logo
२०८० चैत्र १६ शुक्रवार



विद्यार्थीलाई खोपको आस, नपाउँदा त्रास

शिक्षा |
खुला |


विद्यार्थीलाई खोपको आस, नपाउँदा त्रास


सरोज ढुङ्गेल

काठमाडौँ, पुस १६ गते । भक्तपुर दधिकोटस्थित मोडर्न सेकेन्डरी स्कुल कक्षा १० की छात्रा समीक्षा भट्टराईलाई विद्यालय आउजाउ गर्दा वा साथीहरूसँग बस्दा कोरोना सर्ला कि भन्ने ठूलो डर छ । उहाँले अहिलेसम्म खोप लगाउन पाउनुभएको छैन । आगामी चैतमा माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुनुपर्ने भएकाले उहाँ विद्यालय नगई घरमै बस्न पनि सक्नुभएको छैन । उहाँ जस्तै खोप लगाउन नपाएका कारण त्रसित हुँदै विद्यालय जानुपरेका लाखौँ विद्यार्थी छन् ।

सरकारले यही पुस १३ गतेबाट उपत्यकासहित २२ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने निर्णय गरेको थियो । कतिपय विद्यालयले त्यसका लागि फाराम तयार गरी अभिभावकको लिखित सहमतिसमेत लिएका थिए तर फाइजर खोप आउन ढिलाइ भएका कारण विद्यार्थीले घोषित दिनमा खोप लगाउन पाएका छैनन् ।

खोपमा प्रयोग हुने सिरिन्ज नआउँदा १८ वर्षभन्दा मुनिका बालबालिकाको खोप अभियान प्रभावित हुनपुगेको छ । केही दिनअघि छ लाख ६४ हजार मात्रा फाइजर खोप आएको थियो । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. रुद्र मरासिनीले खोप ढिलाइ हुनुमा सिरिन्जको अभाव भएको बताउनुभयो । कोभ्याक्स सुविधाअन्तर्गत आएकाले खोपसँगै सिरिन्ज र खोपका लागि आवश्यक घोलक पनि कोभ्याक्सले सँगसँगै पठाउनुपर्ने हुन्छ ।

खोप लगाउन सम्पूृर्ण तयारी भइसकेको बताउँदै डा. मरासिनीले भन्नुभयो, “खोप अभावले अभियान सञ्चालन हुन सकेन । सरकारले यसअघि ५७ जिल्लामा मोडर्ना खोप अभियान सुरु गरेको थियो । उक्त खोप १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई लगाइएको छ ।”
व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले कोभ्याक्सले सिरिन्ज पठाउन ढिलाइ गरेका कारण खोप अभियान प्रभावित भएको बताउँदै आउँदो मङ्गलबार सिरिन्ज आउने र त्यसपछि अभियान थालिने जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?