logo
२०८१ बैशाख ७ शुक्रवार



नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु

कला |


नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु


गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ३१ गते । नेपाल प्रज्ञा प्रतिष्ठानले नयाँ वर्ष २०७८ को अवसरमा पारेर पुस्तक प्रदर्शनी सुरु गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले मङ्गलबार प्रदर्शनीको शुभारम्भ गर्नुभयो । ‘नयाँ वर्ष, नयाँ पुस्तक पढौं’ अभियान अन्तर्गत प्रतिष्ठानबाट प्रकाशित भाषा, साहित्य, संस्कृति, दर्शन र विभिन्न भाषासम्बन्धी शब्दकोष गरी ४२३ पुस्तक र एक सयभन्दा बढी भाषाभाषीका पत्रिका प्रदर्शनीमा राखिएका छन् ।

प्रदर्शनी संयोजक सुधीर ढुङ्गेलका अनुसार, नयाँ वर्षसँगै पुस्तक पठन संस्कृतिको विकासमा सहयोग पुर्याउन प्रदर्शनी थालिएको हो । १५ दिनसम्म हुने प्रदर्शनीमा १५ देखि ४० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको जनाइएको छ । प्रतिष्ठानले आफ्ना पुराना प्रकाशनलाई समेत पुनःप्रकाशन गरी पाठक समक्ष ल्याइरहेको छ । आयुर्वेदमा प्रयोग हुने नेपाली जडीबुटीबारे विस्तृत जानकारी दिने पुस्तक ‘निघण्टु’ समेत भर्खरै पुनः प्रकाशन गरिएको संयोजक ढुङ्गेलले जानकारी दिनुभयो ।

स्रष्टालाई परिचयपत्र
नेपाल प्रज्ञा प्रतिष्ठानले स्रष्टा, सर्जकलाई लेखक साहित्यकार परिचय पत्र वितरण गर्ने भएको छ । प्रष्ठिानका कुलपति उप्रेतीले भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र, दर्शनको खोज, लेखन कार्यमा समर्पित स्रष्टाको सम्मानका लागि परिचयत वितरण गर्न लागिएको बताउनुभयो । प्रतिष्ठानद्वारा मङ्गलबार आयोजित ‘नयाँ वर्षको सांस्कृतिक महत्व विषयक प्रवचन तथा स्रष्टा भेटघाट एवं शुभकामना आदानप्रदान’ कार्यक्रममा नयाँ वर्षसँगै लेखक साहित्यकार परिचयपत्र वितरण गरिने र त्यसका लागि कार्यविधि  तयार भइसकेको जानकारी दिनुभयो ।

प्राज्ञ डा. देवी नेपालका अनुसार, प्रतिष्ठानद्वारा प्रकाशित साहित्यकार परिचय कोषका आधारमा परिचयपत्र वितरण गरिनेछ । सो कोषमा समावेश नभएका स्रष्टा सर्जकको हकमा आफ्नो कृतिको एक प्रतिसहित प्रतिष्ठानमा निवेदन दिन सकिने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?