logo
२०८० चैत्र १५ बिहीवार



यू–१९ क्रिकेटमा लुम्बिनी च्याम्पियन

क्रिकेट |
खेलकुद |


यू–१९ क्रिकेटमा लुम्बिनी च्याम्पियन


काठमाडौं, मङ्सिर १९ गते । लुम्बिनी प्रदेश वाई वाई यू–१९ पुरुष क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित टियू मैदानमा आइतबार भएको फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई एक सय १३ रनले हरायो ।

जितका लागि दुई सय १३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा सबै विकेटको क्षतिमा ९९ रनमा समेटिएको थियो । सुदूरपश्चिमका लागि लोकेश बमले सर्वाधिक २५ रन बनाउनुभयो । कप्तान खडक बोहोराले २१, शेर मल्लले १५ र नारायण जोशीले ११ रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सक्नुभएन।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका अजय चौहान एक्लैले पाँच विकेट लिनुभयो । दुर्गेस गुप्ताले तीन तथा मोहमद हुसेनले दुई विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा दुई सय १२ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७० रन बनाउनुभयो ।

९५ बलको सामना गर्नुभएका देवले पाँच चौका र चार छक्का हान्नु भएको थियो । यसैगरी विशाल विक्रम केसीले ५२, दुर्गेस गुप्ताले ३२ र प्रज्वल थापाले २४ रन बनाउनुभयो ।

बलिङमा सुदूरपश्चिमका आकाश चन्दले तीन विकेट लिनुभयो । हेमन्त धामी र शेर मल्लले दुई दुई विकेट लिनुभयो । नरेन साउद र राहुल भण्डारीले एक एक विकेट लिनुभएको थियो । राउन्ड रोविन लिगका आधारमा सञ्चालित प्रतियोगितामा सातै प्रदेशको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?