logo
२०८० चैत्र १५ बिहीवार



स्वास्थ्य एकाइ बन्द हुँदा बिरामी मर्कामा

प्रदेश |


स्वास्थ्य एकाइ बन्द हुँदा बिरामी मर्कामा


हुम्ला समाचारदाता

हुम्ला, साउन १८ गते । जनताको घरघरमै स्वास्थ्य सेवा पु¥याउने लक्ष्यका साथ दुई वर्षयता स्थापना हुँदै आएका सामुदायिक स्वास्थ्य इकाइहरू बन्द भएका छन् । चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रममा प्रदेश सरकारले यो कार्यक्रमका लागि बजेटको व्यवस्था नगरेका कारण साउन १ गतेबाट ती इकाइहरू बन्द भएका हुन् ।
खार्पुनाथ गाउँपालिका–५, ताक्लागाउँकी सुपुरी नेपालीले भएको स्वास्थ्य संस्था बन्द हुँदा बिरामी मर्कामा परेको बताउनुभयो । उहाँले घर आँगनमै उपचार गर्न पाएको बेला एक्कासी साउन महिनायता इकाइ बन्द हुँदा बिरामीले एक घण्टा पैदल हिँडेरै उपचार गर्नुपरिरहेको गुनासो गर्नुभयो ।  गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलका अनुसार गाउँपालिकाभरि छवटा सामुदायिक आधारभूत स्वास्थ्य इकाइ बन्द गर्नुपरेको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्म प्रदेश सरकारले बजेटको व्यवस्था गर्दा इकाइ सञ्चालन भए पनि चालू आर्थिक वर्षको यो कार्यक्रम नै नराखेका कारण इकाइ बन्द गर्नुको विकल्प नरहेको बताउनुभयो ।
बिरामीलाई उपचारमा कठिनाइ भएकोमा दुःखी तुल्याएको भन्दै उहाँले प्रदेश सरकारको नीति नै बुझ्न कठिन भएको टिप्पणी गर्नुभयो । यो वर्ष कार्यक्रम नै नआएपछि चारवटा इकाइ बन्द गर्नुपरेको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिनुभयो ।
यद्यपि गाउँपालिकाले थप दुईवटा इकाइको भौतिक संरचना निर्माणका लागि बजेटको व्यवस्था गरेको छ । उहाँले इकाइ बन्द हुँदा स्थानीय सेवाग्राही र जनप्रतिनिधि पुनस्र्थापनाका लागि गाउँपालिकामा डेलिगेसनसमेत आएको बताउनुभयो । यो अवस्था नाम्खा गाउँपालिकामा पनि रहेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले चारवटा इकाइ बन्द गर्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो ।
उहाँले स्थापना भएर बिरामीको उपचारका लागि राम्रो सेवा प्रदान गर्दै आएका यी स्वास्थ्य संस्थाको लागि पुनः बजेटसहितको कार्यक्रम ल्याउन माग गर्नुभयो । स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहका अनुसार सातवटै गाउँपालिकाका २३ वटा इकाइ बन्द रहेको बताउनुभयो । उहाँले बजेट तथा कार्यक्रम प्रदेश सरकारबाट यस आर्थिक वर्षका लागि नआएपछि इकाइ बन्द भएको जानकारी दिनुभयो । यी प्रत्येक स्वास्थ्य इकाइमा तीन /तीन जना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?