logo
२०८० चैत्र १५ बिहीवार



पर्यटक भित्रिन थाले

पर्यटन |


पर्यटक भित्रिन थाले


नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, असोज ९ गते । बुद्ध एयरले नेपालगञ्ज–पोखरा उडान सुरु गरेसँगै बाँके, बर्दियामा पर्यटक भित्रिने क्रम बढेको छ ।
भारतबाट आउने पर्यटक नेपालगञ्ज हुँदै पोखरा र बर्दिया तथा कर्णालीसम्म घुम्न जाने गरेको स्थानीय पर्यटन व्यवसायीले बताए । नेपालगञ्जबाट पोखरा हवाई यातायातमा जोडिएपछि पोखरा जाने भारतीय र पोखराबाट बर्दिया निकुञ्ज, रारा तथा सुदूरपश्चिम जाने पर्यटक बढ्दै गएको होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले बताउनुभयो ।
उहाँले हवाई उडानका कारण नेपालगञ्जमा पर्यटकको चहलपहल बढेको बताउनुभयो । भारतबाट सवारीसाधनको आवागमनमा रोक लगाइएकाले अझै पनि धेरै पर्यटक आउन नसकेको गुनासो गर्दै उक्त रोक हटेपछि ठूलो सङ्ख्यामा भारतीय पर्यटक पोखरा जानका लागि यहाँ पुग्ने बताउनुभयो ।
पोखरा पुग्न १२ देखि १५ घण्टाको समय लाग्दै आएकामा हवाई उडानका कारण एक घण्टामै पोखरा पुगिने हुँदा पर्यटकको रोजाइमा पोखरा, नेपालगञ्ज र बर्दिया निकुञ्ज परेको पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।
उहाँले नेपालगञ्जलाई पर्यटकको प्रवेशद्वार बनाउनका लागि यो हवाई उडान कोसेढुङ्गा साबित भएको बताउनुभयो ।
यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सक्रिय नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बढीभन्दा बढी पर्यटक तान्न उडानलाई दिगो बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । दैनिक उडानले चारैतिर उत्साह थपिएको उहाँको भनाइ छ ।
साउन १८ देखि बुद्ध एयरले सुरु गरेको नेपालगञ्ज–पोखरा हवाई उडान हाल दैनिक भइरहेको छ ।
उडानबाट आउनेजाने पर्यटक एवं अन्य यात्रुको सङ्ख्या बढेसँगै बुद्ध एयर पनि उत्साहित बनेको छ । बुद्ध एयरले उडानसंगै टुर प्याकेजसमेत सुरु गरेकाले धेरै पर्यटक आकर्षित भइरहेका छन् ।
पहिलो चरणमा सातामा तीन उडान सुरु गरेको बुद्ध एयरले पर्यटक बढेपछि अहिले दुवैतर्फका लागि दैनिक एक उडान राखेको बुद्ध एयर नेपालगञ्जका प्रबन्धक विनित शाहले बताउनुभयो ।
नेपालगञ्ज–पोखरा उडानको एकतर्फी भाडा न्यूनतम चार हजार ९३५, मध्यम पाँच हजार ५३५ र अधिकतम पाँच हजार ९३५ गरी तीन किसिमको छ ।
विशेषगरी भारतीय पर्यटकलाई लक्षित गरी नेपालगञ्ज–पोखरा हवाई उडान सुरु गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?