logo
२०८१ बैशाख ४ मंगलवार



धर्म गन्धर्व अर्थात् सारङ्गीको धुन

कला |
फिचर |


धर्म गन्धर्व अर्थात् सारङ्गीको धुन


काठमाडौं, पुस १७ गते । नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्दै समाजमा सारङ्गीको उपयोगिताको बारेमा जानकारी गराउन प्रयासरत नाम हो, धर्म गन्धर्व । सारङ्गीले कहिले दुःखीका गीत बोल्छ, कहिले राष्ट्र प्रेमको गीत बोल्छ । सारङ्गी बजाएर गन्धर्व जातिले समाजमा चेतना जगाउन एक ठाउँको खबर अर्को ठाउँमा पुर्याउदै बेदनाका गीत गाउँछन् । एक छाक खान नपुगेर ज्यानको बाजी लगाएर विदेश पुग्नेका पीडा, भर्खर एक भएका जोडी छुट्टिएर एउटा परदेश र अर्को घर बस्नुपर्ने बाध्यात्मक अवस्थालाई सारङ्गीको धुनले भावुक बनाउँछ ।

वि.स २०३३ सालमा तनहुँमा जन्मिनुभएका गन्धर्वले अहिलेसम्म ३० हजार बढी गीतमा सारङ्गी बजाई सक्नुभएको छ । तीन भाइमध्येका कान्छा छोरा गन्धर्वलाई सानैमा बुवासँगै अरुको घरमा सारङ्गी बजाएर हिँड्न लाज हुन्थ्याे । बुवाले अरूको घरमा सारङ्गी बजाएर गुजारा चलाउन गाह्रो हुने भन्दै आफूहरूलाई पढ्नुपर्छ भनेको उहाँ सम्झनुहुन्छ । ‘बुवाले हामीले जस्तो दुःख तिमीहरूले गर्नु हुँदैन राम्रोसँग पढ भन्नुहुन्थ्यो, त्यसकारण पनि अरुको घरमा गएर सारङ्गी बजाएर हिँड्न अप्ठ्यारो भयो,’उहाँ भन्नुहुन्छ ।

गन्धर्वको घरमा जन्म लिनुभएका उहाँलाई सारङ्गी बजाउन गाह्रो भएन तर सारङ्गीप्रतिको मायाले गर्दा उहाँले नेपाली सेनाको जागिर पनि छाड्नुभयो । २०५३ सालमा नेपाली सेनाको जागिरमा प्रवेश गर्नुभएका उहाँले १३ वर्षपछि जागिर छाड्नुभयो । सेवामा रहँदा विदेशी ब्याण्डको बाजा बजाउन लगाइयो तर उहाँलाई आफ्नो जातिको सारङ्गी भन्दा त्यो बाजा प्यारो लागेन । त्यसपछि उहाँ जागिर छाडेर सारङ्गी बोकेर हिँड्नुभयो ।

राइफल बोकेर हिँडेको हातले सारङ्गी बोकेर हिँड्न पाउदा उहाँलाई खुसी लाग्यो । नेपाली सेनामा रहँदा उहाँले सारङ्गी नबजाएको त होइन तर सीमित समयमा मात्र सारङ्गी बजाउदा उहाँलाई मनमा सन्तुष्टि मिलिरहेको थिएन । सारङ्गीको यादले उहाँलाई मनमा जागिर छाड्ने हुटहुटी बढिसकेको थियो । जागिर पछिको भविष्यको चिन्ता भने उहाँलाई कहिल्यै भएन । बुवाले सारङ्गी बजाएर खान सकिन्छ भनेको कुरा सम्झिनुभयो । त्यसपछि उहाँले त्यो जागिर छोडिदिनुभयो ।

जागिर छाडेर पनि सारङ्गी बजाएर नै खान लगाउन पुगेको उहाँले सुनाउनुभयो । सारङ्गी बजाएर नै गुजारा चलिरहेको छ । दिनमा ४३ वटा गीतमा सारङ्गी बजाएको मलाई सम्झना छ,’ गन्धर्वले भन्नुभयो । २०६६ सालमा जागिर छाडेर सारङ्गीमै भविष्य देख्नुभएका उहाँले अहिलेसम्म्म ३० हजार बढी गीतमा सारङ्गीको धुन दिइसक्नुभएको छ । ‘जागिर छोडेपछि दोहोरी साँझमा काम गर्न थालेँ, व्यावसायिक गीत बजाउन थालेपछि सबैको विश्वास जित्न सफल भएँ’, उहाँले भन्नुभयो ।

उहाँले नेपाली लोकगीतमा मात्र नभई लोकपप, भजनका साथै हिन्दी, तामिलनाडुँ भाषाका गीतमा पनि आफ्नो सारङ्गीको धुन दिइसक्नुभएको छ । चर्चित गायक स्व.झलकमान गन्धर्वका गीतहरूले पनि उहाँलाई सारङ्गीप्रतिको माया अझ बढाइदिएको छ । देशमा द्वन्द्वकालमा सारङ्गी बजाएर ६३ जिल्लामा हिँडेको उहाँ सम्झनुहुन्छ । ‘द्वन्द्वकालमा म सेनामै रहदा गीत गाउँदै ६३ जिल्ला पुगेको छु । सेनामै रहँदा ज्यानको धेरै जोखिम थियो । घरबाट बुवा–आमाले जागिर छाड्न आग्रह गरिरहनुभएको थियो तर खाइरहेको जागिर छाड्न मन पनि लागेको थिएन। हाम्रो टोली जहाँ–जहाँ बास बस्थ्यो त्यसको भोलिपल्ट त्यही ब्यारेकमा आक्रमण हुन्थ्यो,’ उहाँले सुनाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?