सिनेमाघरहरूमा नेपाली चलचित्र ‘म’, हलिउडको ‘बुलेट ट्रेन’ र भारतीय चलचित्र ‘रामराव अन ड्युटी’ प्रदर्शनमा आएका छन्। सुवर्ण थापा निर्देशित चलचित्र ‘म’ सस्पेन्स, थ्रिलर चलचित्रमा पर्छ। अस्पतालमा भर्ना हुने एक शङ्कास्पद बिरामी जसले त्यहीँबाटै आपराधिक कार्य गर्छ त्यही आपराधिक कार्यहरूभित्र चलचित्रको कथा बुनिएको छ। चलचित्रमा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सञ्जोग रसाइली, निराजन प्रधान, प्रमुख भूमिकामा देखिनुभएको छ। चलचित्रलाई कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको हो।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ मा निर्माण भइरहेको नाला काम नसकिदै भत्किएको छ । हटलाईन सडक अन्तर्गत औद्योगिक क्षेत्र टोलदेखि नेवारेसम्म निर्माण हुन लागेको करिव ५०० मिटर मध्ये एक सय मिटरबढि नाला निर्माण ठेकेदारको लापरवाहीले भत्किएको हो ।
पोखरामा लामो समयदेखि बन्द रहेको शवदाह गृह सञ्चालनको माग गरिएको छ। पोखरा महानगरपालिका–९, शान्तिघाटस्थित शवदाह गृह केही समयदेखि बन्द हुँदा दाहसंस्कारमा समस्या भएको छ। शवदाह गृह सञ्चालनको जिम्मा पाएको शान्तिघाट विकास समिति र ज्येष्ठ नागरिक सरोकार समाज नेपालले शवदाह गृहको सेवा बन्द गर्दा आफन्त गुमाएका नागरिकले दुःख खेप्नु परेकाले तत्काल खुलाउन माग गरेका छन्।
नेपाल–भारत सीमा छुट्याउन राखिएका सीमा स्तम्भहरू जीर्ण बन्दै गएका छन्। दाङको पूर्वी अर्ना नाकादेखि पश्चिम भौवा नाकासम्मका केही स्तम्भ ढलेका छन् भने कुनै मर्मत नहुँदा जीर्ण छन्। सीमा स्तम्भमध्ये जोर नम्बरका स्तम्भ भारत र बिजोर नम्बरको स्तम्भ नेपाल पक्षले मर्मत गर्नुपर्ने प्रावधान भए पनि दुवै पक्षबाट सीमा स्तम्भ मर्मत गर्नेतर्फ महìव नदिएको गुनासो स्थानीयवासीको छ। दाङको राजपुर गाउँपालिका–७, भैंसाही नाका निवासी पूर्णबहादुर रोकाले स्थानीय सरकार र प्रशासनलाई सीमा स्तम्भ मर्मत गर्न अनुरोध गरे पनि बेवास्ता भएको बताउनुभयो।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ। आर्थिक वर्ष २०७८/७९ मा दुई हजार ७०९ जनाले शुक्लाफाँटाको भ्रमण गरेका छन्। जसमा दुई हजार ५७९ जना नेपाली, १०५ जना सार्क राष्ट्रका र ४५ जना अरू विदेशी रहेका छन्। आर्थिक वर्ष २०७६/७७ र आर्थिक वर्ष २०७७/७८ मा एकाएक घटेको सङ्ख्या गत आर्थिक वर्षमा बढोत्तरी भएको हो। आर्थिक वर्ष २०७६/७७ मा एक हजार ७७५ जनाले शुक्लाफाँटाको अवलोकन गरेका थिए। जसमा ३९ महिला र ६१ पुरुष गरेर एक सय विदेशी नागरिक, २१ महिला र ५१ पुरुष गरेर ७२ जना सार्क राष्ट्रका र ६२१ महिला र ९८२ पुरुष गरेर एक हजार ६०३ जना रहेका थिए।
बैतडी जिल्लाको शिवनाथ गाउँपालिकामा एसबीआई बैङ्कको शाखा भए पनि भारतीय सेनाबाट सेवा निवृत्त भएकाले झुलाघाट पुगेर पेन्सन बुझ्दै आइरहेका छन्। नेपाल–भारत सीमा नाका झुलाघाट पुगेर छ दिन पालो कुरेर पेन्सन लिनुपर्ने बाध्यता उनीहरूको छ। भारतीय सेना गोरखा रेजिमेन्टबाट सेवा निवृत्त आठ सय जनाभन्दा बढीले झुलाघाट पारिको भारतीय बैङ्कबाट पेन्सन बुझ्दै आइरहेका छन्। भारतीय स्टेट बैङ्क (एसबीआई बैङ्क), उत्तराखण्ड ग्रामीण बैङ्क र पोस्ट अफिस झुलाघाटले भारतीय सेनाबाट अवकाश पाएकालाई पेन्सन दिँदै आइरहेको छ।
जिल्लाका विपन्न समुदायका विद्यार्थी बिदाको समयमा मजदुरी गर्न भारतको कालापहाड जाने गरेका छन्। भारतमा मजदुरी गरी कमाएर विद्यालय पोसाक, स्टेसनरी र पढाइ शुल्क तिर्ने गरेको उनीहरूले बताएका छन्।
हेटौँडा उपमहानगर क्षेत्रमा सञ्चालन हुँदै आएका तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापन सुरु गरिएको छ। मुख्य बजार क्षेत्रमा तीनपाङ्ग्रे सवारीसाधनको चापका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण र दुर्घटनाको जोखिम बढ्दै गएपछि उपमहानगरपालिकाको अगुवाइमा तीनपाङ्ग्रे सवारीसाधनलाई व्यवस्थित गर्न सुरु गरिएको हो।
नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणापछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान अवतरण गर्नुभएको छ । शनिबार विहान अध्यक्ष प्रचण्डलाई टोकियो स्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गर्नुभएको छ ।
पशु कल्याण विधेयक तयार गर्न सरकारले सैद्धान्तिक सहमति प्रदान गरेको नौ महिनाभन्दा बढी भइसक्यो तर हालसम्म यो ऐनको मस्यौदा पनि तयार भएको छैन । सरकारले सैद्धान्तिक सहमति दिइसकेपछि त्यसको मस्यौदा तयार गर्ने काम कृषि तथा पशुपन्छी विकास मन्त्रालय र पशु सेवा विभागको हो तर झन्डै एक वर्ष बित्दा पनि चासो नदेखाइँदा विधेयक तयार हुन नसकेको हो ।
सञ्चारका तहअन्तर्गत अन्तरनिहीत वा आन्तरिक सञ्चार, अन्तरव्यक्ति सञ्चार, समूह सञ्चार, साङ्गठनिक सञ्चार र आमसञ्चारको चर्चा गरिन्छ। कतिपय सञ्चारविद्ले समूह सञ्चार (ग्रुप कम्युनिकेसन) र आमसञ्चार (मास कम्युनिकेसन) बाट फरक छुट्ट्याएर सार्वजनिक सञ्चार (पब्लिक कम्युनिकेसन) को तह पनि उल्लेख गरेको पाइन्छ तर अधिकतर सञ्चारविद्ले सञ्चारका माथि उल्लेखित पाँच तहलाई नै मानेको देखिन्छ। यिनमा सबैभन्दा प्रारम्भिक तहमा अन्तरनिहीत सञ्चार प्रक्रिया रहेको छ भने सबैभन्दा माथिल्लो तहमा आमसञ्चार प्रक्रिया रहेको छ। समाजको आधारभूत एकाइ व्यक्तिका तहमा हुने सञ्चार प्रक्रिया अन्तरनिहीत वा आन्तरिक प्रकृतिको हुन्छ भने बृहत्तर जनसङ्ख्याका लागि सञ्चारमाध्यमको प्रयोग गरी आमसञ्चार प्रक्रिया सम्पन्न गरिन्छ।
२०७९ साल साउन ४ गते बुधबार प्रतिनिधि सभाले राष्ट्रिय सभाबाट २०७५ फागुनमा पारित गरेको ज्येष्ठ नागरिकको हक, अधिकारसम्बन्धी विधेयक पारित गरेको छ। यो विधेयक पारित भएर कार्यान्वयनमा आएपछि आमाबाबुलाई वृद्धाश्रममा फाल्ने प्रवृत्तिमा सुधार हुने अपेक्षा गर्न सकिन्छ। ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाले पारित गरेपछि नेपाली समाजको वर्तमान अवस्था र विगतमाथि घोत्लिन बाध्य बनाएको छ।
सङ्खुवासभाको विकट क्षेत्र भोटखोला गाउँपालिकामा माथिल्लो अरुण जलविद्युत् परियोजना (१०६१ मे.वा.) बन्ने निश्चित भएको छ। यस परियोजनालाई नेपाल सरकारले रूपान्तरणकारी योजनाका रूपमा अघि बढाएको छ । परियोजनाको पावर हाउसदेखि बाँध निर्माणस्थलसम्म पुग्ने करिब २१ कि.मि. लामो पहुँचमार्ग निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया अन्तिम चरणमा पुगेको र पहुँच मार्ग निर्माणकर्ता छनोटको निमित्त ठेक्का आह्वान भइसकेको छ। यो परियोजना नेपाल सरकार आफैँले निर्माण गर्ने निर्णय भई नेपाल विद्युत् प्राधिकरणलाई यसको अगुवाइ गर्ने जिम्मेवारी दिइएको हुँदा परियोजनाका लागि आवश्यक लगानी सुनिश्चित गर्न नेपाल सरकारबाट लगानीकर्तासँग छलफल भइरहेको र यो प्रक्रियासमेत लगभग अन्तिम टुङ्गोमा पुग्ने अवस्थामा रहेको बुझिएको छ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा रामेश्वरप्रसाद सिंहको ठूलो योगदान छ। उहाँको जन्म सप्तरी जिल्लाको कोइलाडी बरसाइन गाउँमा पिता सुब्बा सत्यनारायण सिंहको पुत्रका रूपमा वि.सं. १९६७ मङ्सिरमा भएको थियो। उहाँको शिक्षादीक्षा सीमावर्ती भारतीय सहर सुपौलमा भएको थियो। त्यतिबेला भारतीय स्वतन्त्रता आन्दोलन चलिरहेको थियो। महात्मा गान्धी र लोकमान्य गङ्गाधर तिलक जस्तो राष्ट्रियस्तरका नेताको व्यक्तित्वबाट प्रभावित भई उहाँमा पनि राजनीतिक चेतनाको विकास भएको थियो। नेपालमा पनि एकतन्त्रीय, निरङ्कुश राणातन्त्र समाप्त गरी प्रजातन्त्र ल्याउन उहाँको पनि ठूलो योगदान छ।
घोराही उपमहानगरपालिका–१३, कलमघारीका रेशमबहादुर राणासँग अहिले १५० घार मौरी छन् । मौरीपालनमा मेहनतअनुसार राम्रै कमाइ हुने भएकाले राणाले बर्सेनि मौरी बढाउँदै आउनुभएको थियो । मौरी बढ्दै जाँदा उत्पादन पनि बढेको थियो तर उत्पादन भएको मह बिक्री नहुँदा उहाँ समस्यामा पर्नुभएको छ । “गएको वर्ष मह उत्पादन राम्रो भएको थियो तर अहिलेसम्म मह बिक्री भएको छैन । अब फेरि मह उत्पादन हुने सिजन सुरु हुने बेला भइसक्यो,” राणाले भन्नुभयो ।