logo
२०८० चैत्र १६ शुक्रवार



प्रथम नेपाली महिला

कला |
शनिवार |


प्रथम नेपाली महिला


पुष्पराज जोशी

राणाकालकै कुरो हो, महिलाले पचासहाते फरिया लगाउनुपर्ने चलन थियो । तर त्यो समयमा चन्द्रकान्तादेवी मल्ल (जोशी) दशहाते सारी लगाएर श्री ३ महाराजलाई भेट्न जान्थिन् । दशहाते सारीसँग हाफ ब्लाउज, हाईहिल जुत्ता, सानो कालो चस्मा लगाई उनी बजार पनि जान्थिन् ।
समाजको चलनविरुद्ध जाने आँट त्यतिबेला कमैको हुन्थ्यो । झन् महिलाले यस्तो आँट गर्नु दुस्साहस नै मानिन्थ्यो । तर चन्द्रकान्ताले यो आँट गरिन् । कन्या पाठशाला खोल्ने प्रथम नेपाली महिला त उनी हुँदै हुन्, दशहाते सारीसँग हाफ ब्लाउज, हाइहिल जुत्ता, सानो कालो चस्मा लगाई बजार घुम्ने पहिलो जनसाधारणको रूपमा पनि उनलाई चिनिन्छ ।
यसैगरी, काठमाडौँ, यट्खाकी मछरी चित्रकारले २०११ सालमा गाडी चलाउँदा जात्रा हेर्न छाडेर मानिसहरू ‘आइमाईले गाडी चलाएको हेर हेर’ भन्दै झुम्मिन्थे । अहिले गाडी चलाउने महिला र पुरुष सरोबरी छन् । यसलाई अनौठो मानिँदैन । गाडी हाँक्न लाइसेन्स लिने पहिलो महिला आफैँ हुँदा र अहिलेको सडक देख्दा मछरीलाई यतिखेर खुसी लाग्छ रे ! ८९ वर्षमा मछरी ती दिन र यी दिनका तुलना गरिरहनुभएको छ ।
इतिहासका यी घटना वरिष्ठ पत्रकार तथा गोरखापत्रका पूर्व प्रधानसम्पादक निर्मलकुमार आचार्यको ‘प्रथम नेपाली महिला’ पुस्तकमा लिपिबद्ध छन् । पुस्तक परिमार्जित तथा परिवर्धित भएर बजारमा आएको छ । लेखक आचार्यको ‘प्रथम नेपाली महिला’ पुस्तक २०६० सालमै प्रकाशित भएको थियो । त्यसको पूरक खण्ड ‘१०१ प्रथम नेपाली महिला’ २०६२ सालमा प्रकाशित भयो । यसलाई परिमार्जन तथा परिवर्धन गरेर ९४औँ नारी दिवसका अवसरमा सार्वजनिक गरिएको हो । अखबारी लेखनमा पनि सक्रिय आचार्यको ‘सांस्कृतिक सेरोफेरो’, ‘मनको ओखती’, ‘मेदिनीस्मृति’, ‘अग्रणी महिला’, ‘सांस्कृतिक सौरभ’, ‘बिर्सनै नहुने कृष्णप्रसाद’ साहित्यक तथा अनुसन्धानात्मक कृति प्रकाशित छन् भने सहसम्पादन तथा सहलेखनमा ‘गर्गगोत्री आचार्य वंशावली’ र ‘सांस्कृतिक सौरभ’ प्रकाशित छन् । ‘१०१ प्रथम नेपाली महिला’ कृतिकै शृङ्खलाको रूपमा २०६७ सालमा ‘अग्रणी महिला’ प्रकाशित भएको थियो ।
पुस्तकको एक ठाउँमा राजा त्रिभुवन लमी हुन पुगेको प्रसङ्ग पनि छ । कुरो २००८ सालतिरको हो, राष्ट्रिय पञ्चायतमा उपाध्यक्ष हुने प्रथम महिला प्रजाराज्यलक्ष्मी देवी सिंहको बिहे त्यतिबेलाका प्रख्यात राजनीतिज्ञ खड्गमान सिंह बस्नेतसँग भएको थियो । यो बिहे राजा त्रिभुवनको इच्छाअनुसार भएको हो । खड्गमान सिंह मन्त्री भएको दुई महिनापछि राजा त्रिभुवनबाट उनलाई विवाह गर्न भन्दै यसका लागि केटी खोजिदिने कुरो व्यक्त भएपछि खड्गमानले नकार्न सकेनन् । राजा त्रिभुवनबाट साहेबज्यू रणविक्रम शाहलाई आफ्नी छोरी खड्गमानसित विवाह गरिदिनभन्दा उनले मुख अँध्यारो लगाएको र पछि राजा त्रिभुवनबाट उसको घरबार छैन भनेर चिन्ता गर्नुपर्दैन, म सबै व्यवस्था मिलाइदिन्छु भनेपछि विवाह भयो ।
विवाह भएको रौनकलाई खड्गमानले आफ्नो कृतिमा यसरी बयान गरेको छन्– ‘दुलहा ‘मन्त्री’ भएको हुँदा जन्त जानुअघि १७ तोपको सलामी लाग्यो । सारा राणा जर्नेलले सलामी दिए । सरकारी, सजेको बग्गीमा दुलहा थियो र उसको अगाडि ब्यान्डबाजा रिसल्ला थिए, त्यस्तै पछाडि पनि रिसल्लाहरू थिए । दुलहीसहित जन्ती फर्कंंदा पनि १७ तोपको सलामी लाग्यो । कहाँ सत्तलमा जन्मेको टुहुरो अनाथ, कहाँ त्यो मानसम्मान पत्याइनसक्नु थियो ।’ प्रजाराज्यलक्ष्मी देवी सिंहको जीवनीमा यो अंश समेटिएको छ । १०१ जना प्रथम नेपाली महिलाका सङ्घर्ष, पारिवारिक पृष्ठभूमि, दाम्पत्य जीवन र पेसा उल्लेख गर्ने क्रममा इतिहासका यस्ता धेरै पाटा पुस्तकमा छन् ।
पुस्तकको सुरुवात जगज्जननी तथा राष्ट्रिय विभूति सीताबाट गरिएको छ । संसारभर उनी आदर्श नारीका रूपमा चिनिएकी छन् । उनको यही गुण नै मानव चोलाका लागि प्रेरणाको स्रोत रही आएको छ । उनले जीवनभर भोग्नुपरेको दुःख, कष्ट र पीडाका साथै पटक–पटकको परीक्षाले नारी हृदयलाई असह्य भएको विषय यहाँ पनि उठान गरिएको छ । साथै सीताको जन्म कसरी भयो भन्ने सम्बन्धमा पुराण आदि ग्रन्थमा रहेका भिन्न भिन्न मतलाई पनि उल्लेख गरिएको छ । यसैगरी महाविदुषी गार्गी र राष्ट्रिय विभूति भृकुटीलाई दोस्रो र तेस्रो क्रममा समेटिएको छ । भृकुटीका अनेक नामबारे चर्चा गर्दै उनी कसकी छोरी हुन् ? जन्मस्थल कहाँ हो ? उनले जीवनमा केकस्ता काम गरिन् ? उनको इहलीला कहिले कहाँ समाप्त भयो ? उनको सन्तान केकति भए ? जस्ता प्रश्नको प्रामाणिक उत्तर अहिलेसम्म उपलब्ध भएको छैन । चौंथोमा नायब भई देशको शासनसत्ता सह्माल्ने महारानी राजेन्द्रलक्ष्मीबारे जानकारी दिँदै १०१औँ अर्थात् अन्त्यमा अमेरिकी पूर्ण छात्रवृत्ति पाउने दृष्टिविहीन निर्मला ज्ञवालीबारे उल्लेख छ । स्थानाभावले सबैको नाम भने यहाँ उल्लेख गर्न सकिएन । यिनको योगदान राजनीति, समाज, दर्शन, शिक्षा, संस्कृति, साहित्य, पत्रकारिता, उद्यम, व्यापार, विज्ञान, प्रविधि, कूटनीति, चिकित्सा, खेलकुद, यातायातलगायत विविध क्षेत्रमा रहेको छ ।
प्रथम नेपाली महिलाबारे केही नाम त सामान्य ज्ञानमा फेला पथ्र्यो । तर अध्ययन अनुसन्धान गरेर तयार पारिएको यससँग सम्बन्धित आधिकारिक पुस्तकको भने अभाव नै थियो । लेखक आचार्यको पुस्तकले यही अभावलाई पूर्ति गरेको थियो । यतिखेर लेखक आचार्यले यसलाई परिमार्जन र परिवर्धन गरेर प्रथम नेपाली महिलाबारे थप जानकारी पस्कनुभएको हो । ‘प्रथम’ भनेर कसैलाई किटान गर्नु त्यति सजिलो कार्य हँुदै होइन । झन् १०१ प्रथम महिलाको खोजी गर्नु कठिन कार्य हो । अध्ययन, अनुसन्धानका क्रममा यसमा हेरफेर हुन पनि सक्छ ।
पुस्तकमा २००७ सालअघि जन्मेका महिला ६५ जना छन् । राणा शासनको त्यो कालोदिनमा जन्मेर निरङ्कुश तन्त्रलाई चुनौती दिँदै आफ्नो यात्रा तय गर्नु कम जोखिमको विषय थिएन । घरबाट बाहिर पाइला टेक्दा मात्रै पनि ‘बदमास महिला’को उपाधि पाइने समयमा आफ्नो लक्ष्यमा अडिग रहन लरतरो आँटले पुग्दैनथ्यो । उनीहरूको यही आँटले नै आज नेपाली महिला उन्मुक्त वातावरणमा आफ्नो लक्ष्यमा हिँड्न पाएका छन् ।
पुस्तक नेपाली महिलाको अवस्था र उनीहरूको योगदान बुभ्mन खोज्ने जिज्ञासु पाठक तथा अध्ययन अनुसन्धानमा संलग्न हुनेका लागि गहकिलो खुराक बनेको छ । पुस्तकको भाषामा कुनै खोट लगाउने ठाउँ छैन । शुद्ध छन्, सरल छन् र सम्प्रेष्य छन् । परिमार्जित तथा परिवर्धित संस्करण भएकाले पुस्तक अलि मोटो पनि हुन गएको छ । ४५४ पृष्ठ रहेको पुस्तकको मूल्य ६०० रुपियाँ राखिएको छ । प्रथम नेपाली महिलाका तस्बिरसहित छोटो चिनारी पनि पुस्तकमा छन् । चिनारीमा जन्म तथा निधनका समय उल्लेख गर्दा दुईथरि संवत्को प्रयोग एकै जनाका लागि कतैकतै भएको छ । एक व्यक्तिका लागि एउटै संवत् प्रयोग भएको भए एक रूपताका साथै पाठकका लागि पनि सजिलो हुने थियो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?