logo
२०८० चैत्र १६ शुक्रवार



‘नेपाल विद्या’लाई साहित्यपोस्ट उत्तम कृति पुरस्कार

कला |


‘नेपाल विद्या’लाई साहित्यपोस्ट उत्तम कृति पुरस्कार


गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २५ गते । गोरखापत्र दैनिकका नायव कार्यकारी सम्पादक केदार वाशिष्ठ (भट्टराई) द्वारा लिखित पुस्तक ‘नेपाल विद्या’लाई वर्ष २०७७ को साहित्यपोस्ट उत्तम कृति पुरस्कार प्राप्त भएको छ ।
लक्ष्मण अधिकारीको कथासङ्ग्रह मर्फिन, सुरेश बडालको कथासङ्ग्रह रहर र केदार वशिष्ठको अनुसन्धानात्मक कृति ‘नेपाल विद्या’लाई निर्णायक मण्डलले दिइएको नम्बरको आधारमा नेपाल विद्यालाई वर्षकै उत्कृष्ट पुस्तक ठहर गरिएको हो ।
साहित्यपोस्टको वार्षिक उत्सवको अवसरमा सम्पादन मण्डल एवं स्तम्भकारहरूको अभौतिक बैठकले निर्णायकहरुबाट प्राप्त अङ्कलाई अनुमोदन गरेको साहित्य पोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले जनाउनुभएको छ । लेखकले ५० हजार रुपियाँ नगद एवं ताम्रपत्रको सम्मान पत्र प्राप्त गर्ने पनि उहाँले जनाउनुभयो ।
अनुकूल अवस्था भएको भए साहित्यपोस्टको वार्षिक उत्सव (शनिबार) नै औपचारिक दिनमै पुरस्कार प्रदान गर्ने योजना रहेकोमा कोरोना सङ्क्रमणका कारण सम्भव नभएकाले लेखकसँग सम्पर्क राखेर सामान्य औपचारिक कार्यक्रम गरेर पुरस्कार प्रदान गरिने उहाँले जनाउनुभयो ।
पुरस्कृत भएको घोषणपछि लेखक वाशिष्ठले यसबाट आफूलाई हौसला र जिम्मेवारी दुवै बढेको बताउनुभयो । पहिलो पुस्तक लेखेर नेपाली भाषा साहित्यमा औपचारिक पाइला चालेका लेखकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु भएको साहित्यपोस्ट उत्तम कृति पुरस्कारका लागि २७ पुस्तकहरु यसको परिधिमा परेका थिए । वर्षभरि छापिएका ती पुस्तकहरुलाई साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार एवं शुभेच्छुकहरु गरेर १५ जना निर्णायकले पहिलो १० पुस्तक छानेका थिए । त्यसबाट तीन वटाको घोषणा गरिएको हो ।
निर्णायक मण्डलका एक सदस्य राजकुमार बानियाँले तीमध्ये नेपाल विद्या उत्कृष्ट मात्रै होइन, जनअनुमोदित पुस्तक भएकाले यसैमा सबैको एक मत रहेको उल्लेख गर्नुभएको छ ।
तीन भागमा समेटिएको उक्त पुस्तकले नेपालका तीन फरक फरक क्षेत्रमा अनुसन्धान गरेको छ, जसलाई समीक्षकहरुले वर्षकै उपलब्धिका रुपमा लिएको जनाइएको छ ।
साहित्यपोस्ट उत्तम कृति पुरस्कारको सौजन्य चर्चित साहित्यकार पारिजातका सहयोगी उत्तमप्रसाद पन्तले गर्नु भएको हो । राम्रो कृतिलाई पुरस्कृत गर्न पाउँदा मलाई अपार हर्ष लागेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?