक प्रलाद हिराचनले बाहिरबाट आएका खेलाडी सेट नहुदाँ पराजय भोगेको बताउनुभयो । ‘विगतमा घरेलु टोलीलाई दर्शकको साथ हुन्थ्यो । कोरोनाका कारण दर्शकरहित खेल्नुपनि टोलीको हारको अर्को कारण हो,’ हिराचनले भन्नुभयो । प्रतियोगितामा शुक्रबार शिमालयन शेर्पा र नेपाल पुलीस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

अन्जन र हिमेश सम्मानित

प्रतियोगिताको उद्घाटन अवसरमा सहारा क्लबले नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर अन्जन विष्ट र खेल पत्रकार हिमेशरत्न बज्राचार्यलाई सम्मान गरिएको छ । विष्टलाई ३५ हजार र सम्मान पत्र तथा बज्राचार्यलाई सम्मान पत्रबाट सम्मान गरिएको हो । उद्घाटनै क्रममा सहारा दुई दशकको फुटबल यात्रा विशेषांकको समेत लोर्कापण गरिएको थियो ।

प्रतियोगितमा एपिएफका कप्तान नबिन लामा ‘म्यान अफ दि म्याच’ घोषित हुनुभयो । उहाँले आठ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । ‘खेलकुद विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने उद्येश्यका साथ आयोजित प्रतियोगिता माघ १५ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा साविक विजेता संकटा फुटबल क्लब, मछिन्द्र क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, थ्रीस्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, विदेशी टोली विवाईएससी मिनेसोटा अमेरिका र सहारा क्लब पोखरागरी १० टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट पाँच विधाका विजेतालाई जनही २५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?