logo
२०८० चैत्र ६ मंगलवार



कर्णाली नदी गाउँ पस्यो, स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिँदै

राष्ट्रिय |


कर्णाली नदी गाउँ पस्यो, स्थानीयलाई  सुरक्षित स्थानतर्फ सारिँदै
टीकापुर नगारपालिका वडा नं ५ शाहीपुरमा कर्णाली फुटेर बनेकाे भँगालाे,  सौजन्यः बलबिर चौधरी ।


एकिन्द्र तिमिल्सेना
टीकापर (कैलाली) कात्तिक २ गते । कर्णाली नदीमा आएको बाढीले टीकापुर नगरपालिका वडा नं ५ शाहीपुरस्थित निर्माणाधीन तटबन्ध भत्किएर नदी गाउँ पसेको छ । मङ्गलबार दिउँसो साढे १२ बजेतिर पसेको बाढीले क्षति पु-याउन सक्ने दक्षिणका गाउँका मानिसलाई माइकिङ गरेर घर छोड्न लगाइएको टीकापुर नगरपालिका वटा नं ५ का वडा सदस्य बलबीर चौधरीले जानकारी दिनुभयो । शाहीपुरका स्थानीय नारायण चौधरीले बोक्न सकिने कागजात र सामान लिएर घर छोडिरहेको र राष्ट्रिय माबि बसन्तामा बस्न लागेको जानकारी दिनुभयो ।
नदी फुटेका कारण दक्षिणका तल्लो शाहीपुर, सिम्रनी, सत्ती, बनगाँऊ, बटनपुर लगायतका बस्ती प्रभावित भैरहेका छन् । ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले स्थानीयको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी लगाएर बस्तीबाट मानिसहरु उँचो स्थानतिर सार्न लागेको बताउनुभयो । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले वडा नं २ मूलपानी, वडा नं ५ को मसानघाट लगायतका क्षेत्रमा नदी फुट्न लागेकाले दक्षिणी क्षेत्रका बासिन्दालाई घर छाड्न लगाइएको बताउनुभयो । शाहीपुरमा अघिल्लो महिना पनि नदी गाउँ पस्न थालेपछि बोरामा बालुवा भरेर रोकथाम गरिएको थियो । त्यतिबेला नदीको सतह करिब ९ मिटर मात्रै थियो ।
कर्णाली नदीमा बाढी बढ्दो क्रममा छ । दिउसो २ः३० बजेको मापन अनुसार कर्णाली नदीको जल सतह १२ मिटर ४५ सेन्टिमिटर पुगेको छ भने नदी बढ्दो क्रममा रहेको चिसापानी कर्णालीका गेज रिडर पार्वती गुरुङले जानकारी दिनुभयो । कर्णालीमा खतराको तह ११ मिटर मानिन्छ ।
रानी जमरा कुलरिया सिँचाइमा पनि क्षति
अविरल वर्षका कारण चुरेबाट निस्कने खोलामा आएको बाढी र कर्णाली नदीमा आएको बाढीले रानी जमरा कुलरिया आयोजनाका संरचनामा क्षति पु¥याइरहेको छ । चुरेबाट बगेको पानी मूल नहरमा पसेको छ भने कर्णाली नदी पनि केही ठाउँमा नदीमा पसेको स्थानीय शिक्ष मार्कण्डेय उपाध्यायले जानकारी दिनुभयो । जानकी गाउँपालिका वडा नं ९ का वडासचिव प्रेम बुढाले वडाका कटाँसे, पूर्व खैरिफाँट कालिकामन्दिर नजिक र राष्ट्रिय मावि पाताभार नजिक नदी फुटेर नहरमा पसेको जानकारी दिनुभयो । जल प्रवाह बढ्दै गएमा त्यसले जानकी गाउँपालिका वडा नं ९, ६,३ र टीकापुर नगरपालिकाका केही भागमा असर गर्न सक्नेछ ।
चुरेबाट आएका खोलाको पानी रानी जमरा कुलरिया सिँचाइ प्रणालीमा पसेको छ भने अब झरीले खेतमा डुबेको धानमा बाढी पस्ने खतरा छ ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?