logo
२०८१ बैशाख १२ बुधवार



भानु र घाँसीलाई एकदिनमात्रै सम्झिएको गुनासो

कला |


भानु र घाँसीलाई एकदिनमात्रै सम्झिएको गुनासो



अमरराज नहर्की
तनहुँ, असार २९ गते । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्य र उहाँलाई कविता लेख्न प्रेरणा दिने घाँसीलाई एकदिन मात्रै सम्झिएर नहुने कुरामा जोड दिइएको छ । भानुभक्तलाई आदिकवि बनाउने प्रेरणास्थल व्यास नगरपालिका–१२ घाँसीकुवामा २०८ औं भानु जयन्ती एवं घाँसी स्मृति दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा सो कुरामा जोड दिइएको हो ।
कार्यक्रमको संविधानसभा सदस्य रामचन्द्र पोखरेलले असार २९ गते मात्रै सम्झिने हो भने भानुको कृतित्व र व्यक्तित्व ओझेलमा पर्दै जाने बताउनुभयो । भारतको दार्जलिङमा पुग्दा भानुप्रति धेरै स्नेह र बारम्बार सझिएर विभिन्न कार्यक्रम हुँदै आएको पाएको स्मरण गर्दै उहाँले त्यहाँको जति सम्मान नेपालमा हुन नसकेको बताउनुभयो ।
कार्यक्रममा वक्ताहरुले पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार हुने क्रममा कुवा रहेको स्थान र पार्कमा सडक पुग्ने भएकाले जोखिममा रहेकाले संरक्षण गर्न चासो दिनुपर्नेमा जोड दिनुभएको थियो । व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले पृथ्वी राजमार्ग फराकिलो बन्ने क्रममा हाल कुवा रहेको स्थान, भानु र घाँसीको प्रतिमा रहेको स्थानसम्म सडक आउने भएकाले घाँसीकुवाको पहिचान र भानुको कृतित्वको सम्मान गर्न सोही ठाउँआसपासमा निकुञ्ज बनाउने कार्य अघि बढी सकेको बताउनु भएको थियो । व्यास नगरपालिकाका प्रथम नगरप्रमुख ताराप्रसाद श्रेष्ठले हिजो गरेको कार्य मिलेन भन्नु भन्दा पनि भएको कामलाई सुधार गर्दै स्थापित गर्दै जानु जरुरी रहेको बताउनुभयो । व्यास नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष तोत्र कुँवरले घाँसीकुवा पहिचान मेट्न नहुने भएकोले सोही स्थानमा कुवा बनाउन उपयुक्त हुने बताउनुभएको थियो ।
कार्यक्रममा स्थानीय साहित्यकारहरु प्रेमप्रकाश भट्टराई श्रीराम कार्की, शंकरराज नहर्की नहर्की लगायतले कविता वाचन गर्नु भएको थियो । कार्यक्रम भानु घाँसी स्मारक पार्क संरक्षण समिति, लायन्स क्लब अफ तनहुँ भानुभक्तको सयुक्त आयोजनामा कार्यक्रम गरिएको थियो । कार्यक्रम संरक्षण समितिका अध्यक्ष तिर्थराज भट्टराईको अध्यक्षमा भएको थियो । कार्यक्रममा उपाध्यक्ष भरतराज नहर्की, सचिव अमृत पन्थ, स्थानीय सिता कैनी लगायतले घाँसीकुवाको अस्तित्वको रक्षाको लागि सबैजना एकजुट भएर पहलकदमी गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
वि.स.ं १८७१ असार २९ गते भानु नगरपालिका–४ चुँदीरम्घामा जन्मिनु भएका भानुभक्त आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । भानुभक्तद्धारा लिखित रामायण सबैभन्दा लोकप्रिय कृति हो । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका कृति लेखेका छन् भने उनका पाण्डुलिपिलाई सङग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि प्रख्यात हुनु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?