logo
२०८१ बैशाख ८ शनिवार



सत्र लाख बालबालिकालाई खोप

स्वास्थ्य |
मुख्य समाचार |


सत्र लाख बालबालिकालाई खोप


सरोज ढुङ्गेल

काठमाडौँ, पुस २ गते । बालबालिकालाई लक्षित गरी यही पुस ४ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदैछ । पहिलो चरणमा ५७ जिल्लाका १७ लाख बालबालिकालाई लक्षित गरी खोप अभियान सुुरु गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यसका लागि सम्पूर्ण तयारी पूूरा भएको जानकारी दिएको छ ।

नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका ३४ लाख बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य छ । पहिलो चरणमा १७ लाख बालबालिकालाई लगाउन लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले १८ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप दिने तयारी पूूरा भएको बताउनुभयो । पहिलो चरणमा अमेरिकी कम्पनीद्वारा निर्मित मोडर्ना खोप बालबालिकालाई लगाइने छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने जानकारी दिनुभयो । यो पटक विद्यालयमै खोप केन्द्र सञ्चालन गर्न लागिएको छ । तीन चरणमा गरी ३५ लाखभन्दा बढी खोप आइसकेको जानकारी दिँदै उहाँले मोडर्ना खोप लगाउने बालबालिका १७ लाखको सङ्ख्यामा रहेको बताउनुभयो ।

हिमाली पहाडीलगायत ५७ जिल्लामा मोडर्ना खोप लगाउन लागिएको डा. लालले बताउनुभयो । काठमाडौँलगायतका जिल्लामा पनि खोप लगाइने बताउँदै उहाँले खोप लगाउने जिल्लामा मोडर्ना खोप पठाइसकिएको बताउनुभयो । यसअघि अमेरिकी खोप फाइजर आउँदा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिइएको थियो । डा. लालले मोडर्ना खोप माइनस १५ देखि २५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने जानकारी दिनुभयो तर तत्काल लगाउनका लागि कम तापक्रममा राख्न सकिन्छ ।

खोप शाखा प्रमुख सागर दाहालले हिमाली जिल्लाका सबै बालबालिका र बाँकी पहाडी तथा तराई जिल्लाका बालबालिकालाई समेत मोडर्ना खोप लगाइने जानकारी दिनुभयो । यही पुस ४ गतेदेखि ५७ जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिने तयारी भइरहेको जानकारी दिँदै उहाँले हाललाई फाइजर खोप नलगाइएका जिल्लामा दिने तयारी भइरहेको बताउनुभयो ।

फेरि खोप आयो बुधबार कोरोनाविरुद्धको कोभिसिल्ड खोप १८ लाख मात्रा आइपुगेको छ । आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले बुधबार मात्र १८ लाख ७१ हजार मात्रा खोप आएको जानकारी दिँदै अहिले देशभरि भेरोसेल र कोभिसिल्ड खोप लगाउने कार्य भइरहेको बताउनुभयो ।

यसैबीच बिहीबार एक मात्रा लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोपको सात लाख १९ हजार ६५० मात्रा खोप नेपाल आएको छ । जोन्सन एन्ड जोन्सन खोप २१ लाख ७६ हजार मात्रामध्ये पहिलो खेप बिहीबार आएको हो ।
स्वास्थ्य सेवा विभाग, आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले बिहीबार सात लाख १९ हजार ६५० मात्रा खोप आएको जानकारी दिँदै बाँकी खोप शुक्रबार आउने तालिका रहेको जानकारी दिनुभयो । उहाँले बाँकी १४ लाख ५७ हजार मात्रा खोप शुक्रबार आउने बताउनुभयो ।

यसअघि अमेरिकाले कोभ्याक्समार्फत १६ लाख मात्रा जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो । जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ । चौरसियाले ५७ लाख ४५ हजार कोभिसिल्ड, एक करोड ७३ लाख ४९ हजार छ सय भेरोसेल, एक लाख ६२० फाइजर खोप रहेको डा. चौरसियाले जानकारी दिँदै शुक्रबार जोन्सन एन्ड जोन्सन थप खोप आउने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?