logo
२०८० चैत्र १६ शुक्रवार



खोटाङमा कोरोना सङ्क्रमित एकजना

प्रदेश |


खोटाङमा कोरोना सङ्क्रमित एकजना


खोटाङ, कात्तिक ९ गते । दश स्थानीय तह रहेको खोटाङ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या एकजनामा भरेको छ । गत वैशाखयता तीन हजार ४७ जनामा कोरोना सङ्क्रमण देखिएको जिल्लामा अहिले घटेर एकजनामा झरेको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी–९ निर्मलीडाँडाका एक पुरुष मात्र सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो ।

निर्मलीडाँडाका सङ्क्रमित पुरुष अहिले होम आइसोलेशनमै उपचाररत रहेको जनाइएको । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या घटेपछि दशवटै स्थानीय तहमा निर्माण गरिएको २३४ श्य्याको संस्थागत आइसोलेशन खाली बनेको स्वास्थ्य कार्यालय प्रमुख सिग्देलले जानकारी दिनुभयो । विश्वभर फैलिएको कोरोना सङ्क्रमणबाट २० महिने बालिकासहित १५ जनाले ज्यान गुमाएको खोटाङमा अन्य सबै सङ्क्रमित विभिन्न ठाउँमा गरिएको उपचारपछि सङ्क्रमणमुक्त भएका हुन् ।

जिल्लामा कोरोना सङ्क्रमित नभएपछि स्थानीय तहमा स्थापना गरिएको अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएका स्वास्थ्यकर्मीलाई सामान्य किसिमका बिरामीको उपचारमा खटाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या न्यून देखिए पनि स्वास्थ्य सुरक्षा सतर्कतालाई भने कडाइका साथ पालना गरिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)का संयोजक एवं प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण दर घट्दै गएपछि विश्वप्रसिद्ध त्रिधार्मिकधाम हलेसीसँगै जिल्लाका सबै मठमन्दिर तथा हाटबजार खुला गरिएको छ । लामो समयसम्म बन्द गरिएको हलेसी मन्दिर खुला भएपछि भक्तजन तथा पर्यटकको चहलपल सुरु भएको छ ।

पूर्वी पहाडी जिल्लामा खोटाङमा ५२ हजार ५२५ जनाले पहिलो मात्रा र ४० हजार ९७९ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । विसं २०६८ सालको जनगणना अनुसार दुई लाख छ हजार ३१२ जनसङ्ख्या रहेको जिल्लाका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउनेगरी दशवटै स्थानीय तहमा खोप कार्यक्रम जारी राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?