logo
२०८० चैत्र १५ बिहीवार



चेन्नईले कलकत्तालाई हरायो, बैंगलोरले राजस्थानको सामना गर्दै

क्रिकेट |
खेलकुद |


चेन्नईले कलकत्तालाई हरायो, बैंगलोरले राजस्थानको सामना गर्दै
तस्विर–बीसीसीआई


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ९ गते । इन्डियन प्रिमियर लिग(आईपीएल)मा चेन्नईले कलकत्ता नाइट राइडर्ससलाई हराएको छ । लिगको १५ औं खेलमा चेन्नईले कलकत्तालाई १८ रनले हराएको छ ।
चेन्नई सुपर किंग्सले प्रस्तुत गरेको २२१ रनको लक्ष्य पछ्याउँदै कलकत्ताले खेल सकिन पाँच बल बाँकी छँदै मात्र २०२ रनमा समेटिन पुग्यो । कुनै समय ३१ रनमा पाँच विकेट गुमाएको कलकत्ताका लागि मध्यक्रमका ब्याट्सम्यान दिनेश कार्तिक, आन्द्रे रस्सैल र प्याट क्युमिन्सले विष्फोटक पारी खेल्दै जित नजिक डोरयाएका थिए । क्युमिन्सले मात्र ३४ बलमा चार चौका र छ छक्का लगाएर ६६ रनमा अविजित रहनुभयो । रस्सैलले २२ बलमा तीन चौका र छ छक्का लगाएर ५४ रनको विष्फोटक पारी खेल्नुभयो । कार्तिकले ४० रनको योगदान दिनुभयो ।

चेन्नईका लागि दीपक चाहरले सर्वाधिक चार विकेट लिनुभयो । उहाँले चार ओभरमा २९ रन खर्चेर लिगमा दोस्रो पटक चार विकेट लिन सफल हुनुभयो । साम कर्रनले चार ओभरमा ५८ रन खर्चेर एक तथा लुङ्गि एनगिडीले तीन विकेट लिनुभयो ।
त्यसअघि, मुम्बईमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको चेन्नईले पुरै २० ओभर खेलेर मात्र तीन विकेटको क्षतिमा २२० रनको विशाल योगफल तयार गर्यो । चेन्नईको पारीमा ऋतुराज गाइकवडले ६४ तथा फाफ डु प्लेसिसले अविजित ९५ रनको योगदान दिए । दुबैजनाले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरे । डु प्लेसिसले ६० बलमा नौ चौका र चार छक्का लगाउनुभयो । मोइन अलिले १२ बलमा २५ रनको योगदान दिनुभयो । कप्तान महिन्दर सिंह धोनीले आठ बलमा १७ रन बनाउनुभयो । रबिन्दर जडेजाले एक बलमा छ रन बनाएर अविजित रहनुभयो ।
कलकत्ताका लागि बरुण चक्रवर्ती, सुनिल नारैन र आन्द्रे रस्सैलले सामान एक विकेट लिनुभयो । कलकत्तामाथि जितसँगै चेन्नई आईपीएल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ । उसले चार खेलमध्ये तीनमा जित हात पारेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?