logo
२०७८ असार ७ सोमवार

दैनिक अध्यावधिक

image
1421

सङ्क्रमित

image
3456

निको भएका

image
51

मृत्यु भएका

मिति:असार ६, २०७८ (१७:३२)
स्राेत:https://covid19.mohp.gov.np/



स्रष्टासप्तको ‘सम्झनामा रुस’

कला |
शनिवार |


स्रष्टासप्तको ‘सम्झनामा रुस’


निर्मलकुमार आचार्य


म यी आह्लादकारी दिनहरू कहिल्यै बिर्सन सक्तिनँ, जतिखेर तारामण्डलतिर सोभियत अन्तरिक्षयान ‘भस्तोक–५’ र ‘भस्तोक–६’ को प्रक्षेपण भयो ।
रुस महादेश पुश्किन, तल्स्तोय, चेखोभ, दोस्तोएभ्स्की, तुर्गनेभ, गोर्कीजस्ता विश्वविख्यात साहित्यकारहरू मात्र नभई च्याइकोभस्की, शस्ताकोभिच, प्रोकोफियभ्जस्ता सङ्गीत रचनाकारहरूको पनि भूमि भएको थाहा पाउँदा मलाई खुसी लाग्यो ।
आँखाको भाषा मनहरूले राम्ररी बुझेका रहेछन् र त्यो भावना एक अर्कोलाई प्रकट गर्न अब हामी ओठको भाषामा पुग्यौँ ।
म एक्लै फलैंँचामा बसेर श्रद्धापूर्वक लेस्या उक्राइन्काको सुन्दर सालिक हेरिरहेको थिएँ, एउटी महिला छेवैमा आएर ‘जद्रास्तभुइचे’ (नमस्कार) भनिन् ।
गोर्वाचोभले सन् १९८५ मा सुरु गरेको पेरेस्त्रोइका र ग्लास्तनोस्तपछि सबै सङ्घीय गणराज्य सोभियत सङ्घबाट छुट्टिएर आआफ्नो अलग पहिचानसहित स्वतन्त्र राज्य बन्न लागेको सङ्क्रमणकाल थियो त्यो ।
खार्कोभ मेडिकल इन्स्टिच्युटमा नेपालीहरूले पढाइमा साँच्चै नै विशिष्ट स्थान बनाएका थिए ।
अहिले पनि मेरा आँखा अगाडि अनन्त समुद्रका शृङ्खलाहरू आउँछन्–जान्छन्, आउँछन्–जान्छन् ।
माथिका यी अंश ‘सम्झनामा रुस’ कृतिबाट लिइएका हुन् । शीर्षकले नै प्रष्ट पारेको छ– यो संस्मरणात्मक प्रस्तुति हो । यसमा सात जना लेखकका रचना सङ्कलित छन् । लेखकपिच्छे तीन/तीनका हिसाबले कुल २१ वटा रचना रहेका छन् ।
पूर्वसोभियत सङ्घ तथा वर्तमान रूसको भूमिमा उच्चशिक्षा हासिल गरी आ–आफ्नो क्षेत्रमा विशिष्ट भूमिका निर्वाह गर्न सफल कृष्णप्रकाश श्रेष्ठ, कन्हैया नासननी, चन्द्रकान्त आचार्य, प्रा.डा. जङ्गब चौहान, जीवा लामिछाने, डा. प्रकाशराज रेग्मी र विष्णुबहादुर सिंहका सम्झनाका तरेली यसमा सँगेलिएका छन् ।
स्रस्टासप्तको ‘सम्झनामा रूस’ अनेक अर्थमा महत्त्वपूर्ण कृति बनेको छ । नेपाल र पूर्व सोभियत सङ्घबीच सन् १९५६ जुलाई २० (वि.सं. २०१३ साउन ५) मा दौत्य सम्बन्ध गाँसिएको हो भने सोभियत सङ्घ विघटन भएपछि स्थापित रूसी महासङ्घसँग पनि उही दौत्य सम्बन्धले निरन्तरता पाएको छ । राज्य तहबाहेक जनस्तरमा पनि सम्बन्ध विकासका दिशामा अनेक काम भएका छन् । नेपाली विद्यार्थी रूसमा उच्च शिक्षाका लागि पहिलो पटक सन् १९५८ मा गएका हुन् र यो सिलसिला जारी छ । भूमिकामा उल्लेख भए अनुसार हालसम्म सात हजारभन्दा बढी नेपालीले त्यहाँ उच्चशिक्षा प्राप्त गरेका छन् ।
पूर्वसोभियत सङ्घ/रुसबाट नेपाली विद्यार्थीलाई उपलब्ध गराइएको उच्चशिक्षाको अवसर, सोभियत भूमिमा विद्यार्थीले गरेका स्वादिला, रसिला, भरिला र कसिला अनुभव, नेपालप्रति राखिएका सद्भाव, आत्मीयता अनि सहयोगका भावना, नेपाली भाषा, साहित्यप्रति देखाइएको अनुराग र नेपालीबाट रुसी साहित्यका क्षेत्रमा भएका क्रियाशीलताको झलक यस कृतिमा पाउन सकिन्छ ।
आफ्ना रचना रुसी कवयित्रीले मृदुल लयमा वाचन गर्दाखेरि भएको आह्लादकारी प्रसङ्ग त आफ्नो ठाउँमा छँदैछ, त्यही अनुवाद सिर्जनामा मूल स्रष्टाका कतिपय नखुलेका आयामसमेत देख्न सकिने अनुभूति अर्को पाटो बनेको छ, लेखककै भनाइमा– ‘‘वास्तवमा अनुवाद सिर्जना पुनरूत्पादन नै हुनुपर्ने रहेछ, यान्त्रिक रूपान्तरण होइन ।’’
ज्ञान, विज्ञान र प्रविधिका क्षेत्रमा भएका उताका आश्चर्यजनक प्रगतिको आकलनसहित २१ औँ शताब्दीमा समेत पछ्यौटेपनमा रहन विवश नेपालको दुर्दशाको कारुणिक दृश्यको तुलनात्मक चित्रण पनि गरिएको छ । राजनीतिक अस्थिरता, भ्रष्टाचार आदिले उँभो उठ्न नदिएको दागेस्तानको दृष्टान्त यतिखेर स्मरणीय बनेको छ । रुसमा भएको स्वास्थ्य सुविधा, निःशुल्क औषधोपचार र प्राकृतिक चिकित्सा केन्द्रको प्रभावकारिताको परिवेशमा नेपालको अवस्था सम्झिई लेखकको मन यसरी पिरोलिएको भेटिन्छ– ‘स्वास्थ्य सेवा सर्वसुलभ छैन । जनता गरिब छन्, उनीहरूको गाँसबासको ठेगान छैन, अनि कसरी औषधोपचारमा पैसा खर्च गर्न सकून् ? बरु रोगलाई दबाएर बस्छन्, तर अस्पताल जाँदैनन् । यो ती गरिबहरूको मात्र गल्ती होइन, राज्यको पनि हो ।’
‘सम्झनामा रुस’ मा सोभियत सङ्घको उत्थान, विघटन अनि परिवर्तित विविध आयाम पनि दर्शाइएका छन् । यस क्रममा कार्ल माक्र्स, एङ्गेल्स, भ्लादिमिर इल्यिच लेनिन, मिखाइल गोर्वाचोभ, भ्लादिमिर पुटिन आदि प्रसङ्गवश चर्चामा आएका छन् । साहित्यकार भनेपछि भुतुक्कै हुने रुसी भावनाको उच्च सम्मान गरिएको छ । राज्यबाट नै साहित्यकार, कलाकार आदिका स्मृतिमा सङ्ग्रहालय, पुस्तकालय आदि बनाइनु र तीर्थसरि यात्राका क्रम चल्नु, चलाइनुलाई सराहनीय मात्र होइन, अनुकरणीय मानिएको छ । मस्को, सान्तपितर वुर्ग, दागेस्तान, एलेत्स, बालाक्लाभा, याल्टा, फ्योदोसिया लगायत विभिन्न क्षेत्रका सङ्ग्रहालयलाई यस कृतिको आँखीझ्यालबाट चियाउन सकिन्छ ।
काठमाडौँ आउने रुसी मित्र होऊन् वा मस्को पुग्ने नेपाली स्नेहको अँगालोमा बाँधिने गरेका प्रसङ्ग पनि रहेका छन् । उतिबेलाका विद्यार्थी अहिले बाजे, बज्यैको उमेरमा पुगिसक्दा पनि उही सान्निध्य, उही पे्रम र उही आत्मीयता रहनुले वैशिष्ट्य झल्काएको छ । मस्कोबाट दागेस्तान घुम्न जाँदा होस्, वा रूसबाट युरोप यात्रा गरिँदा अथवा लेलिनग्रादबाट बाल्टिक सागर हुँदै क्युबासम्म गरिएको लामो साहसी समुद्रीय यात्रा नै किन नहोस्, यी सबै रचनामा पाठकको मन सजिलै खिच्नसक्ने चुम्बकत्व रहेको अनुभव गर्नसकिन्छ ।
रूसी भाषा, साहित्य, कला, सङ्गीत र जनजीवनको आलोकमा डुबुल्की मार्न स्रष्टासप्त सफल हुनुभएको उदाहरण प्रस्तुत रचनाहरूले दिएका छन् भने नेपाल र नेपाली भनेपछि भुतुक्कै हुने रुसी नागरिकका बोली, व्यवहार र कलमबाट जोकोही प्रभावित हुन्छ नै, अझ नेपालसम्बन्धी काव्य रचना गर्ने दागेस्तानी महाकवि रसुल हाम्जातोभजस्ता साहित्यकारका परिचयले कृतिको महत्ता बढाएको छ ।
जद्रास्तभुइचे (नमस्कार), ने तरपिस् (हतार नगर), उ नास् (हामीकहाँ), चाइका (हुरी चराहरू), लास्तोच्का (गौंथली), दाछा (तटीय आरामगृह), बालाक्लाभा (माछाको कुर), दस्बिदानिया (बिदा÷फेरि भेटौंँला), म्यासनाया बुलोच्का (मासु बेरेर बनाइएको रोटी), गु्रस्नीय ल्युदी लुब्यात् स्लाद्कस्त् (उदास मानिसलाई गुलियो मन पर्छ) आदि रुसी शब्द÷शब्दावलीको खिपाइले रचनाकारितामा प्रभावकारिता थपेका छन् । ‘स्काजी म्ने क्ते तभोइ दु्रग इ या स्काझु क्तो ती ?’ (तिम्रो साथी को हो मलाई भन अनि म भन्नेछु तिमी को हौ ?) अनुवादसहित रुसी उखानको बान्की दिइएको छ भने ‘आपुस्तेला बेज् चिब्या जेम्ल्या’ (रित्तो भयो तिमी विनाको यो भूमि) लोकप्रिय गीतको पङ्क्ति पनि छ । कतिपय रुसी रचनाका अनुवादसमेत राखिएका छन् । रोबेर्त रोझ्देस्तभेन्स्कीका कविताको एउटा छोटो अंश यस प्रकार छ–
‘यथार्थमा यो धेरै थोरै हो
सम्पूर्णतामा यो– केही पनि होइन
मानिसलाई थोरै भए पुग्छ ।
मात्र घरमा कोही पर्खिरहेको होस् ।’
आकर्षक कलेवरमा सुसज्जित कुल २६० पृष्ठ रहेको यस कृतिलाई ‘नेपाल–रुस मैत्री–दर्पण’ भन्दा फरक परोइन । नेपाली, रूसी तथा अङ्गे्रजीमा पनि भूमिका राखिएको यस कृतिका रचनाहरू अत्यन्त सरल, सहज र स्वाभाविक छन् । मूल्य ३५० रुपियाँ राखिएको छ । समग्रमा भन्नुपर्दा, नेपाल रुसी साहित्य समाज, काठमाडौँ, नेपालबाट प्रकाशित ‘सम्झनामा रुस’ पठनीय तथा सङ्ग्रहणीय कृति हो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?