logo
२०७८ असोज ३ आईतवार

दैनिक अध्यावधिक

image
656

सङ्क्रमित

image
1413

निको भएका

image
12

मृत्यु भएका

मिति:आश्विन ३, २०७८ (१६:२०)
स्राेत:https://covid19.mohp.gov.np/



विविध विषयमाथिको बौद्धिक चिन्तन

कला |
शनिवार |


विविध विषयमाथिको बौद्धिक चिन्तन


शिवप्रसाद भट्टराई

झण्डै चार दशक अघिदेखि सर्वोच्च अदालत अन्तर्गत विभिन्न दायित्वमा रही कानुन व्यवसायीको रूपमा आफ्नो सेवा अर्पण गर्दै आएका सुपरिचित व्यक्तित्व हुनुहुन्छ– वरिष्ठ अधिवक्ता जुक्तिजङ्ग लामिछाने । यसका अतिरिक्त अध्यापन, लेखन, राजनीति र सामाजिक अभियन्ता आदि विविध क्षेत्रमा पनि उहाँले आफ्नोतर्पmबाट सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ । विशेष गरी अध्यात्म दर्शनप्रति बढी झुकाव राख्दै जीवन र जगत्का विविध विषयका सम्बन्धमा गहन विश्लेषण उहाँले गर्दै आउनुभएको छ । यसक्रममा जीवनलाई आत्मानन्द प्राप्त गर्ने मार्गमा कसरी अग्रसर गराउने भन्ने आफ्ना अनुभव र अनुभूतिहरू समावेश गरिएको उहाँको ‘उषाका लालिमा’ शीर्षकको कविता सङ्ग्रह हालै प्रकाशमा आएको छ । यसरी मूल रूपमा यो कविता सङ्ग्रह अध्यात्म विषयसम्बन्धी बौद्धिक चिन्तनको रूपमा देखापर्दछ भने स्वधर्मप्रतिको विशेष अनुराग, देशप्रेम, हाम्रो मौलिक संस्कृति, सभ्यता र यसको विशिष्टताप्रति विशेष आस्था, आफ्नो देशको गौरवशाली इतिहासप्रतिको गर्व र गौरव, प्रकृति चित्रण आदि पक्ष पनि कविताको मूलभूत विषय बनेर यसभित्र उपस्थित हुनपुगेको पाइन्छ ।

विसं २०७२ साल वैशाख १ गतेदेखि चैत ३० गतेसम्मका प्रत्येक बिहान नियमित र अविरल रूपमा लेखिएका छोटा–छोटा कविताहरूको सँगालो हो– ‘उषाको लालिमा’ । यसले लेखकको साहित्य रचनाप्रतिको आकर्षण र मोह, उहाँभित्रको प्रतिभा र कवित्वशक्ति, लेखनप्रतिको लगनशीलता, उहाँभित्र अन्तर्निहित दार्शनिक चेतना–चिन्तन, अध्यात्मप्रतिको विशेष अनुराग आदि पक्षको राम्रो चिनारी दिन सकेको छ । कवितालाई सरसर्ती हेर्दा वा पढ्दा मात्र तिनले कसैलाई पनि आकर्षित गर्न नसक्ने जस्तो देखिन्छ तर कविताहरूलाई गहिरिएर पटक–पटक पढ्दा र यसभित्र डुब्दा अनि शब्दहरूले सञ्चार गर्न सकेका अनुभव र अनुभूतिमा आधारित विविध किसिमका वैचारिक सन्देश र भाव पक्षलाई पनि मनन गर्दा यसले पाठकका हृदयलाई राम्ररी स्पर्श गर्नसक्ने सामथ्र्य बोक्न सकेको छ । सत्य, न्याय, धर्म अनि निष्काम कर्म र भक्तिप्रति मानिसले विशेष अनुराग राख्नुपर्ने पक्षमा कविताहरूले विशेष जोड दिएका छन् ।

यो कविताकृति ‘गणपति–वन्दना’ शीर्षकको कविताबाट आरम्भ गरिएको छ । मानिसले क्रोध, लोभ, मोहको परित्याग गर्नुपर्छ र राष्ट्र राष्ट्रियता र मानवीय विवेकलाई कहिल्यै पनि बिर्सनुहुँदैन भन्ने सत्यको उद्बोधन ‘जन्मको विस्मरण’ शीर्षकको कवितामा गरिएको छ । ‘सत्–असत्’, ‘मान्छे र मृत्यु’, ‘जीवन–गति’, ‘ईश्वर–प्रणिधान’, ‘ब्रह्मानन्द’, ‘नश्वरता’, ‘अनित्य संसार’, ‘पूर्णानन्द’, ‘मीराको विषपान’, ‘भगवान्को अर्थ’ आदि अनेकौँ कविता अध्यात्म–अवस्थित कविताका रूपमा देखापर्छन् । यिनले आत्मा–परमात्मा अनि जीवन र जगत् आदि विविध विषय र सन्दर्भमाथि प्रकाश पार्ने आफ्नै किसिमको जमर्को गरेका छन् । यस अन्तर्गत ‘रसो वै सः’ शीर्षकको कविता अति उत्कृष्ट कविताको रूपमा देखापर्छ । कविताहरू अत्यन्त सरल, सहज र स्पष्ट छन् । कविताहरूमा खासगरी लेखकका अध्यात्मसम्बन्धी विचार राम्ररी परिभाषित हुन पुगेका छन् । ‘निरहङ्कार’ शीर्षकको कवितामा उहाँ लेख्नुहुन्छ–

विवेक बुद्धिले हिँड्नु बुझी सार असार यो
तत्वको बोधले मात्र परम गति मिल्छ जो ।
त्यस्तै ‘स्वधर्म’ शीर्षकको कवितामा उहाँ लेख्नुहुन्छ–
विद्याबुद्धि, ज्ञान, तप, जप सबै गरी
उन्मुक्तिको मार्ग खोजौँ आफ्नै धर्म–धरी ।
मानिस आफैँमा आत्मस्वरूप हो, जो सनातन, सर्वव्यापक र शक्तिमान छ । यो यथार्थमा मानिसले गहिरोसँग चिन्तन गर्नुपर्छ । यसका लागि आपूmले आपैmँलाई चिन्नुपर्छ । आफैँलाई चिन्न बाहिर होइन आफैँभित्रको रहस्यलाई बुझ्न सक्नुपर्छ, आफैँभित्र हेर्नुपर्छ । ‘परम पद’ शीर्षकको कविताले यही तथ्यमाथि प्रकाश पारेको छ । यो कविता यसरी बोलेको पनि छ–
आत्मा आफैँ परमेश्वर परमात्मा आफैँ
आपूmभित्र खोजी गरे पूर्ण हुन्छ सापैm ।
यसरी जुक्तिजङ्ग लामिछानेको ‘उषाको लालिमा’ शीर्षकको यो कविता सङ्ग्रहभित्र सङ्ग्रहित प्रायजसो कविताले अध्यात्म चिन्तनसम्बन्धी विविध यथार्थमाथि गहन प्रकाश पारेका छन् र यस क्रममा अनेकौँ पौराणिक प्रसङ्ग पनि यसभित्र जोडिएका छन् ।
राष्ट्रप्रेम यो कविता सङ्ग्रहको अर्को विशेषताको रूपमा देखापर्छ । यस अन्तर्गत ‘पवित्र इच्छा’, ‘मातृभूमिको सम्झना’, ‘देशका लागि प्राणदान’, ‘राष्ट्रिय एकता’, ‘स्वर्गभूमि नेपाल’, ‘स्वदेश महिमा’ आदि शीर्षकको कविता यस कोटिका कविताका रूपमा देखापरेका छन् । ‘मातृभूमिमा समर्पण’ शीर्षकको देशप्रेमले भरिएको कवितामा उहाँ लेख्नुहुन्छ –

जन्मेका हामी हौँ वीर देशकै लागि मर्नमा
हामी सङ्कोच गर्दैनौँ प्राण यो त्याग गर्नमा ।
त्यस्तै ‘हरिबोधनी’, ‘लक्ष्मी–कीर्तन’, ‘भाइटीका’, ‘छठ पर्व’, ‘गुरुपूर्णिमा’, ‘इन्द्रजात्रा’ आदि शीर्षकका कविताले हाम्रो संस्कृति र सभ्यतामा आधारित मूल्य, मान्यता र यसका विशिष्टतामाथि महŒवपूर्ण प्रकाश पारेका छन् । ‘राष्ट्रिय एकता (पृथ्वीजयन्ती)’,
‘शहीदको बलिदान’, ‘शहीद सदिच्छा’, ‘राष्ट्रिय गीत’, ‘स्वर्गभूमि नेपाल’, ‘देशभक्तिमा ज्ञान र वीरता’,
‘धर्तीपुत्रका पाइलाहरू’ आदि शीर्षकका कविताहरू हाम्रा अविस्मरणीय गौरवशाली इतिहासप्रति परिलक्ष्यित छन् ।

‘उषाको लालिमा’ शीर्षकको यो कविता सङ्ग्रहमा प्रकृतिको रमणीय वर्णन पनि पाइन्छ । ‘नेपाल महिमा’, ‘प्रकृतिको प्रबलता’, ‘नेपालको रूप’, ‘स्वर्गपुरी नेपाल’ आदि अनेकौँ कविता यसका साक्ष्य उदाहरण बनेका छन् । प्रकृति चित्रण अन्तर्गतकै ‘डाँफे झरेछ’ शीर्षकको कवितामा प्रकृतिको अत्यधिक दोहन अनि बाढी र पहिरोका कारण नेपालको मनोरम प्राकृतिक सुन्दरता नै दिन–प्रतिदिन विनासिन पुगेकोमा दुःख प्रकट गर्दै उहाँ लेख्नुहुन्छ–
वन, जङ्गल, पहाड र हिमाल, बेँसी फाँट
उजाड छन् सबैतिर खण्डहरको छाँट ।
बास छैन, गाँस छैन ठाउँ छैन हेर्ने
सङ्कट र वेदनामै अब सबै मर्ने ।।
कविता सङ्ग्रहभित्र माथि वर्णन गरिएका विषयवस्तुका अतिरिक्त अन्य अनेकौँ विषय पनि समाहित छन् । प्रत्येक शीर्षकको कवितामा लेखकले कतै न कतै अध्यात्मसम्बन्धी छाप छोड्नुभएको छ । यसमा सङ्ग्रहित कविताका केही ठाउँमा देखापर्ने हिज्जेसम्बन्धी सामान्य त्रुटि र छन्दभङ्गतालाई भन्दा बढी यसको भावपक्षमाथि गहन ध्यान दिई कविताहरूको अध्ययन गर्ने हो भने यसले विविध क्षेत्रमा आफ्नो वैचारिक छाप छोड्ने राम्रो सामथ्र्य बोक्न सकेको पाइन्छ । यही नै यो कविता सङ्ग्रहको विशेषता र प्राप्ति पनि बनेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?