logo
२०८० चैत्र १६ शुक्रवार



म्युजिक भिडियोको ‘क्रेज’

शनिवार |


म्युजिक भिडियोको ‘क्रेज’


राजन घिमिरे

पछिल्लो समय म्युजिक भिडियोको निर्माणले नेपालमा एउटा उचाइ नै लिएको छ । कुनै बेला सीमित मोडल र प्राविधिक वरिपरि मात्र रहेको थियो यो विधा । म्युजिक भिडियो र चलचित्र विधामा आबद्ध कलाकार र प्राविधिकबीच नै खाडल थियो तर अहिले समय यस्तो भइदियो, सिनेमासँग आबद्ध कलाकारदेखि प्राविधिकसम्मको बलियो कमाइ बनेको छ यो विधा । झन् कोरोनाले चलचित्र व्यवसायलाई धक्का दिँदा यो व्यवसाय फस्टाउन थप मद्दत पुगेको छ । आयस्रोतका लागि त कलाकार र प्राविधिकलाई यो विधा यतिखेर अमृत समान नै भएको छ ।

कुनै समय ‘म्युजिक भिडियोमा पनि काम गर्ने र’ भनेर नाक खुम्च्याउने सिनेमाको पर्दामा चलेका अभिनेता, अभिनेत्रीहरूलाई दाम, नाम र काम दिने बलियो विधा नै बनेको छ– म्युजिक भिडियो । अहिले औसतमा पाँचदेखि १० वटासम्म म्युजिक भिडियो दिनमा बन्ने गरेको आँकडा नेपाल म्युजिक भिडियो निर्देशक समाजसँग छ । समाजका अध्यक्ष विधान कार्कीका अनुसार यो आँकडा कोरोना बढेको समयमा झनै बढेको थियो । एउटा भिडियोको औसत बजेट दुईदेखि १० लाख रुपियाँसम्म रहेको र केहीको बजेट त २० लाख रुपियाँसम्म पनि पुगेको छ । पछिल्लो चर्चित भिडियो ‘भीरमा सेती गाई’ बोलको गीत निर्माण गर्न २० लाख रुपियाँ लाग्यो ।

सामान्यतया वर्षमा एक हजारदेखि एक हजार पाँच सयको हाराहारीमा म्युजिक भिडियो बन्थे । कोरोना र बन्दाबन्दीको अवधिमा यसको निर्माणले नयाँ रेकर्ड राख्यो । गत दुई वर्षमा मात्र पाँच हजार हाराहारीमा म्युजिक भिडियो बने । यस अवधिमा सबैभन्दा बढी म्युजिक भिडियो बनाउने निर्देशकमा विधान कार्की पर्नुहुन्छ । उहाँले ६० वटा म्युजिक भिडियो बनाउनुभयो ।
म्युजिक भिडियो फस्टाउँदा कलाकार, प्राविधिक र निर्देशकहरूको जीवनशैलीमा नै परिवर्तन ल्यायो । “एकातिर चलचित्रको काम ठप्प, अर्कातिर सिनेमा हल बन्द । हाम्रो त बिजोग नै थियो । हामीलाई यस्तो परिस्थितिमा बचाएकै म्युजिक भिडियोले हो,” नायक तथा मोडल पुष्प खड्काले भन्नुभयो । यसबीचमा बनेका म्युजिक भिडियो युट्युब, सामाजिक सञ्जाल र टेलिभिजनमा हेरेर दर्शकले मनोरञ्जन पनि लिए । मनोरञ्जनको विकल्प अरू नहुँदा युट्युब र टेलिभिजनमा आउने नयाँनयाँ भिडियो नै दर्शकको मनोरञ्जनको बलियो आधार बन्यो ।

सामान्यतया वर्षमा ८० देखि ९० वटाको हाराहारीमा चलचित्र बन्थे । एउटा चलचित्रमा सरदर एक करोडदेखि दुई करोड रुपियाँसम्म लगानी हुन्छ । यस हिसाबले नेपाली चलचित्र क्षेत्रमा वर्षमा एकदेखि दुई अर्ब रुपियाँसम्म लगानी हुन्छ । कोरोनाले सिनेमा निर्माण र प्रदर्शन ठप्प हुँदा कलाकार र प्राविधिकलाई जीवन धान्न पनि गाह्रो भयो । यस अवस्थामा म्युजिक भिडियो सञ्जीवनी बुटी भएर आएको छ । कोरोना कालमा बनेका पाँच हजार म्युजिक भिडियोमा झन्डै दुई अर्ब रुपियाँ लगानी भएको छ ।

म्युजिक भिडियोमा काम गर्ने कलाकारको आर्थिक स्तर पनि कोरोना कालमा बनेका भिडियोहरूले उकासिदिएको छ । एउटा म्युजिक भिडियो खेलेबापत २५ हजारदेखि तीन लाख रुपियाँसम्म पारिश्रमिक पाए कलाकारहरूले । राजेश हमाल, करिश्मा मानन्धर, पुष्प खड्का, पल शाह, आँचल शर्मा, स्वस्तिमा खड्का, राज कटुवाल, वर्षा शिवाकोटी, पूजा शर्माजस्ता सिनेमामा जमेका हस्तीलाई व्यस्त मात्र बनाएन, म्युजिक भिडियोले गरिमा शर्मा, रेश्मा घिमिरे, श्रेया सिटौला, उषा उप्रेतीलगायतका नवप्रवेशीलाई स्थापित पनि गरायो । कलाकारिता क्षेत्रलाई यो बेला चलायमान बन(ाउन विधान कार्की, निकेश खड्का, सुव्रत आचार्य, शिव बि.क., शान थापा, गम्भीर विष्ट, रामजी लामिछाने, सचित खड्का, देवेन्द्र पाण्डे, बबिता श्रेष्ठलगायत म्युजिक भिडियो निर्देशकहरूको योगदान रह्यो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?