logo
२०८० चैत्र १६ शुक्रवार



‘हिसिला – फ्रम रेभुलुसनरी टु फस्ट लेडी’ कृतिकाे समीक्षा

कला |
पढ्नै पर्ने |


‘हिसिला – फ्रम रेभुलुसनरी टु फस्ट लेडी’ कृतिकाे समीक्षा



काठमाडौं, असोज २४ गते । माओवादी नेतृ हिसिला यमीको अङ्ग्रेजी भाषामा प्रकाशित ‘हिसिला–फ्रम रेभुलुसनरी टु फस्ट लेडी’ अर्थात् हिसिला–‘क्रान्तिकारीदेखि प्रथम महिलासम्म’ शीर्षकको कृति नेपाली राजनीतिमा माओवादी विचार वा वामपन्थी राजनीति बुझ्न चाहने जोकोहीलाई एउटा प्रेरक दस्तावेज बन्न पुगेकाे छ । अति नै रोचक र पठनीय विषयवस्तुहरु सङ्ग्रहित भएको यस कृति अङ्ग्रेजी भाषी पाठकहरुलाई लक्षित गरिए पनि आवश्यक रुपमा सबैलाई पढ्न प्रेरित गर्ने स्तरको छ ।

अहिलेसम्म माओवादी आन्दोलनका सिद्धान्त, विचार, दर्शनसहित व्यवहारिक रुपमा आन्दोलनमा देखापरेका विभिन्न घटनाक्रमलाई नेतृले सिलसिलाबद्ध रुपमा प्रस्तुत गर्ने प्रयत्न गर्नुभएको छ । नेपालको दार्शनिक, राजनीतिक, भाषिक, लैङ्गिक रुपमा पनि लेखिकाले यस कृतिमा आफ्नो सुस्पष्ट धारणा राख्नुभएकाे छ ।

‘राज्यसत्ता बन्दुकको नालबाट जन्मिन्छ ।’ भन्ने माओवादमा विश्वास गर्ने माओवादी पार्टीको दार्शनिक, सैद्धान्तिक र राजनीतिक आँखीझ्याललाई लेखिकाले द्वन्द्वात्मक भौतिकवादी व्यवहारवादबाट आफ्नै ज्ञानेन्द्रीयमार्फत् अनुभव गर्नभएको देखिन्छ । वर्ग संघर्षको भट्टीमा रहेर कर्कलोमाथिको पानी भने सरी दुई लाइन संघर्ष र अन्तरसंघर्षलाई उहाँले यस पुस्तकमार्फत् सो बेला उहाँमा विकसित भएको आत्मसंघर्षको आत्मवृतान्तलाई पुस्तकमार्फत् सबैको सामू उजागर गर्नुभएको छ । र, विगतमा लगाइएका आरोपहरुलाई मिथ्यावादमा परिणत गर्न उहाँले अन्तरसंघर्षको पिँढसम्म डुबुल्की मारेर कणकण खुट्याउनुभएको छ ।

विगतमा केही लेखहरु, विज्ञप्तिहरु, अन्तर्वार्ता र पार्टीका प्रशिक्षणहरुमा आरोपलाई खण्डन नगर्नुभएको होइन, तर अहिले ती विषयवस्तुलाई ठोस विश्लेषणसहित समयसापेक्ष उद्घाटित गर्नुभएको छ । रामायणका सुपात्रहरुलाई माओवादी जनयुद्धको आरोह अवरोहमा लगाइएका आरोपहरुको महाभारत रुपि घटनाक्रमको ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट चिरफार गरिएको छ ।

माओवादी जनयुद्ध (सशस्त्र विद्रोह) हुनुका कारण, पृष्ठभूमि, भूमिका निर्माण, सोभियत रुस, चीनलगायत अन्य देशका भन्दा फरक भएकोबारे दार्शनिक र सैद्धान्तिक रुपमा यस कृतिमा सचित्र व्याख्या गर्नुभएको छ, यमीले । मार्क्सवाद –लेनिनवाद–माओवाद (माओविचारधारा)को नयाँ संस्करणको रुपमा नेपालमा जन्मिएको ‘प्रचण्डपथ’को उदय, विस्तार, निष्किृयता/खारेजीबारे पनि समीक्षात्मक विश्लेषण गरिएको छ नै त्यो विचार अपूग भएकाले नै नयाँ विचार निर्माणको लागि पुस्तकमार्फत् लेखिकाले आफ्नो पदछापलाई नयाँ मोड दिएर न्यायसंगत विश्लेषण गर्नुभएको छ ।

नेता, नेतृत्व, लाइन, कार्यदिशा क्रियान्वयन हुने जनवादी केन्द्रीयताका विषयमा पनि पुस्तकमा गुह्य विषयवस्तुलाई नयाँ शिराबाट उठान गर्ने प्रयास गरिएको आभाष हुन्छ । लेखिकाले वस्तुगत परिस्थिति अपरिक्व हुँदा पनि राजनीतिक इच्छा शक्ति दृढ रुपमा व्यवहारमा लागू गर्न सकिने धारणा पनि बारम्बार दोहो¥याउनुभएको छ । उहाँ लेख्नुहुन्छ, सचेत नभएका व्यक्तिहरुलाई पनि सचेतनापूर्वक राजनीतिक रुपमा प्रशिक्षित पार्न सकिन्छ । सडक छाप व्यक्ति वा भनौं राजनीतिक रुपमा अनभिज्ञ व्यक्ति पनि अनवरत रुपमा अभियानमा लाग्न सक्यो भने राज्यसत्ताको बागडोर सम्हाल्न सक्छ भन्ने प्रेरणादायी प्रमाणको रुपमा उदाहरण पनि उहाँले प्रस्तुत गर्नुभएको छ ।

‘किन जीवनमा उद्देश्य हुन्छ ?’ भन्ने शीर्षकबाट शुरु गर्दै उहाँले आफ्नो योवनावस्थादेखि राजनीतिक व्यक्तित्व, प्रथम महिला हुनु पाएको र नयाँ सुपथको खोजीमा लागेको विषयवस्तु पस्किनुभएको छ । एकपछि अर्काे शीर्षकका लेखमार्फत् पाठकहरुको ध्यान आकृर्षित गर्न उहाँ सफल हुनुहुन्छ । उहाँले मन्त्री हुँदै देशको कार्यकारी प्रधानमन्त्रीको ‘फष्ट लेडी’ प्रथम महिला बन्न पाएको जीवनगाथा प्रस्तुत गर्नुभए पनि अन्ततगत्वाः यो एउटा माओवादी आन्दोलनको अलिखित राजनीतिक इतिहासको दस्तावेज बन्न पुगेको देखिन्छ ।

नेपाली, अँग्रेजी, हिन्दी मात्र होइन नेपालभाषा (नेवारी) भाषाका लेखहरु, किताव, रिपोर्टाज, निबन्ध, जीवनीहरुमा नआएका कयौं घटना र परिघटना, गोप्य विवरण, थप स्विकारोक्ति र स्पष्टोक्ति सार्वजनिक गर्ने हिम्मत उहाँले गर्नुभएको छ । क्रान्तिकारी महिलाले पुस्तकमार्फत् पनि अति गोप्य घटना र विवरणहरु सार्वजनिक गर्नुभएकाले यो किताव हरेक जोडकोणबाट अध्ययन गर्न जरुरी देखिन्छ । उहाँ र उहाँको जीवनसङ्गी पूर्व प्रधानमन्त्री डा. बावुराम भट्टराईबारे बाहिर आएका विषयवस्तुहरु भ्रामक र मिथ्या भएको कुरा प्रमाणित गर्न पनि उहाँले भरमग्दुर प्रयत्न गर्नुभएको छ ।

यो कृति नेपालमा देखिएका असमानता, राजनीतिक आन्दोलन, सत्ता संघर्ष, महिला मुक्ति, राजनीतिक उपलब्धी, राजनीतिक परिवर्तन, समावेशी समानुपातिक अधिकारको विषयमा पनि केन्द्रित छ ।

पुस्तकमार्फत् मार्क्सवाद जडशुत्रमा अलमल हुने हाेइन कि समयानूकुल परिवर्तनशील हुन्छ, त्यही भएर नेता, नेतृत्वको सही परिवर्तन सिद्धान्तलाई पनि समयानूकुल परिवर्तन गर्दै जानुपर्छ भन्ने मान्यता लेखिकाले प्रमाणित गर्नु खोज्नुभएको छ । उहाँले मार्क्सवादी समाजवादको विकासको लागि विभिन्न पार्टीमा एकता गर्दै रुपान्तरित हुँदै हिँडेको प्रमाण पेश गर्नुभएकाे छ नै मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ मार्क्सवादी जडसुत्रवाद भन्दा माथि उठ्न नसकेको आरोप लगाउनुभएको छ । जनयुद्धका नायक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ विचार ‘सी चिनपिङ विचारधारा’ अनुसरण गर्न ‘प्रचण्डपथ’ मात्र होइन माओवाद नै छाडेर नेकपा (एमाले)सँग एकता गरेको कुरा रुचिको विषय भएको उहाँले औंल्याउनुभएको छ ।

संयुक्त जनमोर्चा हुँदै नेकपा (माओवादी), एकीकृत नेकपा (माओवादी), नयाँ शक्ति, संघीय समाजवादी हुँदै राष्ट्रिय जनता पार्टी (अहिले जनता समाजवादी पार्टी)सम्म पुग्दा नयाँ शिराबाट देश र जनताको अधिकारलाई स्थापित गर्दै नेतृत्व र विचारको रुपान्तरण आवश्यक भएको कुरामा जोड दिनुभएको छ । नेतृ यमीले जनयुद्धमा लागेका नेतृत्वहरु दिगभ्रमित भए पनि डा. भट्टराईसँगै आफू नयाँ शिराबाट संघर्षको नयाँ अभियानमा समर्पित भएको उद्घोष गर्नुभएको छ ।

नयाँ दिल्लीको पेन्गुइन प्रकाशनबाट मुद्रित ३३५ पृष्ठको यस कृतिमा तीनवटा अध्याय रहेका छन् । ‘प्रारम्भ’ शीर्षकको अध्यायमा सात वटा लेख, ‘जनयुद्ध’ अध्यायमा १८ वटा र ‘नयाँ शुरुवात’ अध्यायमा १३ वटासहित ३८ लेखहरु यस कृतिमा सङ्ग्रहित छन् ।

अन्तराष्ट्रिय पाठक केन्द्रित कृतिको सम्पादन सोही अनुसारको छ । यद्यपि प्रगतिवादी यथार्थवादको जगमा लेखिएका केही लेखको प्रुफ एडिटिङ्ग समयानुकुल रुपान्तरण नगरिएको आभाष कँहीकतै भेटिन्छ । पछाडि छुट्टै पृष्ठमा फुट नोटलाई राख्नुभन्दा पृष्ठको तलतिर आवश्यक अनुसार स्थान दिँदा पाठकको ध्यान र समयको सदुपयोगसँगै मिठास हुन्थ्यो, क्रान्तिकारी जोश पाठकको दिमाग पनि सोही अनुसार उद्घेलित हुनसक्थ्यो ।

अन्त्यमा व्यक्ति, व्यक्तित्व र क्रान्तिकारी धरोहरता झल्किने गरी कभर स्टोरीको डिजाइन आकर्षक र अति नै सुहाउँदो छ । यस कृति नेपाली समाज र आन्दोलनको सन्दर्भमा प्रयोगात्मक अभियाससहित माओवाद (माओविचारधारा)का एक ज्वलन्त ऐतिहासिक अभिलेख पुष्टि भएको छ । कृतिकार तथा नेतृ हिसिला यमीको नयाँ विचारश्रृङ्खलाको खोज अन्वेषण नवपरिवर्तन हुने विश्वास यस कृतिमा व्यक्त विचारबाट सुस्पष्ट हुन्छ । – उपेश महर्जन (कृति समीक्षा)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?