logo
२०८० चैत्र १६ शुक्रवार

  दृश्य समाचार  



लिमीको दुःख, विरामी पर्दा आम्चीको भर, छ महिना सम्पर्क बाहिर

राष्ट्रिय |


लिमीको दुःख, विरामी पर्दा आम्चीको भर, छ महिना सम्पर्क बाहिर


काठमाडौं, मङ्सिर १८ गते । उत्तरी हुम्लास्थित नाम्खाको लिमी क्षेत्र भूगोलका दृष्टिले निकै ठूलो छ । बाहिरबाट हेर्दा प्रकृतिले सुन्दर छ नाम्खा तर यस क्षेत्रका बासिन्दाको पीडा भने बेग्लै छ ।
विगतमा चीनको तिब्बतबाट खाद्यान्न आउँथ्यो तर कोभिडले आउजाउ रोकियो । नेपालबाट पनि खाद्यान्न अभावले नाम्खाका नागरिक भोकभोकै हुँदै कसैले देख्दैन ।


नाम्खामा भोकमरीको विषयमा मिडियामा आएपछि अहिले खाद्यान्न यातायात, शिक्षा र पूर्वाधार अभाव हुँदा उनीहरुको समस्या राज्यलाई भन्नसक्ने अवस्थामासमेत छैन ।
हुम्लाको सदरमुकाम सिमिकोटदेखि उत्तरी क्षेत्रमा पर्ने लिमीमा स्वास्थ्य सेवाको सुविधासमेत छैन । नाम्खा–६ का वडाध्यक्ष पाल्जाे तामाङले लिमीमा धेरै समस्या रहेको बताउनुभयो । ‘समस्या खोज्न थाल्यो भने धेरै निस्कन्छ । यहाँ न स्वास्थ्यको सुविधा छ न त शिक्षा कै,’ उहाँ भन्नुहुन्छ, ‘अहिले बल्लबल्ल शिक्षा सुरु भएको छ, त्यो पनि पाँच कक्षासम्म । लिमीमा स्वास्थ्य चौकी छ तर कर्मचारी छैनन् ।’

जाडो महिनामा यहाँ बस्नै सकिँदैन । हिँउले नाम्खा पूरै सम्पर्कबिहीन हुन्छ । यो समयमा कोही बिरामी भयो भने उपचार नपाएर मृत्युसमेत हुन्छ । टेलिफोनले काम गर्दैन । कोही बिरामी भयो भने निकै समस्या हुने गरेको वडाध्यक्ष तामाङ बताउनुहुन्छ । नाम्खामा उपचारको एउटै विधि भनेको जडीबुटी हो ।

‘लिमीमा जडीबुटीबाट उपचार गर्ने व्यक्तिलाई अम्ची भनिन्छ । उहाँले कोही बिरामी पर्नुभयो भने जडीबुटी (औषधि) मात्र दिनुहुन्छ । तर, डाक्टरको उपचार पाउन भने मुस्किल छ,’ उहाँले भन्नुभयो, ‘जुडीबुटीबाहेक अरु केही छैन । यहाँ तीन गाउँका लागि आम्ची एक्लै हुनुहुन्छ ।’

जडीबुटीले सन्चो भयो भने ज्यान बच्यो नत्र हेलिकोप्टर चाटर गरेर अन्य जिल्ला पुग्नुपर्ने बाध्यता छ । यो पनि भएन भने उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाबाहेक अन्य कुनै विकल्प नरहेको उहाँ बताउनुहुन्छ ।

लिमीमा शिक्षा र स्वास्थ्यको समस्या त छदै छ । तर, पछिल्लो समय भने यस क्षेत्रमा विकास निर्माणका काम भइरहेको छ । विकास निर्माण विगतका वर्षमा भन्दा केही भएको वडाध्यक्ष तामाङले बताउनुभयो । ‘स्थानीय सरकार गठन भएबाट विकास निर्माणले गति लिएको छ । लिमीमा पहिला केही पनि थिएन । तर अहिले विकासका काम हुन थालेका छन्,’ उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?