logo
२०७८ माघ ८ शनिवार



दलका साङ्गठनिक आधार (सम्पादकीय)

विचार/दृष्टिकोण |




कुनै पनि संरचना बलियो बनाउन यसको आधार अर्थात् जग नै बलियो हुनुपर्छ । राजनीतिक दलको आधार हेर्न वडा, पालिका, जिल्ला तथा प्रदेशमा आमजनता माझ यसको सङ्गठन विस्तारले प्रष्टयाउँछ । तल्लो तहसम्म सङ्गठन विस्तार नै दलका लागि प्रमुख कडी हो । सङ्गठन जनाधारको प्रतिनिधित्व गर्नुका साथै दलको लोकप्रियतालाई समेत आँैंल्याउँछ । यस अर्थमा भन्नुपर्दा अहिले मुलुकका प्रमुख राजनीतिक दलको आफ्नो सङ्गठन विस्तारमा जोडतोडका साथ लागिपरेको तथ्य केही दिन यताका परिदृश्यहरूबाट प्रमाणित हुँदैछन् । संयोग नै मान्नुपर्दछ । प्रमुख राजनीतिक दलहरूले आफ्नो महाधिवेशन अर्थात् ‘राजनीतिक महान् पर्व’, का लागि यही मङ्सिर–पुस महिनालाई चयन गर्न पुगेका छन् । हाल सम्पन्न भइसकेका तथा हुँदै गरेका महाधिवेशनमा देशका कुनाकाप्चाबाट दलका कार्यकर्ता एवं शुभेच्छुकहरूको जनसागरले पनि दलहरूको सङ्गठन तथा जनाधार विस्तारले निकै नै ठूलो फड्को मारेको वास्तविकतालाई सङ्केत गरेको छ ।

मुलुकमा राजनीतिक चेतना विस्तारसँगै राजनीतिक दलहरूको सङ्ख्या एवं प्रभाव पनि बढ्दै गएको छ । फलस्वरूप दलहरूका सङ्गठन तथा जनाधार विस्तार स्वाभाविक तथ्य पनि हुन् । मुलुकका प्रमुख पाँच राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत (समाजवादी) तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका क्रियाशील वा सङ्गठित सदस्य सङ्ख्या क्रमशः आठ लाख ७० हजार, आठ लाख, साढे सात लाख, छ लाख, डेढ लाख गरी ३१ लाख ७० हजार नेपाली नागरिक प्रत्यक्ष रूपमा दलको क्रियाशील सदस्यता लिएको आँकडाले देखाउँछ । यसरी मुलुकको कुल जनसङ्ख्याको मोटामोटी १० प्रतिशत जनसङ्ख्या प्रत्यक्ष राजनीतिमा संलग्न रहेका पाइएको छ ।

समष्टिगत रूपमा जति बढी सदस्य सङ्ख्या त्यत्ति नै बलियो दलका रूपमा औँल्याउन सकिने हो । व्यावहारिक यथार्थ अलि बेग्लै पनि हुन्छ । सदस्यता नलिएर पनि दलप्रति सहानुभूति तथा समर्थन गर्ने धेरै मानिस, समूहसमेत पनि हुन्छ । वास्तविक जनाधारलाई यो पक्षले समेत गर्दछ । यसर्थ दलका नीति, कार्यक्रम, नेता, कार्यकर्ताको सामाजिक छविजस्ता विषयहरूले जनाधारलाई मार्गनिर्देशनको काम गरिरहेको हुन्छ । अहिले दलहरूले लोकप्रियताका लागि सदस्य सङ्ख्या वृद्धिका लागि मिहिनेत गरिरहेका देखिन्छ । यसैको परिणामस्वरूप मुलुकको कुल जनसङ्ख्याको १० प्रतिशत प्रत्यक्ष दलीय राजनीतिमा संलग्न हुनुले प्रमाणित गरेको छ । दलका साधारण सदस्यता त अझ बढी हुने नै भयो ।

दलहरूको छवि निर्माणमा यसका क्रियाशील सदस्यहरूको निकै महत्त्वपूर्ण भूमिका हुन्छ । किनकि यस्ता सदस्यहरूको प्रत्यक्ष रूपमा वडा, पालिका तह अर्थात् स्थानीय सर्वसाधारणसँग नजिकको सम्बन्ध हुने गर्दछ । आफ्नो क्षेत्र वा समाजमा स्थानीय घुलमिल हुने नै भए । पार्टीमा क्रियाशील सदस्यका चरित्र, आचरण, व्यवहार तथा नैतिकताले दलको लोकप्रियतामा पनि प्रत्यक्ष तथा परोक्ष प्रभाव पारिरहेको हुन्छ । यस अर्थमा आफ्नो सार्वजनिक प्रतिष्ठा तथा छविमा अभिवृद्धि गर्न पनि दलको सदस्यता लिएको व्यक्ति वास्तवमै चरित्रवान तथा नैतिकवान हुनुपर्छ । त्यस्ता व्यक्तिलाई मात्र सदस्यता प्रदान गरिनुपर्दछ । दलका आधिकारिक दस्तावेजमा यी तथ्यहरू उल्लेख नगरिएका होइनन् तर वास्तविकता फरकसमेत हुन्छ । दलको सदस्यता व्यक्तिगत फाइदा तथा स्वार्थपूर्तिका लागि गैरराजनीति व्यक्तिलाई वितरण गर्ने प्रवृत्ति तीतो सत्यका रूपमा स्थापित भइसकेको छ । फलस्वरूप मुलुकको राजनीतिमा अपराधीकरणको विषय पनि बेलाबेलामा चर्चा परिचर्चा हुनुको कारण यो पनि हो ।

राजनीतिक दलहरूका अस्तित्वका लागि सङ्गठन विस्तार जीवन्त आधार नै भएको वास्तविकतामा गुणात्मक सङ्गठन विस्तार पनि त्यत्तिकै महìवपूर्ण पक्ष हुन आउँछ । विशेष गरी सदस्यता वितरण तथा विस्तारमा नैतिकवान, क्षमतावान, जुझारु, समाज बुझेका व्यक्तिलाई सदस्यता वितरण हुन सकेमा दलको सामाजिक प्रतिष्ठा एवं छविमा अभिवृद्धि हुनुका साथै समग्र राजनीतिक परिवृत्तमा सकारात्मक प्रभाव पर्ने देखिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?