logo
२०७८ असार ७ सोमवार

दैनिक अध्यावधिक

image
1421

सङ्क्रमित

image
3456

निको भएका

image
51

मृत्यु भएका

मिति:असार ६, २०७८ (१७:३२)
स्राेत:https://covid19.mohp.gov.np/



इतिहासको ‘दूध र पानी छुट्याउने’ उपकरण

कला |
शनिवार |


इतिहासको ‘दूध र पानी छुट्याउने’ उपकरण


केदार वाशिष्ठ

मार्टिन चौतारी प्रकाशक रहेको डा. महेशराज पन्तको पुस्तक ‘नेपाली इतिहासको परिवेश केही ऐतिहासिक र मसीजीवी’ २०७७ को अन्त्यतिर प्रकाशनमा आएको छ । राजधानी दैनिक पत्रिकामा त्यसअघि नै प्रकाशन भइसकेका २५ वटा लेखलाई ऐतिहासिक र मसीजीवीका आधारमा पुस्तकमा समेटिएको छ । अधिकांश लेख ऐतिहासिक व्यक्तिकेन्द्रित छन् तर पनि तिनले तत्कालीन परिवेशलाई पनि राम्ररी उजागर गर्छन् ।
‘शासकको तारिफ गरी कवि र लेखकहरूले भाटको चरित्र’ (पृष्ठ ८८) देखाउने गरेकाले नेपालको इतिहास लेखनको परिवेश नै विवादमा आउने गरेको हो । त्यसका लागि शासकहरूकै अग्रसरता र प्रायोजनमा लेखिएका इतिहासभन्दा भिन्न लेखन पनि हुने गरेका सामग्रीको चर्चा पुस्तकमा छ । शाहवंशमा राणाहरूको हालीमुहाली रहेका बेला ऐतिहासिक विषयवस्तुमा काव्यात्मक कलम चलाई शाहवंश–चरितम् लेखेका दिव्यदेव पन्तलाई जुवाडेका रूपमा मात्र प्रस्तुत गरिएको अवस्थामा उनलाई ग्रन्थकारका रूपमा चिनाउन ‘दिव्यदेव पन्त र उनको शाहवंशचरित’ शीर्षकको लेख लेख्नुपरेको (पृष्ठ ८३) जनाइएको छ । तर दिव्यदेव पन्त र उक्त पुस्तकको चर्चा इतिहासको सन्दर्भमा हुने गरेको छैन । यसै लेखले अर्को सन्दर्भलाई पनि जोड्छ ।
‘पर्सिभल ल्याण्डन र उनको नेपालको इतिहास’ शीर्षकको लेखमा राणा प्रधानमन्त्री चन्द्रशमशेरले कसरी आफ्नो प्रशंसामा इतिहासको जग हाल्ने काम गराएका थिए भन्ने उजागर छ । अङ्ग्रेजीमा आफूलाई प्रचार प्रसार गराउने चन्द्रशमशेरको योजनामा बेलायती पत्रकार र लेखक ल्यान्डनले केही आफ्नो स्वतन्त्रचेत पनि थपेर लेखेका कारण तत्कालीन अवस्थामा त्यो इतिहास रहे पनि अहिले ‘मूल अध्याय एक प्रकारले गतार्थ भइसकेका’ र ‘परिशिष्ट भने अझै उपयोगी’ (पृष्ठ ९७) छन् भनेर इतिहास काम नलाग्ने तर उपकरण भने धारिलै रहेको पुस्तकमा उल्लेख छ ।
यसै प्रसङ्गमा पुस्तकको अर्को लेख ‘विद्वत्छिरोमणि हेमराज पण्डित’ का नायक र लेखका विषय नबनाइएका अर्का व्यक्ति राममणि आदिबारे पनि उल्लेख छ । महेशराजका अनुसार चन्द्रशमशेरले सुरुमा हेमराज पण्डितलाई उक्त इतिहास लेख्न लगाएकोमा उनले नलेखेकाले राममणि आदीलाई जिम्मेवारी दिँदा उनले लेखेको इतिहासको प्रारम्भिक अङ्ग्रेजी अनुवाद टीएन राय भन्ने एक जना बङ्गाली शिक्षकले गरेका थिए । ल्यान्डनले त्यसैमा अरू सामग्री थपेर लेखेको चर्चा राममणिका बाबुलाई उल्लेख गरी दर्शाइएको छ ।
हेमराज पण्डितका सम्बन्धमा भने उनले ‘चन्द्रिका व्याकरण’ मार्फत भाषा र विद्या अध्ययनको क्षेत्रबाट चन्द्रशमशेरलाई रिझाएको र ‘अरू हित पाण्डित्य नभए पनि आफूभन्दा अघिकाले नगरेका विद्यासम्बन्धी काम सम्पन्न’ गरेकोमा भने शङ्का नगरिएको निष्कर्ष छ । चन्द्रिका व्याकरणको नियम भने हेमराज आफँैले प्रयोग नगरेको र अङ्ग्रेजीकरण गरिएको भनी चन्द्रिकापछिको हेमराजकै डायरीका अंश उल्लेख गरिएको छ (पृष्ठ १०६) ।
हेमराजकै प्रसङ्गसहित ‘इतिहास शिरोमणि बाबुराम आचार्य’ शीर्षकको लेख छ । वीरेन्द्रकेशरी अज्र्याल, जयपृथ्वीबहादुर सिंह र हेमराज पण्डितसँगको सङ्गतले बाबुराममा ‘परम्परागत पण्डितहरूमा नपाइने दुर्लभ खालको चेतनाको विकास’ भएको जनाइएको छ । उनका ‘लेखमा हतपति नपाइने भुवनकोष अर्थात् भूगोलको भित्तामा इतिहासलाई उभ्याउने काम’ भएको तर उनका इतिहासका ‘सबै वाक्य भने प्रमाणकोटिमा नचढ्ने’ पनि मूल्याङ्कन छ (पृष्ठ १०८–१०९) । बाबुराम आचार्य र संशोधन मण्डलका संस्थापक नयराज पन्तबीच यस्तै कुरामा सैद्धान्तिक मतभेद रहेको (पृष्ठ १११) भए पनि बाबुरामको ‘खास अवदान आफ्नो देशको इतिहासको खोजी गर्न हामी आफै समर्थ छौँ’ भन्ने भावना पछिल्लो पुस्ताका अन्वेषकमा जगाइदिनु रहेको (पृष्ठ ११४) उल्लेख छ ।
नवअन्वेषकहरूको उन्मेषका लागि नेपालको इतिहास लेखनका फ्रान्सेली विद्वान् ‘सिल्विं लेवि र नेपालको इतिहासको खोजी’ शीर्षकको लेख प्रासङ्गिक लाग्छ । अनुसन्धान परम्परा कस्तो हुनुपर्छ भन्ने मार्गदर्शन गराउने गरी लेखहरू रहे पनि तिनको प्रासङ्गिकता निकै गहन अध्ययनबाट एकीकृत गर्न सकिन्छ ।
अधिकांशले सिल्भा लेभी भनेर चिनेका लेविको काम नेपालको इतिहासलाई बहुस्रोत (नेपाली, तिब्बती र भारतीय) का आधारमा लेख्ने प्रामाणिक इतिहासकार मानिन्छ । तर लेभीले आफूभन्दा पहिलेका जेसुइट र केपुचिन परम्पराका रोमका पादरीहरूले गरेको नेपालको अध्ययन परम्पराको स्रोतलाई भने खासै महìव दिएका छैनन् । प्रस्तुत किताबमा पनि त्यो ल्याटिन परम्पराका ऐतिहासिक र मसीजीवीबारे एउटा पनि लेख छैन ।
‘नेपालको इतिहासको खोजी र जूजेप्पे तुच्चि (जोसेफ टुची वा तुची भनेर पनि चिनिने)’ शीर्षकको लेखमा मल्लकालमा केपुचिन पादरी कास्सिआन्नो बेलिगात्तीको योगदान (विसं १७१९ देखि १८०३ ताका)बारे सङ्केत गरिएको छ तर समग्रमा लेख भने त्यसको एक सय वर्षभन्दा धेरैपछि टुचीले गरेको जुम्लाको खस सभ्यताको खोजीबारे चर्चा छ । टुची जेसुइट वा केपुचिन पादरी नभई इटालीका फासिस्ट मुसोलिनीका निकटका रहेका थिए र उनले जुद्ध शमशेरसँग मानपदवीको साटासाट गरेका थिए (पृष्ठ १२३–१२६) ।
तथापि टुचीको योगदान नेपालको इतिहास अन्वेषणमा रहेको भए पनि यिनी हेमराज पण्डितसँग संलग्न रहेको र दुवैको बानी पुस्तकलगायतका सामग्री लगेपछि फिर्ता नगर्ने बरु प्रमाण नष्ट गर्नेमा लाग्ने सुन्नमा आएको भन्ने आरोप पनि पुस्तकमा लगाइएको छ (पृष्ठ १३२) ।
लेभीको खोजी नेपालका लिच्छविकालीन पुराताìिवक वस्तुको पहिलो वैज्ञानिक अन्वेषक भानिएका भगवान्लाल इन्द्रजीले गरेको व्याख्या विश्लेषणभन्दा उत्कृष्ट रहेको पन्तको मत छ (पृष्ठ ६९) । भगवान्लाल, लेभी हुँदै पछिल्ला अन्वेषकहरू योगी नरहरिनाथ र धनवज्र बज्राचार्यसम्मका अध्ययनबाट इतिहासका थप प्रमाण जुटाइएको भन्दै ऐतिहासिक परिशीलन तथ्यपूर्ण हुनुपर्ने आग्रह पुस्तकमा छ ।
ऐतिहासिक र मसीजीवीहरू कसकसलाई भनिएको हो भनेर लेखकले स्पष्ट छुट्याएका छैनन् । बरु नेपालका केही इतिहासकार, कूटनीतिक, लेखक र समीक्षक वा अध्येतालाई उनीहरूका लेखकीय वा अन्य आनीबानीगत कमजोरीबारे निकै नै तथ्यहरू प्रस्तुत गरिएको छ ।
पुस्तकमा उल्लेख भएका एक मात्र जीवित सौरभबारे एउटा लेख नै लेखेर उनको ऐतिहासिक तथ्य प्रस्तुतिका कमजोरी केलाइएको छ । ‘लेविमा लाञ्छना ?’ शीर्षकको लेख सौरभले सिल्भा लेभीको काममा देखाएको कमजोरी वास्तवमा सौरभकै अज्ञानता रहेको र उनको बौद्धिक हैसियत देखाइदिने अरू धेरै उदाहरणयुक्त छ । यसैमा जनकलाल शर्माको अध्ययन पनि हलुका हुने गरेको तथ्य प्रस्तुत छ ।
डिल्लीरमण रेग्मी र नयराज पन्त तथा संशोधन मण्डलको मतभेद स्पष्ट देखिने नै हो । पहिले गरिएका अनुसन्धान स्रोतसमेत उल्लेख नगरी डिल्लीरमणले अङ्ग्रेजीमा छपाउने गरेको आरोप लाग्ने गरेको पाइन्छ । त्यसैलाई समेट्दै डिल्लीरमण रेग्मीको ‘मेडिइभल नेपाल र संशोधन–मण्डल’ शीर्षकमा अर्को लेख छ । डिल्लीरमणले चार भागमा र २,६०० पृष्ठको मेडिइभिल नेपाल ‘विद्वज्जनग्राह्य नभएको’ अरू विद्वान्का लेखहरूबाट पनि बुझिने भन्दै निष्कर्ष (पृष्ठ १९३) दिइएको छ ।
डिल्लीरमणकै जस्तो हैसियतमा बालकृष्ण सम, सूर्यविक्रम ज्ञवाली र यदुनाथ खनालका कमजोरी केलाइएका अरू लेख छन् । ती सबैलाई ऐतिहासिक र उनीहरूका कार्यका आधारमा पुष्टि गरिएको छ ।
‘शुक्रराज शास्त्री र उनको शहादत’ शीर्षकको लेख स्थापित मान्यताभन्दा भिन्न छ । शुक्रराज आर्यसमाजी भएका र उनले राजनीतिक नभई धार्मिक कारणले नै मृत्युदण्ड पाएको हुँदा उनी राजनीतिक नभई धार्मिक शहीद रहेको पन्तको मत छ । शुक्रराज राणा शासनका विरोधी नभई बरु राणाभक्त रहेको उनका तीन वटा कृतिहरू ‘चन्द्रग्रन्थमाला १’ (नेपाल भाषाको व्याकरण), ‘संस्कृतप्रदीप’ र ‘ब्रह्मसूत्रशाङ्करभाष्य’मा चन्द्रशमशेर र जुद्धशमशेरको तस्बिर प्रकाशन र गुणगान गरी आर्थिक लाभसमेत लिएका तथ्य प्रस्तुत छन् (पृष्ठ ११६–१२१)
समग्रमा पुस्तक संशोधन–मण्डलकै विचारधारामा केन्द्रित छ, यो स्वाभाविक पनि हो । हरेक लेखका निष्कर्ष नयराज पन्त वा महेशराज पन्तका अवधारणाका आधारमा दिइएको छ । त्यसक्रममा विभिन्न व्यक्तिका तथ्यपरक कमजोरी देखाउन नयराज (पिता) र महेशराज (पुत्र) तथा उक्त मण्डलको गुरुकुल परम्पराका अन्य अनुसन्धानकर्ताका कार्यहरू प्रस्तुत छन् । बरु ‘जयचन्द्र विद्यालङ्कार र नेपालसँग उनको सम्बन्ध’ शीर्षकको लेखमा घुमाउरो पाराले महेशराजबाट नयराजको कमजोरी देखाएइएको छ ।
विद्यालङ्कार निकै ठूला विद्वान् रहेको आफूलाई लागेको तर नयराजले भने त्यति श्रद्धा नगरेको भन्दै लेखिएको छ, “... उनका कृतिको आधारमा उनीउपर मेरो मनमा निकै श्रद्धा थियो । एक पटक नयराज पन्तसँग जयचन्द्रको विषयमा कुरा गर्दा उनले त्यति श्रद्धा गरेर कुरा गरेको जस्तो मलाई लागेन । नयराजको विद्वताको दाँजोमा मेरो ज्ञानको परिधि निकै सानो भएकाले मैले जयचन्द्रलाई ठूला विद्वान् माने पनि उनले जयचन्द्रलाई त्यति श्रद्धा नगरेको जस्तो लाग्यो ।” (पृष्ठ १५५)
‘ब्राह्मणमहासम्मेलन र जगन्नाथ गुरागाञी’ शीर्षकको अर्को लेखमा भारतीय संस्कृतका विद्वान्हरूको तुलनामा नेपाली विद्वान् गुरागाञीको योगदान उच्च रहेको देखाइएको छ । बनारसबाट प्रकाशित ‘ब्राह्मणमहासम्मेलन’ नामक पत्रिकाका सम्पादक रहेका र नेपाली भाषामा गुणरत्नमाला जस्तो लोकप्रिय कृतिका रचयिता गुरागाञीको संस्कृतको ज्ञानका आधारमा उच्च मूल्याङ्कन गरिएको छ ।
नेपालको इतिहास लेख्ने पहिलो नेपाली अम्बिकाप्रसाद उपाध्याय र उनको नेपालको इतिहासलगायत अरू पनि व्यक्ति÷विषयकेन्द्री लेख पुस्तकमा छन् ।
समग्रमा भन्नुपर्दा नेपालको इतिहास लेखन विविध कारणले बेलाबेलामा विवादमा पर्ने गरेको छ । इतिहासको सत्यापनमा ऐतिहासिक पात्रहरू र इतिहास लेखकका आनीबानी र सत्यनिष्ठाले समेत धेरै भूमिका खेल्छन् । इतिहास लेखनका प्रमाण र उपकरणहरूको समेत अभाव रहेको सन्दर्भमा त अझ यो कठिन कार्य हो । त्यस्तो अभावपूर्तिका लागि ‘नेपाली इतिहासको परिवेश’ उपयोगी हुने देखिन्छ ।
खासमा यो विद्या परम्परा हो, जसलाई अन्तिममा राखिएको ‘नेपालमा पुराविद्याको खोजी’ शीर्षकको लेखले समेट्न खोजिएको छ । लेखमा पुरा विद्या भनेको पुरानो विद्या र इतिहाससँग सम्बन्धित हुँदाहुँदै पनि यो सत्यापनको खोजी हो भन्ने पाइन्छ । त्यो सत्यापन संशोधन–मण्डलबाट हुँदै आएको पनि छ । यसका साथै, अन्य लेखहरूमा पनि छरिएर रहेका सूक्ष्म तर महìवपूर्ण सूचनामा विद्या परम्पराबारे उल्लेख पाइन्छ । कतैकतै नेपाल विद्या र त्यसका विषयगत हाँगासमेत देखाउन खोजिएको छ तर विधागत आधार भने देखिँदैन । तर यसलाई नेपालको ऐतिहासिक परिवेशका सम्बन्धमा ‘दूध र पानी छुट्याउने’ उपकरण भएको पुस्तकका रूपमा लिनु अर्थपूर्ण हुन्छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?