logo
२०७८ कार्तिक ३ बुधवार



विश्वास (कथा)

कला |


विश्वास (कथा)


 डा. गोविन्दसिंह रावत

एम्बुलेन्स अस्पतालअगाडि रोकिएपछि दुईजना अस्पतालका कर्मचारी आएर एउटी महिलालाई स्ट्रेचरमा राखेर इमर्जेन्सी वार्डमा लिएर जान्छन् । इमर्जेन्सी वार्डको ढोकामा उभिएका महिला र पुरुष स्ट्रेचरमा रहेकी महिलालाई देख्नासाथ छोरी भन्दै समातेर रुँदै इमर्जेन्सी वार्डभित्र पस्न खोज्छन् ।

केही अन्तरालपछि प्रहरीको जिपबाट दुई जना प्रहरीहरू ओर्लेर इमर्जेन्सी वार्डतिर लाग्छन् । इमर्जेन्सी वार्डमा डाक्टर र नर्सहरू घाइते महिलाको उपचारमा व्यस्त देखिन्छन् । प्रहरीले आउने कारण बताएपछि डाक्टर उनीहरूलाई पनि बाहिर कुर्न अनुरोध गर्छन् । केही बेरपछि इमर्जेन्सी वार्डबाट डाक्टर बाहिर आएर प्रहरीलाई बिरामीलाई जनरल वार्डमा लिएर जान लागेको भनेपछि प्रहरी महिलासँग केही सोधपुछ गर्न डाक्टरसँग उनको अवस्थाका बारेमा सोध्छन् । त्यही बेला एकजना भलाद्मी आएर आफूलाई महिलाको हुनेवाला श्रीमान् भनेर परिचय दिएर महिलाको अवस्थाका बारेमा डाक्टरलाई सोध्न थाल्छन् । डाक्टरले अवस्था सामान्य रहेको भनेपछि भलाद्मी महिलाको नजिकै उभिन्छन् । प्रहरी र महिलाका आमा–बुबा पनि भलाद्मीसँगै महिलालाई लिएर गएको स्ट्रेचरको पछिपछि जनरल वार्डतिर लाग्छन् ।

अस्पतालका कर्मचारीसँगै भलाद्मी र आमा–बुबा पनि महिलासँगै भित्र पस्छन् । प्रहरी भलाद्मीलाई महिलासँग सोधपुछ गर्न सकिन्छ कि भनेर महिलालाई सोधी दिन आग्रह गर्दै कोठाबाहिरै उभिन्छन् । भलाद्मी म सोधेर बताउँछु भनेर भित्र पस्छ । केही बेरपछि कर्मचारी निस्केर जान्छन् र त्यसको केही बेरपछि भलाद्मी पनि बाहिर निस्केर प्रहरीलाई भित्र आउन आग्रह गर्दै आफू पनि प्रहरीसँगै भित्र पस्छन् । तर प्रहरीले महिलासँग एक्लै बयान लिनुपर्ने भनेपछि भलाद्मीसँगै आमा–बुबा पनि निस्कन्छन् ।
प्रहरी निरीक्षक महिलानजिकै आएर उनको अवस्था र बोल्न सक्ने नसक्नेबारे सोधेर महिलाले हुन्छ भनेपछि सँगै आएका असईलाई विवरण टिप्न इसारा गरेर घटनाको बारेमा सोध्न थाल्छन् । प्रहरीले सोधेपछि महिला विस्तारै घटनाका विवरण दिन थाल्छिन् ।

हजुर, अघि यहाँ उभिने किशोरसँग अर्को महिना मेरो बिहे हँुदैछ । हाम्रो मागी विवाह हो । बिहाको किनमेल हुँदै छ । गरगहनाको अर्डर गर्नुपर्ने थियो । बैङ्कको कामले गर्दा समय निकाल्नै गाह्रो हुन्छ । मेरो र उनको घरबाट गहनाको डिजाइन हेरेर पक्का गर्न बारम्बार कराउँदा पनि समय नै निकाल्न सकिरहेको थिइनँ । बल्ल आज डिजाइन हेरेर फाइनल गर्न भनेर म साढे छ बजेपछि बैङ्कबाट निस्केर गहना पसलमा आएको थिएँ । मलाई बैङ्क म्यानेजरले आफ्नो मोटरमा नयाँ बजारसम्म छोडिदिनुभयो । गहनाको डिजाइन सबै हेरेर फाइनल गरेर लगभग डेड– दुई घण्टापछि घर जान भनेर ट्याक्सी खोज्न थालेँ । एउटा ट्याक्सी आएर मलाई कता जाने भनेर सोध्दै साँझ भइसक्यो, यसो मिलाएर दिनु नि भनेपछि केही नभनीकन ट्याक्सीका बसेँ । ट्याक्सी चढ्नासाथ एकजना मान्छे ट्याक्सीअगाडि आएर ए माइला कता ? घरतिर हो ? ल न मलाई पनि छोड्दै जा न भनेर ट्याक्सीमा बस्यो । ऊ बसेको देखेपछि मैले, के गरेको भाइ चाँडो हिँड् न भनेपछि उसले, ऊ मेरो काकाको छोरा हो । त्यतै बस्छ भनेर अगाडि राखेर ट्याक्सी चलाउन थाल्यो ।

दुई जना अगाडि गफ गर्दै थिए र म मोबाइलबाट आमा र हुनेवाला सासूलाई गहनाका बारेमा जानकारी गराएपछि फेसबुक हेर्दै थिएँ । ट्याक्सी अचानक रोकिएपछि मैले के भयो भनेर सोधपछि ड्राइभरले खै ? टायर केही भयो कि भन्दै आफूसँगै बसेकालाई हेर् त ओर्लेर के भयो भनेपछि ऊसँगै बसेको मान्छे ट्याक्सीबाट ओर्लियो । तर अचानक ऊ पछाडिको ढोका खोलेर भित्र पसेर मलाई खुकुरी देखाएर नकराउनु भन्दै मेरो मोबाइल माग्यो । मैले के गरेको भाइ, तपाईंलाई के चाहियो भन्नुस् न । मेरो ब्याग, मोबाइल र मैले लगाएका गहना सबै लानुहोस्, बिन्ति छ मलाई घरसम्म छोडिदिनुहोस् भनेर बिन्ति गर्न थालेँ । उसले मेरो मोबाइल र ब्याग लिएर चुप लाग भनेर मलाई हप्काएपछि माइलालाई ट्याक्सी चलाउन भन्यो । त्यसपछि ट्याक्सीको स्पिड बढाएर उनीहरू चक्रपथबाट मण्डिखाटारतिर मोडिनुको सट्टा चक्रपथ हुँदै स्वयम्भुबाट इचङ्गु नारायणतिर लाग्यो । ड्राइभर अगाडिको सिसाबाट मलाई बारम्बार हेर्दै थियो । उसको हेराइले मलाई झन् डर लाग्न थाल्यो र मैले फेरि विन्ति गर्दै उनीहरूले चाहेको रकम दिने भनेपछि मसँगै बस्नेले बिहै हुँदैछ । त्यसैले बीस लाख माग्नु पर्ला हैन त माइला भन्दै ड्राइभरलाई सुनाउन थाल्यो । मैले आफूसँग त्यति नभएको तर दस सम्म जम्मा गर्न सकिन्छ भनेपछि मसँगै बस्नेले के गर्ने माइला भन्दै सोधेपछि ड्राइभरले अहिले चुप लाग । अगाडि पुगेपछि कुरा गरौँला भन्दै इचङ्गु नारायणको त्यस्तो उकाला बाटोमा पनि ट्याक्सीको स्पिड बढाएर कुदाउन थाल्यो ।

म डरले कामिरहेको थिएँ । इचङ्गु नारायण काटेपछि ट्याक्सी रोकियो । बाहिर सुनसान थियो । दुवैजना ट्याक्सीबाट ओर्लेर ट्याक्सीको अगाडि उभिएर कुरा गर्न थाले । एकैछिन पछि दुवै ट्याक्सीमा बसे अनि मसँगै बस्नेले पन्ध्र लाख तिर्ने भए छोड्ने हो, नत्र बिहे हुने महिला रातभरि हरायो भने समाजमा कस्तो हल्ला चल्छ भन्ने कुरा थाहा नै होला हैन त, भनेर सुनाउन थाल्यो । डर र त्रासले गर्दा मलाई पिसाबले च्यापेको थियो । ट्याक्सी जानलाई स्टार्ट मात्र गरेका थिए, मैले पिसाबले च्यापेको छ । बाहिर जाने अनुमति माग्दा ड्राइभरले हँुदैन भन्दै थियो । तर मसँग बस्नेले मलाई पनि च्यापेको छ । म पनि गर्छु, तिमी पनि गर भनेर ओर्लन लगायो ।
ट्याक्सीबाट ओर्लेपछि माथि पहाड तल जङ्गलको ओरालो र बीचको कच्ची सडकमा ट्याक्सी रोकिएको देखेँ । चकमन्न अँध्यारो थियो । अँध्यारोले गर्दा नजिकै उभिएकालाई पनि देख्न गाह्रो हुन्थ्यो । ऊ तल ओरालोमा पिसाब फेर्न थाल्यो र मलाई पनि त्यहीँ फेर भन्दै थियो । म उनीहरूको अगाडि फेर्न अनकनाएँ । ड्राइभरले ट्याक्सीको पछाडि जानु भनेपछि त्यसै गरेँ । आफूलाई सुनसान ठाउँमा पाएपछि आत्तिएँ । डरले पिसाब नै रोकियो । आफूलाई जोगाउने प्रयासमा म तल जङ्गलको ओह्रालोतिर दौडिन थालेँ । केही देखिँदैन थियो तर म दौडि नै रहेँ ।

माथिबाट ए... ए.... ए... भागी भागी भनेको सुनेपछि म झन् वेगका साथ दौडन थालेँ । रुखमा ठोक्किएँ । लडेँ । फेरि ठोक्किएँ । फेरि लडेँ । झारपातमा अल्झिएर लडेँ । लड्दै रुखमा ठोक्किँदै आफूलाई जोगाउन दौडि नै रहँे । पछि पछि उनीहरू दौडेको खस¥याङ खुस¥याङ सुनिन्थ्यो । बिनागन्तव्य आफूलाई जोगाउने प्रयासमा म दौडिरहेँ । झारपातमा कोतरिँदै लड्दै ठोक्किँदै लागेको चोटपटक र दुखाइलाई बिर्सेर म दौडि नै रहेँ । थकाइले गर्दा म ढलँुला जस्तो भए पनि मसँग भएको सबै बल लगाएर म दौडि रहेँ । मलाई समात्न उनीहरू मेरो पछि लागेको र समातेपछि के होला भन्ने भयले म त्रसित थिएँ । थकित भएरजङ्गलमा आफूलाई जोगाउन म एउटा ठूलो रुखको आडमा लुकाउने प्रयास गर्न थालेँ । मेरो शरीरका अङ्ग अङ्ग दुखिरहेका थिए । लुगा पनि जताततै च्यातिएका थिए । अँध्यारोले केही देख्न नसके पनि हात, निधार, टाउको, घुँडा, पिठ्युँ जताततैबाट रगत निस्केको अनुभव भइरहेको थियो । थकित भएर म त्यही बसेँ । आफू दौडिँदा बेला बेलामा टाढाबाट कोही बोलेको जस्तो सुनिन्थ्यो । सायद उनीहरू होलान् भनेर म झन् वेगसाथ दौडिँदै गएँ । तर ठूलो रुखमा आएपछि टाढाबाट कतै, कुनै प्रकारको आवाज सुनिनँ र उनीहरूलाई छल्न सफल भएजस्तो लाग्यो । म त्यही रुखमा बसेर बिहानी कुर्न थालेँ । दुखाइले असह्य हुनेगरी शरीर पोलिरहेको थियो । बिहान भएपछि बिस्तारै बाटो खोज्दै टाढा देखिएको घरमा पुगेँ । मैले सबै कुरा विस्तार लगाएपछि फोनबाट आमालाई खबर गरेर ठेगाना दिएँ । केही समयपछि एम्बुलेन्सले मलाई यहाँ लिएर आयो ।

महिलाको बयान लिएपछि प्रहरीले ट्याक्सी नम्बर, मोटरको विवरण, त्यसको रङ्गबारे सोध्दा आफूलाई थाहा नभएको भनेपछि दुई जना अपहरणकारीको हुलिया र ट्याक्सीभित्र भएको कुनै विशेष चिन्ह अनि महिलाको मोबाइल नम्बर लिएर केही परे फेरि सोधपुछ गर्न सम्पर्क गरौँला भनेर दुवै प्रहरी निस्कन्छन् ।

प्रहरी निस्केको देखेपछि महिलासँग बिहे गर्न पक्का भएको किशोर प्रहरीलाई महिलाबारे के भएको रहेछ ? कुनै नराम्रो त भएको छैन ? भनेर सोध्दा प्रहरीले सब ठीक छ भनेर जान्छन् । त्यसपछि किशोर कोठाभित्र आएर महिलातिर हेर्दै सोध्न थाल्छ– प्रहरीले सोध्दै थिए, रातभरि अपहरण गरेर कुनै यौन दुव्र्यहार ग¥यो कि भनेर ? तिमीले के भन्यौँ ?

किशोरको कुरा सुन्नासाथ महिला एकटक लगाएर उसलाई हेर्न थाल्छिन् र आवेगमा आएर सोध्छिन् ः यो प्रश्न प्रहरीको हो कि तिम्रो ? तिमी रातभरि हराएकीले त्यस्तो केही भयो कि भनेर बुझ्न खोजेको मात्र हो भन्दै किशोर स्पष्टीकरण दिन खोज्छ ।
किशोरको कुरा सुन्नासाथ महिला आवेगमा आएर ओच्छ्यानबाट उठ्छे र आफ्नो औँलाबाट स्वयंवरको औँठी झिकेर किशोरतिर फाल्दै कराउन थाल्छिन्– गेट आउट, तिमीलाई ममाथि विश्वास नै नरहेपछि विवाह कसरी गर्ने ? सँगै कसरी बस्ने ? ममाथि त्यस्तो घटना भएपछि सान्त्वना दिनुको साटो तिमीलाई नै शङ्का लाग्छ भने हामी कसरी जीवन बिताउने । मैले ममाथि त्यस्तो केही दुव्र्यवहार भएको छैन भनेर सबै कुरा तिमीलाई भनिसकेपछि त्यही कुरा किन बारम्बार निकाल्छौ । धन्न यो घटनाले मेरो आँखा खोलिदियो । विवाहको नाममा मेरो जीवन दुर्घटना हुनबाट जोगियो । ममाथि विश्वासै नरहे बिहे किन गर्ने भन्दै फेरि कराएर गेट आउट फ्रम माई लाइफ भन्दै महिला ओच्छ्यानमा गएर ब्ल्याङ्केटले मुख छोपेर पल्टिन्छे ।

 

मधुपर्क, असोज २०७८

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?