logo
२०८१ बैशाख ६ बिहीवार



टाउको नखोली मस्तिष्काघातको शल्यक्रिया प्रभावकारी

स्वास्थ्य |


टाउको नखोली मस्तिष्काघातको शल्यक्रिया प्रभावकारी


सरोज ढुङ्गेल

काठमाडौँ, पुस १३ गते । नेपालमा मस्तिष्काघात (स्ट्रोक)को शल्यक्रिया गर्दा टाउको खोलेरमात्र हुने गरेकोमा अब टाउको नखोली गर्ने प्रविधि प्रभावकारी देखिएको छ । टाउको खोलेर शल्यक्रिया गर्दा ५० देखि ६० प्रतिशतसम्म मात्र सफलता हुने गरेकोमा टाउको नखोली न्युरोसम्बन्धी शल्यक्रिया गर्दा ९७ प्रतिशत सफलता मिल्ने बताइएको छ ।

टाउको नखोली मस्तिष्काघातको शल्यक्रिया गर्दा बिरामी मस्तिष्काघात भएको सात घण्टामा अस्पताल पु-याइसक्नुपर्छ । समयमै अस्पताल पु-याउन सकेको अवस्थामा बिरामी सकुशल डिस्चार्ज गर्न सकिन्छ । तर, समयभन्दा पछि अस्पताल लगेमा टाउको नखोली गरिने शल्यक्रिया फलदायी नहुन सक्छ । टाउको नखोली मस्तिष्काघातको शल्यक्रिया गर्ने प्रविधिलाई न्युरो इन्टरभेन्सन प्रविधि भनिन्छ ।

नेपालमा न्युरो इन्टरभेन्सनका एकमात्र शल्य चिकित्सक डा. सुवास फुँयालले नेपालमा न्युरो इन्टरभेन्सन प्रविधि सफलतामा गएको बताउनुभयो । नयाँ आएको उक्त प्रविधि ९७ प्रतिशतसम्म सफलता मिल्ने भन्दै उहाँले टाउको खोलेर गरिने मस्तिष्काघातको शल्यक्रियामा बिरामीलाई पहिलेकै अवस्थामा ल्याउन सक्ने अवस्था ५०/५० मात्र रहेको बताउनुभयो ।

डा. फुँयालले बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्समा उक्त प्रविधिबाट आफूले तीन सयभन्दा बढीको शल्यक्रिया गरेको जानकारी दिनुभयो । उहाँले हालसम्म आफूले शल्यक्रिया गरेकामध्ये तीन जनालाई मात्र बचाउन नसकेको भन्दै अरू व्यक्ति पूर्ण ठीक भएर डिस्चार्ज भएको बताउनुभयो ।

न्युरो इन्टरभेन्सन प्रविधि
डा. फँुयालका अनुसार न्युरो इन्टरभेन्सन प्रविधिमा मस्तिष्काघात भएका बिरामीलाई खुट्टाको नसाबाट पठाइने तारसहितको यन्त्रले शल्यक्रिया गरिन्छ । उहाँले टाउकोमा जहाँ नसा फुटेर रगत जमेको हुन्छ, त्यहाँ क्वालिङ गरेर टालिदिने प्रविधि नै न्युरो इन्टरभेन्सन भएको बताउनुभयो ।

यसले जमेको रगतका थेग्रा झिकिदिन्छ र बन्द भएको नसामा पुनः रगत बहन थाल्छ । रगत बहन थालेपछि मस्तिष्कले पुनः काम गर्न थाल्छ । उहाँले मस्तिष्काघात भएका व्यक्ति सयौँ जना पक्षाघात भएर बस्नुपरेको भन्दै न्युरो इन्टरभेन्सनमा भने कुनै पनि व्यक्ति पक्षघात (प्यारालाइसिस) हुन नपर्ने बताउनुभयो । न्युरो अस्पतालकी अध्यक्ष प्रा.डा. मधु दीक्षित देवकोटाले न्युरो उपचार क्षेत्रमा नयाँ प्रविधि भित्रिएको भन्दै न्युरो इन्टरभेन्सन प्रविधिबाट शल्यक्रिया गराउँदा मानिस पूर्ण रूपमा ठीक हुने र आफ्नो पुरानो काममा फर्किने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?