logo
२०८१ बैशाख ७ शुक्रवार



नेपालद्वारा १९७ रनको लक्ष्य प्रस्तुत, सोमपालले एकै ओभरमा ३० रन खर्चे

क्रिकेट |
खेलकुद |


नेपालद्वारा १९७ रनको लक्ष्य प्रस्तुत, सोमपालले एकै ओभरमा ३० रन खर्चे


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २९ गते । नेपालका प्रमुख बलर सोमपाल कामीले एकै ओभरमा ३० रन खर्चिनुभएको छ । विश्वकप क्रिकेट लिग–२ अन्तगर्तको खेलमा ओमानका ब्याट्सम्यान जतिन्दर सिंहले सोमपाल विरुद्ध एकै ओभरमा ३० रन बटुल्नुभएको छ ।
नेपालले प्रस्तुत गरेको १९७ रनको लक्ष्य पछ्याउने क्रममा विष्फोटक ब्याटिङ गर्नुभएका ओपनर ब्याट्सम्यान जतिन्दर सिंहले सोमपालको तेस्रो तथा नेपालको पाँचौं ओभरमा तीन छक्का र तीन चौका लगाएर ३० रन बटुल्नुभयो । दुई ओभरमा मात्र पाँच रन खर्चिनुभएका सोमपालले एकै ओभरमा ३० रन खर्चेपछि तीन ओभरमा ३५ रन खर्चिदै विकेटविहीन हुनुभएको छ । जतिन्दरले करण केसीले बलिङ गर्दा आठौं ओभरमा २० रन लिनुभयो । तीन चौका र एक छक्का तथा दुई रन बटुल्दै उहाँले ब्यक्तिगत् ८८ रन बनाएर अविजित हुनुहुन्छ । मात्र ३५ बलको सामना गर्दै जतिन्दरले दश चौका र छ छक्का लगाउनुभएको छ ।
ओमानले दश ओभरको खेलपछि तीन विकेटको क्षतिमा १२२ रन जोडेको छ । ओपनर शोएब खानलाई सस्तोमै गुमाएको ओमानका लागि जतिन्दर सिंहले विष्फोटक पारी खेलेपछि ओमानले अब जितका लागि ३६ ओभरमा मात्र ७४ रन ल्याउन जरुरी छ ।
त्यसअघि, अल एमिरात क्रिकेट रङशालामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपालले पुरै ५० ओभर समेत खेल्न सकेन । ४७ ओभर चार बलमा नेपालले १९६ रनको योगफल तयार गर्यो । ओपनर आशिफ शेषले ९० रनको उत्कृष्ट पारी खेलेपछि नेपालले औसत योगफल तयार गर्न सफल भयो । आशिफले ११२ बलको सामना गर्दा सात चौका र एक छक्का लगाउनुभयो । कप्तान ज्ञानेन्द्र मल्लले २१ तथा रोहित पौडेलले २० रनको योगदान दिनुभयो । करण केसीले २१ रन तथा सन्दीप लामिछानेले १६ रनको योगदान दिनुभयो ।
नेपालले खाता खोल्न नपाउँदै ओपनर कुशल भुर्तेलको विकेट गुमाएपछि आशिफले दोस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्रसँग ५८ रनको साझेदारी गर्नुभयो । ज्ञानेन्द्र पेभेलियन फर्किदा रोहित पौडेलसँग ४२ रनको साझेदारी गर्दै आसिफले संयमित पारी खेल्नुभयो । तर एकपछि अर्को गरी बिनोद भण्डारी, सोमपाल कामी र कुशल मल्लको विकेटको पतन भएपछि निराश हुनुभएका आशिफ ३६ औं ओभरमा ९० रनको ब्यक्तिगत् योगफलमा बोल्ड हुन पुग्नुभयो । अन्तर्राष्ट्रिय एकदिबसीयमा आसिफको यो पहिलो अद्र्धशतक तथा सर्वाधिक ब्यक्तिगत् योगफल हो ।
ओमानका लागि बिलाल खानले सर्बाधिक चार विकेट लिनुभयो । नेष्टर धाम्बाले दुई तथा जीशम मकसूद र मोहम्मद नदिमले एक एक विकेट लिनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?