logo
२०७८ कार्तिक ३ बुधवार



स्त्री चेतको उदय

कला |


स्त्री चेतको उदय


अनुपम रोशी

महिला गौरवको एउटा शालीन इतिहास । अर्थात् वर्तमान विश्वको आँखामा एउटा यस्तो देश, जहाँ राष्ट्रप्रमुख, न्यायपालिका प्रमुख र व्यवस्थापिका प्रमुखमा महिला आसिन भए । अर्थात् नेपालका प्रमुख पाँच विशिष्ट पदमध्ये तीन पद महिलाको हातमा पुग्यो ।
मुलुकको दोस्रो राष्ट्रपति विद्याभण्डारी महिला रपहिलो राष्ट्रपति बन्नु भयो भने सुशीला कार्की नेपालको २६ औँ र पहिलो महिला प्रधानन्यायाधीश तथा ओनसरी घर्ती नेपालको पहिलो महिला सभामुख हुनुभयो । नेपालको ६६ वर्ष लामो प्रजातान्त्रिक इतिहासमा करिब ३० वर्ष लामो निरङ्कुश पञ्चायती व्यवस्था र ३६ वर्षे बहुदलीय व्यवस्थाको अन्त्य गर्दै सङ्घीय गणतन्त्र नेपाल भएलगत्तै सरकार प्रमुख भएर देश हाँक्ने विश्वका थोरै महिलाको सूचीमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको नाम पनि अङ्कित भयो ।

तर यो सब भइसक्दा पनि महिलाको हक, अधिकार, अस्तित्व कति सुनिश्चित हुन सक्यो ? महिलामाथिका अन्याय र अत्याचार कति कम हुन सके ? यो कुरा अझै विचारणीय नै छ । विचारणीय मात्र होइन समय समयमा निकै आलोचित पनि छ ।
यहाँ महिलावादका परिभाषालाई व्याख्या गर्न खोजिएको होइन । महिला अधिकार महिला हिंसाका बारेमा त अक्सर लेख्दै आइएको छ । तर यी सबै कुराको बहस भइरहँदा उनीहरूको चेतनाको स्तर कति उकासियो ? समाजले महिलाको चेतनालाई कसरी हेर्दै छ भन्ने कुरा पनि महìवपूर्ण हुन्छ । प्रस्तुत लेखमा महिला स्वतन्त्रता समानता र उनीहरूको वृद्धि भएको चेतनाको सवालमा केही कुरा उठाउने छु  ।

शिक्षामा पुरुषलाई उछिन्दै महिला, यो हालसालै बीबीसी न्युजले प्रकाशित गरेको समाचारको हेडलाइन हो । विगत केही वर्षदेखि माध्यमिक शिक्षा र उच्च माध्यमिक शिक्षा क्षेत्रमा महिलाहरू अगाडि देखिएको कुरा छापिएको छ । हुन पनि हाल विद्यावारिधिको तयारी गरिरहेका महिलाहरूको सङ्ख्या पहिलेको तुलनामा उच्च रहेको त्रिविले बताउँदै आएको छ । तर यी सब कुराले नेपाली समाजको व्यावहारिक शिक्षामा कति फरक आउन सक्यो ? महिलाहरू शिक्षित भए पनि त्यो एउटा पुरुषको तुलनामा कमजोर ठानिन छोडी कि छोडिन ? शिक्षामा आएको परिवर्तनले उसको स्वामित्व पुरुष अधिनस्त रहन कति प्रतिशतले कम भयो ? हामीले यी कुरालाई गम्भीर ढङ्गले खोज्यौँ भने यसको बेग्लाबेग्लै तस्बिरहरू अगाडि आउँछन् । ती तस्बिरमा घरका पिता, पति नै उनीहरूका गाइड बनिरहेका देखिन्छन् ।

त्यसो त एकाध महिलाले यसलाई भत्काउन नखोजेका पनि होइनन् । अदालतमा दिनहुँजसो बढिरहेका सम्बन्धविच्छेदका मुद्दा यसको ज्वलन्त उदाहरण हो  । अबका शिक्षित महिलाहरू लोग्ने र परिवारको प्रताडनालाई सहेर सम्बन्ध जोगाइरहन तयार छैनन् । बरु स्वतन्त्र भएर अगाडि बढ्नुमै आफूलाई सुरक्षित र खुसी महसुस गर्छन् । भलै समाजले उनीहरूलाई स्वतन्त्रताको नाममा भएको छाडापनको संज्ञा दिने गर्छ ।
यो समाज त यस्तो समाज हो जहाँ एक स्त्री फागुपर्वमा भाङ खाएर हिँड्न सक्दिनँ तर तीजमा रातो साडी लगाएर व्रत बस्न मानौ परम्परागत दबाब छ । एक्लै यो समाजमा आमा बन्न सक्दिनँ तर वैवाहिक बलत्कार उसले स्वीकार गर्नुपर्छ । लोग्नेको हरेक गल्ती र कमजोरीमा स्वास्नीले आम माफी दिनुपर्छ तर स्वास्नीले एउटा गल्ती गरी भने ऊ कारबाहीको भागिदार बन्छे ।

एउटा फराकिलो अधिकार र स्वतन्त्रतासहितको सकारात्मक नेपाली समाज तयार हुन त अझै कति समय लाग्ने हो, त्यो यसै भन्न सक्ने अवस्था छैन । तर पहिलेको तुलनामा महिलाहरू सचेत नभएको भन्न चाहिँ मिल्दैन । विभिन्न ओहोदाका सरकारी जागिर होस् या दैनिक ज्यालादारीको काम जसमा उनीहरूको सहभागिता पुरुषसरह नै खटिएको छ । खट्ने मात्रै होइन सँगसँगै घरधन्दा र बालबच्चा पनि सम्हालेका छन् । अझ भन्नुपर्दा आजका महिलाहरूको कामको भूमिका दोहोरो मात्रै होइन तेहोरो, चौहोरो पनि हुने गरेको छ । यद्यपि त्यसको उचित मूल्याङ्कन गर्न यो समाज र राज्य तत्पर छैन । अरू त कुरा छाडौँ ज्यामी काममा बराबरी खटिएका पुरुष र महिलाहरूको ज्यालामा समानता नभएको अधिकांश महिला ज्यामीहरू बताउँछन् । पसिना समान बग्छ, दुःख बराबरी उठाइन्छ । तर त्यसको प्रतिफल पुरुषलाई बढी दिइन्छ । यो एउटा उदाहरण मात्रै हो, यस्ता असमानता हरेक ठाउँमा देख्न सकिन्छ ।

त्यसो त परिवारको आर्थिक उन्नति गर्नका लागि महिलाहरू वैदेशिक रोजगारीमा जान थालेको धेरै भइसक्यो । पढाइको सिलसिलामा विदेशिनेको सङ्ख्या पनि उत्तिकै छ  । यसले के देखाउँछ भने कामका लागि होस् या एउटा समृद्ध समाजका लागि पुरुषभन्दा महिलाहरू कतै कम छैनन् । ‘हामीले पनि गर्न सकिन्छ,’ भन्ने भावना महिलाहरूमा राम्रै विकास भएको देखिन्छ  ।
पछिल्लो समय सामाजिक सञ्जालका रूपमा रहेका फेसबुक, टिकटक, युट्युब ट्विटरतिर हेर्नुपर्छ त्यहाँ महिलाको सहभागिता राम्रै देख्न सकिन्छ । खुलेर आफ्ना समस्या र आफूमाथि भएको अन्यायका विरुद्ध बोलिरहेका हुन्छन् । एक अर्काको दुःखमा आवाज उठाइरहेका हुन्छन् । र अर्को कुरा के पनि देख्न पाइन्छ भने, श्रीमान् विदेशमा रहेका श्रीमतीहरू फलनासँग भागी अथवा लागी भन्नेजस्ता विषय भाइरल भइरहेका हुन्छन् । हरेक दिनजसो यस्ता घटना सार्वजनिक गर्न युट्युबे गिरोह लागिपरेको देखिन्छ । अस्ति भर्खरको एउटा घटना यहाँ उल्लेख गर्न सान्दर्भिक होला । बीएस्सी पढेको २५ वर्षीय एक युवकले ४५ कटेकी एक महिलासँग लुकेर विवाह ग¥यो । र झन्डै डेढ वर्ष उनीहरू सँगै बसे तर एक दिन एउटा चोरी काण्डमा मुछिएपछि उनीहरूको लुकेर गरेको विवाह सम्बन्ध बाहिर आयो । यो कुरा केटाको परिवार र त्यहाँको समाजले सजिलै पचाउन सकेन  । अन्ततः उनीहरू छुट्टिए । यसखाले घटनाले के देखाउँछ भने, ‘मेरो शरीर मेरो अधिकार’ भन्ने कुरा जानेर नजानेर महिलाहरूमा विकास हँुदै गएको छ । लोग्ने विदेश गएपछि आफ्नो शरीरको भोक मेटाउन पर पुरुषसँग सम्बन्ध बनाउनु पनि उनीहरूलाई गलत लाग्दैन । किनकि त्यहाँ उनीहरूको सामाजिक प्रतिष्ठाभन्दा पनि उनीहरूको शारीरिक भोकको अधिकार महìवपूर्ण भएको हुन्छ । केही सवालमा यस्ता गतिविधि अनुचित लाग्न सक्छन् ।

समाजले यसलाई अवैध मान्दै पनि आएको छ । तर महिलाहरूको व्यक्तिगत वा शारीरिक स्वतन्त्रताको सवालमा यो एउटा परिवर्तन हो । त्यस्तो परिवर्तन जहाँ महिलाहरू आफ्ना लागि बाँच्न चाहेका छन् । आफ्नो शरीरको अधिकारको रक्षाका लागि अगाडि बढेका छन् । यसले समाजको पारिवारिक संरचनामा असर पार्नु त स्वाभाविक नै हो । किनकि यहाँ परिवार र समाजको डोर महिलाहरूले नै धान्दै आएका छन् । महिलाहरू अधिकारविहीन छन् तर समाज उनीहरूकै काँधमा अडिएको छ । त्यसैले एउटी महिलाको काँध यो समाज निर्माणमा महìवपूर्ण छ । ऊ हल्लिने बित्तिकै समाजले भुइँचालो गएको अनुभूति गर्छ ।

महिलालाई लिएर देखिने सामाजिक दृष्टिकोण र व्यवहारमा यस्ता धेरै असमानता छन् । कसरी हुन्छ महिलालाई कमजोर ठान्ने र कमजोर बनाउने र उसको काँधमा टेकेर शासन गरिरहने सोच समाजमा विद्यमान छ । त्यसलाई चिरेर अगाडि बढ्ने र समाजमा भुइँचालो ल्याउने सबै महिलाहरू सलामका पात्र हुन् ।
‘महिला द सेकेन्ड सेक्स, फेमिनिज्म फर एभ्रिवन’ लगायतका पुस्तकमा के भनिएको छ भने महिला आफैँमा महिला हुन्न, उसलाई महिला बनाइन्छ । जहाँ सिमोन द बुवाले लेखेकी छन्– सामाजिक, सांस्कृतिक तथा देशको राजनीतिक प्रक्रियाहरूले महिलालाई ‘महिला’ बनाएको हुन्छ । त्यसै अनुरूप महिला कोमल हुन्छे । भावुक हुन्छे, सुन्दर हुन्छे र त्यसलाई स–शरीर हेर्न सकिन्छ, मात्र स–शरीर । उसको अस्तित्व भनेको आँसु हो, डर हो, सौन्दर्य हो र यौन हो  । सायद यही मान्यतामा उभिएर सिङ्गो पुरुष सत्ताको मनोविज्ञान विकास भएको छ । जसले महिलाको अस्तित्वलाई आज पनि यौनका आँखाले मात्र स–शरीर हेर्छ र हेर्न चाहन्छ ।

सिमोन द बुवाले लेखेजस्तै आज पनि समाजका हरेक पुरुषले महिलालाई मात्र स–शरीर हेर्छ, अनुभव गर्छ र व्याख्या गर्छ । हरेक ठाउँमा शरीर सुम्पेपछि वा आफूलाई बेचेपछि मात्रै महिलाले दक्षता हासिल गर्न सक्छन् भन्ने काइते मानसिकता पनि छ । यसरी महिलाले गरेको सङ्घर्ष, कडा मिहिनेत र लगनशीलताको इतिहासलाई धुलोमा मिलाउँदै आइएको छ ।
महिलाले समाजमा समान अधिकार, न्याय र सम्मान प्राप्त गर्नका लागि देशभित्रै रोजगारीको सिर्जना र अर्थतन्त्रको विकास अपरिहार्य छ । तर यतिले मात्र पुग्दैन । जबसम्म पुरुषले महिलालाई समदृष्टिले हेर्दैन र घुरेर हेर्छ, त्यतिबेलासम्म महिलाले न्याय र समानताको महसुस गर्न सक्दैनन् ।

हामीले कस्तोखालको आर्थिक, राजनीतिक प्रणाली र सामाजिक व्यवस्था स्थापित गरेका छौँ भन्ने कुराले सांस्कृतिक मूल्य मान्यताको विनिर्माण गर्छ । यही संस्कृति र सभ्यताले नै नारीहरूको स्वतन्त्रता, अधिकार र न्यायलाई प्रभावित पारेको हुन्छ । जुन समाजमा अराजकता, हिंसा, दण्डहीनता, गरिबी, अशिक्षा र बेरोजगारी व्याप्त हुन्छ, त्यो समाजमा सबैभन्दा बढी प्रताडित महिलाहरूले नै हुनुपर्छ । यस अर्थमा महिला स्वतन्त्रता, समान अधिकार र न्याय भन्ने कुरा त्यस देशको आर्थिक व्यवस्था, राज्य सञ्चालन प्रणाली र सामाजिक व्यवस्थासँग गहिरोसँग निर्भर रहन्छ ।

त्यसैले देशमा गणतन्त्र आएर पनि विभिन्न ओहोदामा महिलाहरू विराजमान भएर पनि महिलाको अस्तित्व स्वतन्त्र नहुनु र उनीहरूले समन्याय पाउन नसक्नुका पछाडि नेपालमा विद्यमान सामाजिक र राजनीतिक बेथितिहरूको ठूलो भूमिका छ । हामीले समाजको आधारभूत तहमा रहेका यी सामान्यभन्दा पनि सामान्य समस्यालाई पहिचान गर्न सकेका छैनौँ । 

मधुपर्क, असोज २०७८

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?