logo
२०८१ बैशाख ६ बिहीवार



बान्की मिलेका रचना

कला |
शनिवार |


बान्की मिलेका रचना


सीताराम उप्रेती


हरि अधिकारी नेपाली साहित्यमा सुपरिचित नाम हो । बीसको दशकको अन्तदेखि नै नेपाली साहित्यको कविता विधामा अधिकारीले कलम चलाउन थालिसक्नुभएको थियो । साहित्यका कविता, आख्यान र निबन्ध विधामा उहाँ सफल हुनुहुन्छ । उहाँको अर्को पाटो पत्रकारिता पनि हो । समसामयिक राजनीतिक र अन्य विषयहरूको विश्लेषण खरो र दरो रूपमा राख्ने क्षमता अधिकारीमा रहेको हामी पाउन सक्छौँ ।
विसं. २०७७, फागुनमा प्रकाशित उहाँको ‘सङ्कलित गद्यरचना’ भित्र बाइस थान प्रबन्ध–निबन्धहरू छन् । यिनमा कुनै रचना नियात्राजस्ता छन् । अनि कुनै रचना आफ्नै देश नेपालको सरहद भित्रका छन् भने कुनै अकस्मात् जुरेको युरोपेली मुलुक पोर्चुुगलको राजधानी लिज्बन भ्रमणको छ । लिज्बन भ्रमणमा उहाँले आफ्नो देशलाई कसरी प्रतिनिधित्व गराउनु भयो भन्ने कुराको राम्रो वर्णन छ । अझ अन्त्यमा पोर्चुगिज कवि फ्रेडिको पेसोआ र चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डामुनि सतर्क मुद्रामा उभिएर फौजी राष्ट्रिय गानको धुनमा लिएको सलामीका सन्दर्भले निबन्ध झन् चोटिलो बन्न पुगेको छ ।
दाङमा भएको साहित्यिक कार्यक्रमको छेको पारेर माओवादीको एक समयको आधार इलाका रहेको रोल्पाको दहवन पुग्दा समायोजन र व्यवस्थापन पर्खेर क्यान्टोनमेन्टमा बसेका लडाकूहरूको मानसिक असरका अन्तरकुन्तरलाई समेट्ने काम पनि यसभित्रका रचनामा पाइन्छ । अनि विश्वव्यपी रूपमा फैलिरहेको कोरोना महामारीमा आफू बसिरहेको ठाउँ अमेरिका र जन्मभूमि नेपालले अपनाउनु पर्ने सावधानीका विषयले पनि निबन्धलाई थप उचाइमा पु¥याउने काम गरेको छ ।
कृतिका धेरैजसो निबन्ध व्यक्तिसँग केन्द्रित छन् । बलबहादुर पाँडे, भैरव अर्याल, बी.पी.कोइराला, सूर्यप्रसाद उपाध्याय, मोहनविक्रम सिंह, गणेशमान सिंह, नारायणबहादुर सिंह, मोहन कोइराला, राहत इन्दौरी, सुभद्रा अधिकारी, कृष्णप्रसाद भटराई जस्ता पात्रहरूलाई केन्द्र बिन्दुमा राखेर रचना गरिएका निबन्ध–प्रबन्धहरूले नेपालको राजनीतिक इतिहासको एउटा कालखण्डलाई प्रतिनिधित्व गरेको छ । गणेशमान सिंहको जेल जीवन र उनले जेलमा रहेका अर्का राजबन्दीलाई गरेको मानवीय सहयोगजस्ता कुरा मर्मस्पर्शी रूपमा आएका छन् । सर्वसाधारण व्यक्तिले देखेका गणेशमान सिंह र व्यावहारिक गणेशमानको मानवीयता अतुलनीय देखिन्छ । त्यस्तै, सुन्दरीजल जेलमा रहँदा कृष्णप्रसाद भट्टराई कतिकोदूरदर्शी राजनेता रहेछन् भन्ने कुरा भट्टराईले लेखेका डायरीहरूमाथि अध्ययन गर्दा प्रष्ट हुन्छ । भट्टराईले आजको राजनीतिक अवस्थालाई २०१५ सालमा नै कल्पना गरिसकेको कुराले पाठकहरूलाई अत्यधिक सन्तुष्टि दिलाउन सफल भएको छ ।
साहित्यकारका रूपमा बीपी कोइरालाको २०३८ साल माघ १६ गते वसन्त पञ्चमीका दिन साहित्यिक पत्रकार सङ्घद्वारा काठमाडौँमा गरिएको साहित्यिक अभिनन्दनमा भोग्नु परेका अप्ठ्याराहरू, तत्कालीन काठमाडाँै नगरपञ्चायतले हुआँ कार्लोसको अभिनन्दनजस्ता काम गर्दा त्यस समयको निर्दलीय पञ्चायती शासन व्यवस्थाको कार्यशैलीको झल्को देख्न सकिन्छ । सूर्यप्रसाद उपाध्यायको प्रसङ्ग र नेपाली काँग्रेसको बीचमा भएका आपसी द्वन्द्वको वास्तविकता के थियो ? २०४५ सालतिर भूमिगत रूपमा रहेका मोहनबिक्रम सिंहसँग पत्रकारका रूपमा गरेको भलाकुसारी, गणेशमान सिंहसँगको अन्तिम भेट, उनको शारीरिक अवस्था र त्यस समयमा नेपाली काँग्रेसको राजनीतिमा देखिएको चरम असन्तुष्टिजस्ता अनुभूतिजन्य कुरा निबन्धभित्र समेटिएका छन् ।
त्यसैगरी, नेपाली साहित्यमा बीसको दशकदेखि नै अत्यन्त सक्रिय रहेका हाँस्यव्यङ्ग्य शिल्पी भैरव अर्याल र उनको असामयिक मृत्यु, गोरखापत्रमा काम गर्ने भैरव अर्यालको कामको शैली, उनको आर्थिक अवस्थाजस्ता कुरा, नारायणबहादुर सिंह र मधुपर्क ः केही सम्झना, सरल मानिस र जटिल कवि मोहन कोइरालाप्रतिको उहाँको ठम्याइ र भेट अनि परिचय, सङ्गत र व्यवहारसम्मका कुरा, बनारस प्रवासमा देवकोटाले भोगेका कुरा व्यक्ति केन्द्रित पूर्ण साहित्यिक निबन्धहरू हुन् । यो कालखण्डका यी नेपाली साहित्यकारहरूले नेपाली साहित्यको विकासमा गरेका योगदान र तिनको सहभागितालाई राम्रो मूल्याङ्कन गर्न सफल हुनुभएको छ अधिकारी । त्यसैगरी कलाकार शुभद्रा अधिकारीको शब्द चित्र उतार्दा र वैश्विक महामारीको कारण निधन भएका भारतीय लोकप्रिय कवि राहत इन्दौरी, पाकिस्तानी उर्दू भाषाका प्रसिद्ध कवि फैज अहमद फैजद्वारा बयालीस वर्ष अघि लेखिएको कविताले भारतीय उपमहाद्वीपमा मच्चाएको तहल्का माथिको निबन्धकारको दृष्टिकोण पनि मनमोहक छ ।
काठमाडाँै, नेवाः खाजा घर र मेरो राज्य, मेरो प्रिय जन्मभूमि कुशादेवी बिहाबर, यो पोखरा त्यो पोखराजस्ता निबन्धहरूमा भने निबन्धकार आफ्नो जन्मभूमिप्रतिको अगाध माया र विश्वास प्रकट गर्नुहुन्छ । आफ्नो लामो कर्मथलोको रूपमा रहेको काठमाडौँ उपत्यका र सुरुमा कर्म गर्न पुगेको पोखरा उपत्यकाको वर्णन गर्न पनि उहाँ थाक्नुहुन्न ।
हिमालको कथा, एक नदीको कथाजस्ता निबन्धहरूमा कालीगण्डकीको दामोदर कुण्डदेखि देवघाटको सेरोफेरोसम्मको नदी सभ्यता र धार्मिक महŒवका महिमाहरूको चित्रण गरिएको छ । नेपालको उत्तरी क्षेत्रमा रहेका हिमशृङ्खला जो आठ हजार मिटरभन्दा बढी उचाइका छन्, जसको महŒव नेपालीले भन्दा विदेशीहरूले धेरै बुझेका छन् । बर्सेनि हिमाल चढ्न आउनेहरूको क्रम पनि बढिरहेको छ । यसले मुलुकलाई समृद्धितर्फ लैजाने आश गर्न सकिन्छ तर हामीले त्यसको समुचित विकासमा धेरै गर्न बाँकी छ । हिमालहरूको गाथालाई मिहिन ढङ्गले समेटेर विविध रूपमा यिनका उपयोगिताका चर्चा गतिमय ढङ्गले निबन्धमा गरिएको छ ।
समग्रमा ‘सङ्कलित गद्यरचना’ भित्रका निबन्धहरूले नेपाली समाजको अनुहारलाई प्रष्टसँग देखाउन सफल भएका छन् । निबन्ध लेख्ने क्रममा विषय र प्रसङ्गहरू कतैकतै भने सामान्य रूपले दोहोरिन पुगेका छन् । यी निबन्ध–प्रबन्धहरू उत्कृष्ट नेपाली गद्यको बान्की प्रस्तुत गर्न सफल भएका छन् । प्रतिभाशली लेखक अधिकारीको यो ‘सङ्कलित गद्यरचना’ले नेपाली गद्य साहित्यको भण्डारमा समृद्धिको इँटा थप्ने काम अवश्य नै गरेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?