logo
२०८१ बैशाख ६ बिहीवार



ओमानले नेपाललाई पाँच विकेटले हरायो

क्रिकेट |
खेलकुद |


ओमानले नेपाललाई पाँच विकेटले हरायो
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २९ गते । ओमानले नेपाललाई पाँच विकेटले हराएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तगर्तको आफ्नो पहिलो खेलमा ओमानले नेपाललाई पाँच विकेटले हराएको छ । नेपालले आफ्नो पहिलो खेलमा सोमबार अमेरिकालाई पाँच विकेटले हराएको थियो । दोस्रो खेलमा भने ओमान विरुद्ध उक्त प्रदर्शनलाई निरन्तरता दिन सकेन ।
ओमानले खेल सकिन १८ ओभर पाँच बल बाँकी छदै मात्र पाँच विकेटको क्षतिमा नेपालले प्रस्तुत गरेको १९७ रनको लक्ष्य प्राप्त गर्यो । मोहम्मद नदीमले बिक्रम सोबको ओभरको पहिलो बलमै छक्का लगाउँदा ओमानले ३१.१ ओभरमा पाँच विकेटको क्षतिमा २०० रन बनाएर लक्ष्य पुरा गर्यो । मोहम्मद नदीमले ३८ रन बनाएर अविजित रहनुभयो । ओमानका लागि ओपनर जतिन्दर सिंहले विष्फोटक पारी खेल्दै शतक लगाएपछि नेपालले प्रस्तुत गरेको लक्ष्य उसले सहजै प्राप्त गर्यो ।
जतिन्दरले मात्र ५८ बलमा आफ्नो शतक पुरा गर्नुभयो । शतक पुरा गर्न उहाँले १० चौका र छ छक्का लगाउनुभयो । ओमानलाई जितका लागि ३५ रन आवश्यक छदा जतिन्दर सिंह कुशल मल्लको बलमा रोहित पौडेललाई क्याच थमाउँदै १०७ रन बनाएर पेभेलियन फर्किनुभयो । उहाँले नेपालका प्रमुख बलर सोमपालको तेस्रो तथा नेपालको पाँचौं ओभरमा तीन छक्का र तीन चौका लगाएर ३० रन बटुल्नुभयो ।
दुई ओभरमा मात्र पाँच रन खर्चिनुभएका सोमपालले एकै ओभरमा ३० रन खर्चिन पुग्नुभयो । उहाँ विकेटविहीन रहनुभयो । जतिन्दरले करण केसीले बलिङ गर्दा आठौं ओभरमा २० रन लिनुभयो ।
नेपाली बलरहरुमा करण केसीले पाँच ओभरमा ५२ रन खर्चेर दुई विकेट लिनुभयो । अफ स्पिनर कुशल मल्लले दश ओभरमा मात्र ३८ रन खर्चेर दुई विकेट लिनुभयो । सुशन भारीले एक विकेट लिनुभयो ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने घाइते हुन पुग्दा उहाँ बलिङ गर्न सक्नुभएन । ब्याटिङमा भने उहाँले दश बलमा एक चौका र एक छक्काको सहयोगले १६ रन बनाएर रन आउट हुनुभयो ।

त्यसअघि, अल एमिरात क्रिकेट रङशालामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपालले पुरै ५० ओभर समेत खेल्न सकेन । ४७ ओभर चार बलमा नेपालले १९६ रनको योगफल तयार गर्यो । ओपनर आशिफ शेषले ९० रनको उत्कृष्ट पारी खेलेपछि नेपालले औसत योगफल तयार गर्न सफल भयो । आशिफले ११२ बलको सामना गर्दा सात चौका र एक छक्का लगाउनुभयो । कप्तान ज्ञानेन्द्र मल्लले २१ तथा रोहित पौडेलले २० रनको योगदान दिनुभयो । करण केसीले २१ रन तथा सन्दीप लामिछानेले १६ रनको योगदान दिनुभयो ।
नेपालले खाता खोल्न नपाउँदै ओपनर कुशल भुर्तेलको विकेट गुमाएपछि आशिफले दोस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्रसँग ५८ रनको साझेदारी गर्नुभयो । ज्ञानेन्द्र पेभेलियन फर्किदा रोहित पौडेलसँग ४२ रनको साझेदारी गर्दै आसिफले संयमित पारी खेल्नुभयो । तर एकपछि अर्को गरी बिनोद भण्डारी, सोमपाल कामी र कुशल मल्लको विकेटको पतन भएपछि निराश हुनुभएका आशिफ ३६ औं ओभरमा ९० रनको ब्यक्तिगत् योगफलमा बोल्ड हुन पुग्नुभयो । अन्तर्राष्ट्रिय एकदिबसीयमा आसिफको यो पहिलो अद्र्धशतक तथा सर्वाधिक ब्यक्तिगत् योगफल हो ।
ओमानका लागि बिलाल खानले सर्बाधिक चार विकेट लिनुभयो । नेष्टर धाम्बाले दुई तथा जीशम मकसूद र मोहम्मद नदिमले एक एक विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?