logo
२०८१ बैशाख ८ शनिवार



दलका धेरै नेतामा कोरोना संक्रमण, राजनीतिक कार्यक्रममा नजान सुझाव

स्वास्थ्य |
पढ्नै पर्ने |
राजनीति |


दलका धेरै नेतामा कोरोना संक्रमण, राजनीतिक कार्यक्रममा नजान सुझाव


काठमाडौं, माघ ७ गते । देशका शीर्ष राजनीतिक दलका नेताहरुमा कोभिड–१९ संक्रमण देखिने क्रम बढ्दो छ । पाँच दलीय सत्ता गठबन्धनको नेतृत्व गर्दै आएको नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई माघ ५ गते बुधबार कोभिड–१९ पुष्टि भयो । शर्माको स–परिवार कोभिड–१९ बाट संक्रमित हुनुभएको छ । यसैगरी काँग्रेसका नेताहरु डा. प्रकाशरण महत, डा. डिला संग्रौला संक्रमित हुनु भएपछि उहाँहरु होम आइसोलेसनमा रहनुभएको छ ।

सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कोभिड–१९ बाट संक्रमति हुनुभएपछि होम आइसोलेसनमा नै हुनुहुन्छ । एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुषाल, सचिव जगन्नाथ खतिवडा लगायत कल्याणी खड्का र राजकुमार भट्टराईलाई संक्रमण पुष्टि भए पनि उहाँहरु होम आईसोलेसनमा हुनुभएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । ‘पार्टीको अध्यक्ष र महासचिवलाई नै कोरोना संक्रमण भएपछि महत्वपूर्ण नियमित बैठक एवम् सँगै बसेर गर्नुपर्ने विभिन्न तयारीमा असर पुगेको छ । माघ १२ गते राष्ट्रियसभा निर्वाचन हँुदैछ । गठबन्धको महत्वपूर्ण बैठकमा अध्यक्ष र महासचिव जानैपर्ने हुन्छ तर उहाँहरु संक्रमित हुनुभएका कारण असर पुगिरहेको छ ।’, खतिवडा बताउनुहुन्छ । खासगरी आगामी आम चुनावसँग जोडिएका विषयमा तयारी एवम् छलफलमा असर पुगिरहेको उहाँको भनाई छ ।

कोरोना संक्रमित हुनुभएका एकीकृत समाजवादीका उपमहासचिवहरु विजय पौडेल, प्रकाश ज्वाला र डा. गंगालाल तुलाधर भने भर्खर–भर्खर संक्रमणबाट मुक्त हुनुभएको छ । नेकपा (एस) का केन्द्रीय कार्यालयका सचिव समेत रहनुभएका तुलाधर भने अहिले पार्टी कार्यालयमा नियमित जाने गर्नुभएको खतिवडाले बताउनुभयो ।

यसैगरी सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा पुस २३ गते कोभिड–१९ संक्रमण पुष्टि भएकोमा अहिले उहाँ संक्रमणमुक्त हुनुभई सरकार एवम् पार्टीको नियमित भेटघाटमा सक्रिय समेत भइरहनुभएको छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि माघ ५ गते बुधबार संक्रमणमुक्त हुनुभएको छ । माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार केन्द्रीय तहका प्राय नेताहरु संक्रमणमुक्त हुनुभएको छ । उहाँहरुमा गम्भिर खालको समस्या वा अस्पताल भर्ना नै गर्नुपर्ने अवस्था अहिले छैन । तर, प्रदेश एवम् तल्लो तहका केही नेताहरु भने अलि बढी नै बिरामी हुनुभएको छ । सरकारले २५ जनाभन्दा बढी भेला गर्न नहुने स्वास्थ्य प्रोटोकल लागू गर्न निर्देशन दिएको अवस्थामा माघ ८ गते पूर्वनिर्धारित केन्द्रीय कमिटीको बैठक भने सर्ने निश्चित भएको उहाँ बताउनुहुन्छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्षहरु विष्णुप्रसाद पौडेल, युवराज ज्ञवाली पनि कोभिड–१९ बाट संक्रमित हुनुभएपछि होम आइसोलेसनमा नै हुनुहुन्छ । यसैगरी, एमाले महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, केन्द्रीय सदस्य पार्वती रावल पनि संक्रमित हुनुहुन्छ भने कन्ट्रयाक्ट ट्रेसिङमा पर्नुभएको राजन भट्टराई परीक्षणको क्रममा हुनुहुन्छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार जिल्ला अधिवेशन लगायत पार्टीका सबै कार्यक्रमहरु स्वास्थ्य प्रोटोकल अप्नाएर मात्रै गर्नेगरी स्थगन भएको छ । स्वास्थ्य प्रोटोकल कार्यान्वयन हुनुपर्नेमा एमालेले सर्कुलर पनि जारी गरिसकेको उहाँ बताउनुहुन्छ ।

कार्यक्रम र भेटघाटलाई निरुत्साहित गर्नुपर्छ

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन भन्नुहुन्छ, – ‘जुन बेला दलहरुको महाधिवेशन चलिरहेको थियो, यसखाले सभा सम्मेलनले संक्रमण घर–घरमा पु¥याएको प्रष्ट पारेको छ । अहिलेको चरणमा परिवारका एक मात्रै होइन, सबै सदस्य नै संक्रमित भइसकेको अवस्था छ । खासमा सामान्य रुघाखोकी र नयाँ भेरियन्ट ओमिक्रोनको लक्षण लगभग उस्तै भएकोले छुट्याउन गाह्रो भयो र यसले झुक्याएर नै पहिलो चरण पार ग¥यो । यसैले पनि सतर्कता अप्नाउन ढिलो भयो ।
सामान्य टाउको र जीऊ दुखेको अवस्थामा मात्रै अस्पताल गइहाल्ने हाम्रो स्वभाव नभएपनि परिवारका सदस्यहरुमा संक्रमण सर्ने चिन्ताले पनि अहिले अस्पतालमा चेक जाँच गराउनेहरुको संख्या बढेको पुनको अनुभव छ । काठमाडौंमा जनघनत्व र चहलपहल पनि बढी भएको र कोभिड–१९ परीक्षण गर्न पनि सहजै व्यवस्था भएको हुँदा संक्रमितहरुको संख्या बढी देखिएको उहाँको भनाई छ । देशका अन्य शहरमा भने संक्रमणको परीक्षण गर्ने सुविधान नभएर हो वा वास्तवमै संक्रमित कम छ, यस विषयमा गम्भिररुपमा अध्ययन हुनुपर्ने उहाँ बताउनुहुन्छ ।

देशका शीर्ष राजनीतिक दलहरुको यी विषयमा ध्यान केन्द्रित हुनुपर्ने पुन सुझाव दिनुहुन्छ । पछिल्लो समय देखा पर्दै आएको नयाँ–नयाँ भेरियन्टको संक्रमणले अझै पनि कोभिड–१९ विरुद्धको खोप लगाउन नपाएका एवम् जोखिम समूहबारे दलहरु थप चिन्तित बन्नुपर्ने उहाँ बताउनुहुन्छ । विश्वव्यापीरुपमा फैलिरहेको यसखाले संक्रमणको जोखिम नबुझेर कार्यक्रम, भेला र भेटघाटलाई बढवा दिदा थप अन्य समस्या आउनसक्नेप्रति सचेत बन्नुपर्दछ । त्यसकारण पनि यस्ता गतिविधिलाई निरुत्साहित गर्नुपर्ने पुनले भन्नुभएको छ ।
त्यसो त, आगामी स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न संवैधानिक बाध्यता रहेका काराण पनि शीर्ष राजनीतिक दलहरु थप सक्रिय हुनुपर्ने अवस्था यतिबेला छ । तथापि, शीर्ष नेताहरु समेत बढ्दो रुपमा कोभिड–१९ सबाट संक्रमित भइरहेको अवस्थामा उहाँहरुकै स्वास्थ्यमा पनि चुनौती पैदा भएको छ । यो अवस्थामा स्वास्थ्य प्रोटोकललाई अनिवार्य पालना गर्नु नै उत्तम विकल्पको रुपमा देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?