logo
२०८० चैत्र १६ शुक्रवार



शिलान्यास गरिएका सातवटा अस्पताल अलपत्र

खुला |
प्रदेश |


शिलान्यास गरिएका सातवटा अस्पताल अलपत्र


गोकर्ण दयाल
बैतडी, माघ ५ गते । स्थानीय तहमा बजेट नपठाउँदै शिलान्यास गरिएका बैतडीका सात वटा स्थानीय तहका अस्पताल बजेट अभावमा अलपत्र परेका छन् । गतवर्ष बैतडीको पुरचौडी नगरपालिका, पाटन नगरपालिका, डिलासैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिका गरी सात स्थानीय तहमा १० शैय्या र १५ शैय्याका अस्पताल एकै दिन शिलान्यास गरिएका थिए ।

गतवर्षको मङ्सिरमा एकै दिन शिलान्यास गरिएका करोडौं लागतमा बन्ने अस्पतालका लागि घोषणाअनुसार बजेट नआउँदा अस्पताल अलपत्र रहेको पुरचौडी नगरपालिकाका ईन्जिनियर लालबहादुर साउदले बताउनुभयो ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पालिकास्तरमा बन्ने १० शैय्याको अस्पतालका लागि १० करोड ८३ लाख रुपियाँ र १५ शैय्याको अस्पतालका लागि १८ करोड ६८ लाख रुपियाँ बजेट बिनियोजित गरिएको घोषण गर्नुभएको थियो ।

घोषणाअनुसार बजेट नआउँदा अस्पताल निर्माणको काम अघि नबढेको बैतडीका स्थानीय तहले जानकारी दिएका छन् । “१० शैय्याको अस्पतालका लागि १० करोड ८३ लाख रुपियाँ आउँछ भनिएको थियो । त्यहीअनुसार पालिकास्तरीय अस्पताल शिलान्यास गरियो शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले भन्नुभयो “पछि ८५ लाख रुपियाँ मात्रै बजेट आयो । पालिकाले ८५ लाखको ठेक्का आह्वान गरेर ठेकेदारले गतवर्ष नै ६३ लाख रुपियाँ पेश्की लगिसकेको भए पनि निर्माणको काम अघि बढेको छैन ।

गाउँपालिकाले बनाएको डिपीआरअनुसारको बजेट नआएकै कारण पालिकास्तरीय अस्पतालको काम अघि नबढेको शिवनाग गाउँपालिकाका अध्यक्ष साउँदले बताउनुभयो । दुई वर्षभित्र अस्पताल बनाउने लक्ष राखिएकोमा डेढ वर्ष बितिसक्दा पनि अस्पताल बनाउने काम अघि बढ्न सकेको छैन । “स्थानीय तहमा पहिले बजेट आउनुपर्नेमा त्यसो नभई पहिले शिलान्यास गर्न हतार गरियो, पुरचौडी नगरपालिकाका ईन्जिनियर लालबहादुर साउँदले भन्नुभयो,“गतवर्ष मङ्सिरमा १८ करोडको अस्पताल शिलान्यास भयो ।

वैशाखमा एक करोड मात्रै बजेट आयो । हामीले एक करोडकै टेण्डर आह्वान ग¥यौं । ठेकेदारले ८० लाख रुपियाँ पेश्की लगेको छ । डिपिआर अनुसार थप बजेट नआउँदा अस्पताल निर्माणको काम अघि बढेको छैन ।
गतवर्ष सङ्घीय सरकारले पुरचौडी नगरपालिकाको न्वादेउ स्वास्थ्यचौकी १५ शैय्या, पाटन नगरपालिकाको पाटन प्राथमिक स्वास्थ्य केन्द्र १५ शैय्या, डिलासैनी गाउँपालिकाको डिलासैनी स्वास्थ्य चौकी १० शैय्या, दोगडाकेदार गाउँपालिकाको सित्तड स्वास्थ्य चौकी १० शैय्या, पञ्चेश्वर गाउँपालिकाको कुलाउ स्वास्थ्य चौकी १० शैय्या, शिवनाथ गाउँपालिकाको सुल्लेखान स्वास्थ्य चौकी १० शैय्या र सुर्नया गाउँपालिकाको रौलेश्वर स्वास्थ्य चौकी १० शैय्याको अस्पताल बनाउने घोषणा गरेको थियो ।

दुई वर्षभित्रै स्थानीय तहमा अस्पताल बन्ने आशामा बसेका स्थानीयवासी शिलान्यास गरिएका अस्पताल एक वर्ष बितिसक्दा पनि निर्माण नभएपछि स्वास्थ्य उपचार गर्न शहरतिर जानुपरेको शिवनाथ गाउँपालिकाका स्थानीयले गुनासो गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?