logo
२०७८ बैशाख ९ बिहीवार



रङ्गमञ्च : हिजो, आज र भोलि

रङ्गमञ्चको भविष्य    

कला |


रङ्गमञ्च : हिजो, आज र भोलि


प्रकाश सायमी


नाटक लेखन र मञ्चनको कला

नेपालमा नाटक र नाटक मञ्चन भन्नेवित्तिकै अभिनेता रत्नदास प्रकाशको नाम अगाडि आइहाल्छ । रत्नदास प्रकाश, दमनराज तुलाधर जस्ता व्यक्तिले दरबारमा अभिनय प्रस्तुत गरेर ख्याति कमाएका थिए भने दमनराज तुलाधरले जुद्ध शमशेरको दरबारमा शेक्सपियरको नाटक प्रस्तुत गरेर साइलकको उपाधि नै पाएका थिए ।
मास्टर रत्नदास प्रकाशलाई नेपाली रङ्गमञ्चको कीर्ति स्तम्भ मानिन्छ, उनको समयकै वरपर नेपालमा नेपाली नाटक लेखेर मञ्चन गर्ने परम्परा सुरु भएको सत्य हो । उनले हिन्दी उर्दु र अङ्ग्रेजी नाटकलाई नेपालीमा अनुवाद गरेर मञ्चन गर्न सुरु गरेपछि नेपालमा (विशेषतः काठमाडाँै उपत्यकामा ) नाटक मञ्चन र लेखनको विधिवत शुभारम्भ भएको देखिन्छ ।
रत्नदास प्रकाशले नाटक मञ्चन गरेको समय नै शुक्रराज जोशीको ‘स्वर्गको द्वार’को मञ्चनको तयारी भएको सन्दर्भ देखिन्छ, यसै नाटकको एउटा गीतलाई संगीतकार भगतकृष्ण मानन्धरको संगीतमा गायिका मेलवादेवी मानन्धरले गाएर रेकर्ड गरेको आधारमा पुष्टि हुन्छ । यो विसं १९९० अघिको कुरा भयो ।

१. समकालीन नेपाली नाटक
विसं १९९० मा गोपालप्रसाद रिमालले नामकरण गरिदिएको गौरीशंकर नाट्य समुदायले बालकृष्ण समका ऊ मरेकी छैन सिंहदरबारको नाचघरमा प्रस्तुत गरेको इतिहास पाइन्छ । यो मौलिक रूपमा नेपाली शैलीमा लेखिएको र त्यहीअनुरूप प्रस्तुत गरिएको नाटक भन्ने बुझिन्छ । यस नाटकमा बालकृष्ण समका सहायक निर्देशक भएर गोपालप्रसाद रिमालले काम गरेका थिए भने यस नाटकमा नायिकाको भूमिका कलानाथ अधिकारी (जो गायक पनि थिए) गरेका थिए भने यसमा अर्को स्त्री पात्रको भूमिका शंकर लामिछानेले गरेका थिए । (पृ. २४, विम्ब प्रतिविम्ब)
ऊ मरेकी छैन अघि बालकृष्ण समका अन्य नाटक मञ्चन भएका थिए तर ती सीमित दर्शकका सामु । बालकृष्ण समभन्दा अघि नाटक लेख्ने नाटककारका रूपमा पहलमान सिंह स्वाँरको नाम नै देखिन्छ ।
पहलमान सिंह स्वाँर, शुक्रराज शास्त्रीका नाटक नेपालीमा लेखिनु र मञ्चन हुनुअगाडि हाम्रो नेपाली नाटक प्रत्यक्ष रूपमा पारसी थिएटरबाट प्रभावित थियो भन्ने बुझिन्छ ।
पहलमान सिंह स्वाँरको पहिलो मौलिक नाटक अटलबहादुर प्रकाशित भएपछि यसलाई ठीक तीन वर्षपछि विसं १९६९ मा भारतको गोर्खा न्यासनल थिएट्रिकल पार्टीले मञ्चन गरेको थियो ।
उत्तर बंगालको दार्जिलिङमा धनवीर मुखिया र उनको टोलीले स्थापना गरेको गोर्खा न्यासनल थिएट्रिकल पार्टी नै पहिलो नेपाली नाट्य समूह भनेर साहित्यकार इन्द्रबहादुर राईले ठोकुवा गरेका छन् । स्थापनाकालको प्रथमावृत्तिमै नेपालीमा लिखित नाटक अटलबहादुर मञ्चन गरेको थियो जुन नाटक विसं १९६६ मा वाराणसीबाट प्रकाशित भएको थियो । अटलबहादुर बाहेक गो . न्या. थि. पार्टीले फ्रान्सेली नाटककार मोलिएरको नाटक मिजरमा आधारित कञ्जुसको धन पनि मञ्चन गरेको थियो । सन् १९१० मा मञ्चित कञ्जुसको धन नाटकबाट टिमोथी बेन्जामिन र कालू लामा निकै लोकप्रिय भएको कुरा राईले उल्लेख गरेका छन् । (पृ १३८, द अक्सफोर्ड कम्पेनियन टु इन्डियन थिएटर)
द अक्सफोर्ड कम्पेनियन टु इन्डियन थिएटरका अनुसार गोर्खा न्यासनल थिएट्रिकल पार्टी सन् १९१२ मा बन्द भयो तर बन्द हुनुपूर्व यस संस्थाले गिरिश घोषको ‘अबु हसन’ पनि मञ्चन गरेको थियो ।
गिरीषचन्द्र घोष बङ्गाली रङ्गमञ्चका अभिनेता, लेखक , निर्देशक र आयोजक थिए उनलाई बङ्गाली रङ्गमञ्चका पिता मानिन्छ । सन् १८४४ मा जन्मेका घोषका धेरै नाटक नेपालीमा अनुवाद भएर नेपालका दरबारमा पनि मञ्चन भएका छन् ।
घोषबाट प्रभावित भएर धनवीर मुखियापछि भैया सिंह गजमेर आए । सन् १८९८ मा जन्मेका मुखियाले नेपाली रङ्गमञ्चको विकासका निम्ति उत्तर बङ्गालमा हिमालयन चिल्ड्रेन एम्युजमेन्ट एसोसियसन खडा गरे ।
विसं १९७० मा स्थापित हिमालयन चि. ए. एसोेसियन विसं १९९२ सम्म सक्रिय रह्यो । यसले आफ्नो उर्वरा कालामा बोतलवासिनी देवी , नल दमयन्ती, परशुराम, जवानीको धन्धा आँखाको अन्धा, प्रेमी बालक, उष हरण, स्वामीभक्ति आदि मञ्चन गरे ।
सत्तरी वर्षको उमेरमा दार्जिलिङमै निधन भएका मुखियाका कुनै पनि नाटकको पाण्डुलिपि प्रकाशित छैनन् । यसलाई लिपिवद्ध गर्ने काम अहिले दार्जिलिङको गोर्खा निवारक सङ्घले जिम्मा लिएको छ । दार्जिलिङ र विशेषतः कलकत्ताको न्यु थिएटर्सका प्रस्तुतिबाट प्रभावित भएर नाटकमा समर्पित भएका बालकृष्ण सम यही समय नेपाली रङ्गमञ्चमा आए । उनी बढी मात्रामा न्यु थिएटरका पृथ्वीराज कपुरको नाट्य उत्पादनबाट प्रभावित भएको कुरा उनका समकालीन भैरववहादुर थापा स्वीकार्छन् । कपुरले पछि भारतमा आफ्नै नाममा पृथ्वी थिएटर सुरु गरे जुन अझै पनि मुम्बईमा सक्रिय छ ।
नाटक लेखन र निर्देशनमा सम आफ्नो समयमा सबैभन्दा बढी सक्रिय र प्रतिबद्ध थिए । उनको समयमा नाटकमा अभिनय गर्ने महिला पात्रको अभाव हुने कारणले नीरविक्रम प्यासी, दौलत विक्रम विष्ट, कलानाथ अधिकारी आदि महिलाको वेशभूषामा मञ्चमा उत्रन्थे ।
उनका नाटकहरू विशेषतः त्यो समय लेखिएका आधुनिक नाटकमा पर्दथ्यो । उनका नाटक मुटूको व्यथा विक्रमाव्द चालीसको दशक सम्म पनि मञ्चन भएको इतिहास पाइन्छ ।
समकै समयमा हृदयचन्द्र सिंह प्रधानका नाटक पनि विद्यालयका कार्यक्रमहरूमा अनि सभा समारोहका निम्ति लेखिएर मञ्चन भएको यथातथ्य छ । नेपाली र नेवारी दुवै भाषामा कलम चल्ने प्रधानले सहिद गंगालाल श्रेष्ठको स्मृतिमा लेखेको नाटक गंगालालको चित्ता र समको भीमसेनको अन्त्य ऐतिहासिक विषयवस्तुमा त्यस समयका चर्चित नाटक मानिन्छन् ।
सम र प्रधानपछि गोपालप्रसाद रिमाल, विजय मल्ल, गोविन्द गोठालेले पनि नेपाली रङ्गमञ्चका निम्ति धेरै नाटक लेखे ।
रिमालका नाटकमा विशेषतः मसान, यो प्रेम चर्चित छन् भने विजय मल्लको बौलाहा काजीको सपना, कोही किन बर्बाद होस् आदि सदैव स्मरणयोग्य छन् । गोठालेका नाटकमा च्यातिएको पर्दा र भूसको आगोले अलग्गै मापदण्ड राखेको पाइन्छ ।
मल्ल नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सदस्य सचिव हुँदासम्म नाटक लेखिरहे । उनको पछिल्लो नाटक स्मृतिको पर्खालभित्र, भूलैभूलको यथार्थ अनि नेपालभाषामा लेखिएको नाटक किसी न्याइम्ह मदनमान .. आदि चालीस दशकको अन्त्यसम्म मञ्चन भएको इतिहास पाइन्छ । बालकृष्णका समकालीन नाटककारमा लक्ष्मीप्रसाद देवकोटाले पनि आफ्नै निर्देशनमा नाटक मञ्चन गरेको चर्चा पाइन्छ । जसमा गोपालप्रसाद रिमालका भाइ हरिप्रसाद रिमालले नायकको भूमिकामा अभिनय गरेको बताएका छन् ।

२. सातसालपछि नाटकको बदलिँदो रूप
२००७ सालपछि नेपालमा राजनीतिक परिवर्तन आएपछि विविध शैलीका नाटकहरू नेपालमा लेखिए, मञ्चन भए ।
देशमा आएको राजनीतिक परिवर्तनपछि रेडियो नेपालको स्थापना भयो । रेडियो नेपालका निम्ति रेडियो नाटकहरू पनि विस्तारै लेखिन थाले । रेडियो नाटक लेखनमा तारिणीप्रसाद कोइराला, जनार्दन सम, श्यामदास वैष्णव, तुलसीनाथ ढुङ्गेल, युधीर थापा आदि सक्रिय भए ।
रेडियो र रङ्गमञ्च बाहेक राजनीतिक पार्टीबाट प्रभावित भएर नाटक लेख्ने जमात पनि देखिए । त्यसमा कवि दुर्गालाल श्रेष्ठ अग्रपंक्तिमा देखिए । श्रेष्ठले विसं २०१३ सालमा किसान नामक नाटक लेखेर मञ्चन गरे । यसै नाटकबाट गायक नारायणगोपालले अभिनेताका रूपमा मञ्चमा प्रवेश गरेका थिए । कवि गीतकारका रूपमा आफ्नो विशिष्ट पहिचान बनाएका श्रेष्ठले पछिसम्म नाटक लेखिरहे । उनको नाटक रामबहादुरको संसार नेपाली रङ्गमञ्चको एउटा यादगार प्रस्तुति मानिन्छ । श्रेष्ठका समकालीन फणीन्द्रराज खेताला, रमेश विकल, श्यामदास वैष्णव आदिले पनि मञ्चनका निम्ति नाटक लेखे । श्रेष्ठ आफै कुशल रङ्गकर्मी भएका कारणले आफूले पढाउने स्कुलका निम्ति पनि उनले धेरै नाटक लेखे ।
यही समय संगीत प्रधान नाटकका रूपमा लक्ष्मण लोहनीको पृथ्वीनारायण शाह एक चित्र र समको नाटक नालापानीको युद्ध पनि मञ्चन भए । सात सालको परिवर्तनपछि महेन्द्र संगीत निकेतन, नेपाल सांस्कृतिक केन्द्र आदिको स्थापना भए पनि नाटक केन्द्रित रूपमा नेपाल प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थान नै सक्रिय देखिए ।

३. पञ्चायतकालको चरम सेन्सर
विसं २०१७ मा पञ्चायती व्यवस्थाको स्थापना भएपछि तत्कालीन राजा महेन्द्रको रुचिअनुरूप गीत संगीतमा अत्यधिक विकास भयो । उनी स्वयम् पनि गीतकार भएका कारण उनकै पत्नीको नाममा रत्न रेकर्डिङ संस्थान स्थापना भयो तर नाटक र नाट्य विधाको निम्ति कुनै नयाँ पहल भएन बरु नाटक मञ्चन गर्न तत्कालीन अञ्चलाधीश कार्यालयमा पाण्डुलिपि बुझाएर सेन्सर गर्नुपर्ने अवस्था देखियो ।
अञ्चालाधीश कार्यालयअन्तर्गत मनोरञ्जन शाखाले अध्ययन गरेर छानबिन गरेपछि मात्र नाटक मञ्चन गर्न पाइन्थ्यो । कहिलेकाहीँ स्वीकृत भइसकेको नाटक पनि मञ्चमा प्रस्तुत हुँदा हुँदै रोका हुन सक्थ्यो । त्यसरी रोकिएको नाटकको इतिहासमा गण्डकी अञ्चलाधीश कार्यालयले रोका गरेको चेतन कार्कीको नाटक आत्मा बेचेको छैन पर्छ । यो नाटकपछि विसं २०२३ मा लेखकको आफ्नै निर्देशनमा मञ्चन भएको थियो । यही समय कवि भूपी शेरचनको परिवर्तन पनि मञ्चन भएको थियो अञ्चलाधीश कार्यालयले प्रकाशित भइसकेको नाटक पनि मञ्चन गर्नुअघि पाण्डुलिपि बुझाउन माग गथ्र्यो । प्रकाशित नाटक पनि मञ्चन हुन अयोग्य भएको इतिहास पञ्चायतकालमा देखिएको छ ।
पद्मरत्न तुलाधरको जागिरबाट खोसिएको मान्छे, रायनको सिम्मा , अनिल बर्वेको थैन्क्यू मिस्टर ग्ल्याड, नीर शाहको इतिहासको कालो पाना, महको सूर्य ग्रहण त्यसमध्ये पर्छ । पञ्चायतकालमा मल्ल बन्धुमा विजय मल्ल बढी सक्रिय भए । उनले धेरै नाटक लेखे र मञ्चन गरे । पहाड चिच्याइरहेछ , अन्धाको पनि आँखा खुलेको हुन्छ । कोही किन बर्बाद होस् यिनका त्यस समयको चर्चित नाटक हो । यसै समय प्रज्ञा प्रतिष्ठानले सत्यमोहन जोशीका नाटक जब घाम लाग्छ, फर्केर हेर्दा पनि मञ्चन गरे ।
मल्ल र जोशी बाहेक नेपाली नाटक लेखनमा गोपाल पराजुली र शिव अधिकारी पनि देखा परे । पराजुली र अधिकारीले लेखेका नाटकहरू प्रकाशन त भएका छन् तर मञ्चनका निम्ति ती कृति फलामे च्युरा नै साबित भए ।
त्रासदी मुद्राहरूका लेखक अधिकारीले पछिल्लो समय (पचासको दशकमा ) तासको जामा नामक नाटक लेखेर प्रज्ञा प्रतिष्ठानमा हरिहर शर्माको निर्देशनमा मञ्चन गरे । यसपछि शिव अधिकारीका कुनै नाटक मञ्चन भएको इतिहास छैन ।
अधिकारी र पराजुलीका नाटक मञ्चनका निम्ति कठिन भए पनि अर्का दुई साहित्यकार अशेष मल्ल र सरुभक्त दुवै रङ्गमञ्चसित आबद्ध भएका कारणले नाटक लेखन र निर्देशनमा सक्रिय देखिए र यिनका कामले सफलताको स्वाद पनि दिलाए । अशेष मल्लको नाटकहरूको नाटक, हामी वसन्त खोजिरहेछौँ, अतिरिक्त आकाश सफल मानिन्छन् भने सरुभक्तका नाटक युद्ध ः उही ग्यास च्याम्बरभित्र, एउटा घरको कथा हैन , कोलाज, ताण्डव नृत्य र अजम्बरी भ्वाइलेन पनि चर्चामा रहे ।
यी दुवै नाटककारहरू आफै पनि अभिनय गर्ने हुनाले यिनको नाटकको सार्थकता भव्य रह्यो । यिनका अग्रज साहित्यकार डा. ध्रुवचन्द्र गौतमका नाटक भष्मासुरको नलीहाड र त्यो एउटा कुरा मञ्चन भएका छन् । विसं २०३६ सालमा पाकिस्तानका पूर्वप्रधामन्त्री जुल्फिकर अलि भुट्टोको फाँसीपछि पाकिस्तानका शासक जियाउल हकको विरोध गर्दै नेपालमा विद्यार्थी आन्दोलन सुरु भयो । यो आन्दोलनले राजनीतिक रूपमा देशलाई जनमत संग्रहको सङ्घारसम्म पु¥यायो तर यो आन्दोलनको प्रभावले कवि लेखक आफ्नो कविता र आवाज बोकर सडकमा ओर्लिए, जसलाई सडक कविता क्रान्तिको नाम दिइयो ।
सडक कविता क्रान्तिसँगै विस्तारै सडकमा नाटक पनि गर्न थालियो र सडक नाटकको अवधारणा सुरु भयो । सडक नाटकलाई बङ्गाली शैलीको नुक्कड नाटकबाट प्रभावित भनिए पनि यो नेवारी शैलीको दबू प्याखँः ( डबली नाटक) को धेरै नजिक देखिन्थ्यो ।
सडक नाटकमा अशेष मल्ल, किशोर पहाडी, सुनील पोखरेल, सपना प्रधान, रेणु केसी आदि देखिए तर यसलाई पछिसम्म अशेष मल्ल र सर्वनामले निरन्तरता दिएको पाइन्छ । भारतमा बीज नाटक, सूत्र नाटकको प्रयोग चलिरहेको बेला भारतकै कोलकत्तामा बादल सरकार नुक्कड नाटकमा सक्रिय थिए । भारतको प्रमुख शहर दिल्लीमा सफदर हासमी पनि नुक्कड नाटकबाट प्रभावित भएर हल्ला बोल मञ्चन गरिरहेका थिए । हामी कहाँ सडक नाटक अञ्चलाधीश कार्यालयको स्वीकृतिविना त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको प्रांगणमा , भृकुटी मण्डपमा देखाइयो ।
नाटक लेखकका रूपमा ढिलो गरी आए पनि साहित्यकार मोहनराज शर्माले आफ्नै तीनै नाटक जेमन्त, यमा र वैकुण्ठ एक्सप्रेसमा ख्याति कमाए । उनका सबै नाटकलाई मञ्चन गर्ने सौभाग्य जेनाप परिवारलाई मिल्यो भने यी सबै नाटक अभिनेता रवीन्द्र खड्काले निर्देशन गर्ने मौका पाए । मोहनराज शर्माको नाटक जेमन्तको सफल मञ्चनपश्चात् उनकै नाटकको नामबाट जेनाप अर्थात् जेमन्त नाट्य परिवार स्थापना भएको हो । शर्माका समकालीन वासु शशीका नाटक सबथोक गर्नुपर्छ, बाँसुरीमा नअटाएका धुनहरू, इरा पनि मञ्चन भए । नेपाली र नेवारी दुवै भाषामा नाटक लेखेका शशीले नेपालमा अङ्ग्रेजी नाटककार आर्थर मिलरको नाटक मञ्चन गर्नमा सुलभ वातावरण पनि बनाए ।
मोहनराज शर्मा, अशेष मल्ल, सरुभक्त नाटक लेखनमा आउनुअगाडि नाटक लेखेर र निर्देशन गरेर चर्चामा आएका थिए, मनबहादुर मुखिया । सेन्सरको चपेटामा परेको नीर शाह लिखित नाटक इतिहासको कालो पाना धेरै समयपछि प्रचण्ड मल्लले निर्देशन गर्ने भएका थिए भने यही समय रायन लिखित गीति नाटक सिम्मा पनि सेन्सरको कारणले प्रदर्शनमा रोक लगाइएको थियो भने अशेष मल्ल लिखित मुर्दावादमा उठेका आवाजहरू पनि प्रदर्शन भएपछि रोकिएको थियो ।
रङ्गनिर्देशक प्रचण्ड मल्लले सत्यमोहन जोशीका र विजय मल्लका केही नाटक प्रज्ञाको मञ्चमा प्रस्तुत गरेका थिए ।
अन्य नाट्यकर्मीमा भीमनिधि तिवारी, श्यामदास वैष्णव, लक्ष्मण लोहनी, हिमालय लोहनी, मनहरि भण्डारी, मुुकुन्दकिशोर भट्टराई आदिका नाटक पनि मञ्चन भएका थिए, पञ्चायती शासनकालको जटिल समयमा ।

४ रङ्गमञ्चमा दार्जिलिङको नाटक
नेपालको नाटक विधालाई सुरुदेखि नै सबैभन्दा प्रभाव पारेको दार्जिलिङले नै हो भन्नुपर्छ । विसं २००७ सालमा रञ्जीत घिसिङको निर्देशनमा नवीन बर्देवाको संगीतमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन मञ्चन भएपछि यसलाई फेरि कमुदिनी होम्स कालिम्पोङले विसं २०२१ तिर मञ्चन ग¥यो ।
दार्जिलिङमा मुनामदनको मञ्चन भएपछि नेपालमा पनि यसको प्रभाव वा मञ्चनको असर देखियो । मुनामदनपछि दार्जिलिङको नाटक ‘अनि देउराली रुन्छ’ले नेपालमा ठूलो प्रभाव पा¥यो । मनवहादुर मुखियाद्वाराद्वारालिखित निर्देशित अनि देउराली रुन्छ भारतको दार्जिलिङमा सन् १९७२ सेप्टेम्बर महिनामा गोरखा दुःख निवारक सङ्घमा पहिलो प्रदर्शन भएपछि यसले कलकत्तामा अर्को सफल मञ्चन गर्ने मौका पायो यस पश्चात काठमाडाँैमा यसको भव्य प्रदर्शन भयो ।
‘अनि देउराली रुन्छ’ पछि काठमाडाँैलाई नै लक्ष्य गरेर प्रताप सुब्बाको नाटक रातको प्रथम प्रहर काठमाडाँै आयो । यसमा दिव्य खालिङको संगीतले ठूलो असर पा¥यो भन्न सकिन्छ ।
नाटक लेखनमा मुखियापछि उनीसितै सहकार्य गरेका अर्का रङ्गकर्मी पी. अर्जुनले नेपाली रङ्गकर्मका निम्ति धेरै नाटक लेखे र निर्देशन गरे । अर्जुनबाहेक दार्जिलिङमा नाटक लेख्ने अन्य लेखकमा किरण ठकुरी, सीके श्रेष्ठ, मोहन पुकार , नन्द हाङ्खिम, टेम्बो लेप्चा, किरण ठकुरी, पिटर चेङ, नर्देन रुम्बा, राजु प्रधान हिमांशु आदिको नाम अगाडि आउँछ । दार्जिलिङमा जस्तै खर्साङमा टंक शर्मा, लक्ष्मण श्रीमल, पूर्ण गुरुङ निरूपण, समीर पाख्रीन, वालकृष्ण थामी , किशोर थापा आदि सक्रिय नाट्यकर्मी रहे ।
५. रङ्गमञ्चमा गीति नाटक
नेपाली रङ्गमञ्चमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनलाई भारतपछि नेपालमा मञ्च गर्ने क्रममा सांस्कृतिक संस्थानको योगदान अतुलनीय छ । सांस्कृतिक संस्थानले भन्दा पहिला कोकिल गुरुङले आफ्नै निर्देशनमा अम्बर गुरुङको संगीतमा मुनामदन काठमाडाँै र पोखरामा मञ्चन गरिसकेका थिए । पछि मुनामदनलाई चन्द्रराज शर्माको संगीतमा सांस्कृतिक संस्थाले प्रस्तुत ग¥यो । मुनामदनको सफल मञ्चनपछि प्रज्ञा प्रतिष्ठानले बसन्त श्रेष्ठको निर्देशनमा माधव घिमिरेको गीति नाटक शकुन्तला प्रस्तुत ग¥यो । यसपछि रायन द्वारालिखित निर्देशित सिम्मा गीति नाटक अपार सफलतापूर्वक मञ्चन भयो । सिम्माको सफलतासँगै प्रज्ञा प्रतिष्ठानले माधव घिमिरेलिखित मालत मङ्गले संगीतकार अम्बर गुरुङको संगीत र बसन्त श्रेष्ठको निर्देशनमा प्रस्तुत ग¥यो । गीति नाटक मञ्चन गर्ने क्रममा पचासको दशमा सांस्कृतिक संस्थानले देवकोटाको कुञ्जिनी चन्द्रराज शर्माको संगीत निर्देशनमा प्रस्तुत ग¥यो ।

६. नाट्य सङ्घ संस्था
पञ्चायती व्यवस्था भएको समय अञ्चलाधीश कार्यालय, दरबार र दरबारका आसेपासेका कारण वाक् स्वतन्त्रता नभए पनि जनजनमा अभिव्यक्तिको माध्यम नाटक र प्रहसन नै थियो र यस समय झन् धेरै नाट्य समूह र नाट्यकर्मीहरूमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा रङ्गकर्मसित आबद्ध थिए ।
देशमा पञ्चायती व्यवस्था लागू भएको पाँच वर्षपछि विभिन्न नामका सांगीतिक समूह स्थापना भए । त्यसमध्ये नवकला कुञ्ज, राल्फाली, लेकाली समूह केही सुपरिचित नाम भए तर पछि नाटक मञ्चन गर्ने उद्देश्यले काठमाडाँै, पोखरा, विराटनगर, इलाममा विभिन्न नाट्य समूह आबद्ध भए ।
विसं २०२५ सालदेखि २०४६ सालसम्म नेपाली रङ्गमञ्चका धेरै थरिका नाट्य समूह स्थापित भएको थियो । यस बेला पूर्वाञ्चलको विराटनगरमा भानु कला केन्द्र, पश्चिमाञ्चलको पोखरामा पोखरेली युवा सांस्कृतिक परिवार अनि विशेषतः काठमाडाँै केन्द्रित नाट्य समूहमा जेमन्त, सर्वनाम, श्री समूह, रङ्गकर्मी जमात, रङ्गस्रष्टा, युनाइटेड आर्टिस्ट, आरोहण, अड ग्रुप आदि देखा परे ।
श्री समूहले आफ्ना व्यावसायिक नाटक बन्दिनुस् न त, भोजन भट्ट, अँध्यारो उज्यालोमार्फत आफूलाई सक्रिय राखे भने जेनापले मोहनराज शर्माका नाटक बाहेक पछि चुइँया नामक नाटक पनि प्रस्तुत गरे । रङ्गमञ्चमा प्रयोगात्मक धार अपनाएर प्रस्तुत भएको सर्वनामले अशेष मल्लद्वारा लिखित नाटक धेरै प्रस्तुत गरे भने रङ्गकर्मी जमातले भारतका प्रसिद्ध लेखक विजय तेन्डुलकर, सुशीलकुमार सिंहका नाटक नेपालीमा अनुवाद गरेर प्रस्तुत गरे । युनाइटेड आर्टिस्टले प्रकाश सायमीको लेखन निर्देशनमा बन्धित आकाश, जिन्दगी र जिजीविषा , ... र विपिन, ब्रस, इजल र क्यानभास प्रस्तुत गरे ।
अड ग्रुपले प्रचण्ड मल्लको निर्देशनमा सुमन खरेल लिखित आघातलाई व्यावसायिक प्रदर्शनमा ल्याए । सर्वनामले जस्तै आरोहण समूहले पनि बद्री अधिकारीको सक्रियतामा प्रतिभा आकाश माग्छे, मूल सडककी आमा आदि प्रस्तुत गरे । आरोहण समूहले पछि (विशेषतः चालीसको दशकपछि) सुनील पोखरेलको परिकल्पनामा आरोहण शनिबार सुरु गरेपछि फ्रान्सेली सांस्कृतिक परिवारसित मिलेर अल्जेरियन लेखक आल्वेयर क्यामुको आउटसाइडर, फ्रान्सेली लेखक सात्र्रको विना चिहानको मृत्यु, मोहन राकेशको हिन्दी नाटक असारको एक दिन, मोलिएरको तारतुफ आदि प्रस्तुत गरे ।
पछि आरोहणकै समूहको सक्रियतामा पचासको दशकमा गुरुकुलको स्थापना गरियो ।
चालीसको दशकमै राष्ट्रिय नाचघरमा मनवहादुर मुखियाको क्रसमा टाँगिएको जिन्दगी प्रस्तुत भयो जुन नाटक व्यावसायिक रूपमा अत्यन्त सफल रह्यो । नेपाली रङ्गमञ्चका कीर्ति स्तम्भ हरिप्रसाद रिमालद्वारा निर्देशित सो नाटकमा पहिलो पटक दुई हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगै मञ्चमा आएका थिए भने महेश थापा, सुषमा शाही, गौतमरत्न तुलाधर, लोकमणि सापकोटा आदिले यादगार छाप छोडेका थिए । समपछि पद्य नाटक लेख्ने मुखियाको यो यस किसिमको पहिलो नाटक थियो ।
सांस्कृतिक संस्थानले यसबाहेक गोपालप्रसाद रिमालको मसान, वासु शशीको सबथोक गर्नुपर्छ, पी अर्जुनको हाँस्दै जल्नुपर्छ, महेश थापाको कुहिरोभित्र अल्मलिँदा, गणेश रसिकको के सक्कली के नक्कली, सुवास गजुरेलको दुई बाबुको एक्ली छोरी आदि पनि मञ्चन गरेको पाइन्छ ।
केशव मानन्धर, भीमबहादुर गुरुङ, यमबहादुर थापा, रामशेखर नकर्मी, गणेश सायमी, श्रीकृष्ण अणु यस बेलाका सक्रिय रङ्गकर्मी थिए ।

७. नाट्य प्रतियोगिता, प्रतिस्पर्धा र प्रशिक्षण
पञ्चायती व्यवस्था लागू भएको शाही शासनकालमै पनि नेपालमा धेरै नाट्य प्रतियोगिता र महोत्सव आदि भएको इतिहास पाइन्छ । हरेक नववर्षको आगमनसँगै नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने राष्ट्रिय नाटक महोत्सवका निम्ति हरेक देशका विभिन्न भूभागबाट नाट्यकर्मी अनि नाटककारहरू देखा पर्थे । यही नाटक महोत्सवबाट मीना श्रेष्ठ, रमेश बुढाथोकी, दीपक छेत्री, रवीन्द्र खड्का , सन्तोष पोखरेल, राजु सिलवाल, लेखनाथ सापकोटा ( सम्राट सापकोटा ), शबनम बज्राचार्य, शर्मिला शाही, शोभा सिंह, प्रद्युम्न चालिसे आदि देखा परे ।
यही महोत्सवबाट नाटककारका रूपमा उपेन्द्र दुःखी, मनहरि भण्डारी, अशेष मल्ल, सरुभक्त , दीपक आलोक , प्रकाश सायमी , बद्री अधिकारी , शमा श्रेष्ठ, मोहन निरौला , अविनाश श्रेष्ठ, रमेश केसी, नवीन सुब्बा, शारदा शाक्य, शारदा सुब्बा, मीना श्रेष्ठ आदि देखा परे ।
प्रज्ञा प्रतिष्ठानले गर्ने नाटक महोत्सव बाहेक साउन–भदौको महिनामा गाईजात्रा महोत्सवबाट हास्यकलाकार राजपाल थापा, आनन्द थापा, गोपालराज मैनाली, मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त , हरिवंश आचार्य , परीक्षित ढुङ्गाना , रमेश केसी ( मटारे) , शैलेन्द्र सिंखडा, उज्वल भण्डारी , तैयव शाह, उज्वल मैनाली आदि हास्य कलाकारका रूपमा चर्चामा आए ।
प्रज्ञा प्रतिष्ठानले रङ्गमञ्चको विकासलाई ध्यानमा राखेर तीसको दशकको पूर्वाद्धमा एकवर्षे कलाकार तालिम सुरु ग¥यो यस तालिमले पनि धेरै कलाकार जन्मायो । प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको नाट्य महोत्सवजस्तै गोदावारी एलुम्नाई एसोेसियसनले सुरु गरेको ह्याम्स् शिल्ड कम्पिटिसनबाट धेरै राम्रा नाटक कलाकार र लेखक प्रकट भए । अङ्ग्रेजी र नेपाली दुवै प्रकारको नाटक प्रतिस्पर्धी हुने यस महोत्सवबाट रामवहादुरको संसार नाटकबाट हरिहर शर्मा , अशेष मल्ल, किशोर पहाडी , सूर्यमाला शर्मा , दीपक छेत्री, सपना प्रधान, विजया गिरी , रेणु केसी , लक्ष्मी राणा जस्ता कलाकारहरू पुरस्कृत भएका थिए भने यही महोत्सवले काठमाडाँैमा अङ्ग्रेजी नाटक मञ्चनको वातावरण सुरु ग¥यो । सविना लेमन, मेरी इभान्स, अशोेक भट्टचन, ज्योतिमान शेरचन आदिले अङ्ग्रेजी नाटकमा निम्ति माहौल बनाए ।
चालीसकै दशकमा युवा नाटक महोत्सव सरकारी पहलमा भृकुटी मण्डपमा सुरु ग¥यो । प्रज्ञा प्रतिष्ठानले अभिनय प्रशिक्षण दिएजस्तै नेपाल थिएटर र आरोहण समूहले पनि यसलाई निरन्तरता दियो तर थिएटर वर्कसप २०४४ सालमा धरानको अनाम नाट्य समूहले आयोजना ग¥यो । अनामले आयोजना गरेको नेपालमा सम्पन्न भएको पहिलो थिएटर वर्कसपमा पूर्वाञ्चलका धेरै रङ्गकर्मी सहभागी भएका थिए जसमध्ये शारदा शाक्य, शोभा सुब्बा, शशी थापा सुब्बा, राजेन्द्र रिमाल, सन्तोष थेवे, एसटी कल्याणकारी, राज थापा, प्रेम सुब्बा, मदन गुप्ता आदि सहभागी भएका थिए भने यही थिएटर वर्कसपको पहिलो प्रस्तुति निजी आँखाहरू पनि त्यहाँ मञ्चन गरिएको थियो ।
चालीसको अन्त्यतिर देखा परेको पोखराको प्रतिविम्ब नाट्य समूह र काठमाडाँैको नवप्रतिभा नाट्यशालाले पनि पछि सम्म थिएटर वर्कसप र नाटक गरिरह्यो ।
पछिल्लो समय नेपाली नाटकको दुर्दशा बढ्दै गएपछि आरोहण समूह, गरिमा (मासिक) र डबली मिलेर विसं २०५६ पौष ९ देखि ११ गते सम्म काठमाडाँैमा थिएटर वर्कसप सम्पन्न भएको थियो । यसका आयोजन सहयोगीमा नेराप्रप्र, सांस्कृतिक संस्थान, लूनकरण दास गंगादेवी चौधरी साहित्य कला मन्दिर, बेन्टले र स्टुडिओ सेभेनका शम्भुकुमार लामा थिए ।

८. नाटकमा अनुवादको लहर
नेपाली रङ्गमञ्चको परिशिष्टमा जर्मनेली नाटककार बर्तोल्त ब्रेख्तको नाटक अब बाँकी नै के छ र विसं २०३९ सालमा रुद्रराज पाण्डे र सिद्धान्तराम जोशीको सक्रियतामा कोमल चित्रकारको अनुवादमा गोयथे इन्स्टिच्युटमा मञ्चन गरिएको थियो । नेपालमा ब्रेख्त मञ्चन भएको यो पहिलो इतिहास थियो । यसको ठिक सत्र वर्षपछि आरोहण समूहले काठमाडाँैको डबलीमा सेँचुआको असल मान्छे मञ्चन ग¥यो ।
रङ्गकर्मी जमातको पहलमा मुकुन्द श्रेष्ठ, जयन्त पौड्यालले हिन्दी भाषी सुशीलकुमार सिंह, विजय तेन्डुलकर, बादल सरकारका नाटक अनुवाद गरेर प्रस्तुत गरेका थिए भने मराठी उपन्यास थैँन्क्यू मिस्टर ग्ल्याडलाई नेपालीमा प्रकाश सायमीको अनुवादमा उसको कवितामा अब को रुँदैन मञ्चन रमेश बुढाथोकीले मञ्चन गरेका थिए । बुढाथोकीले यसबाहेक आर्थर मिलर, शेक्सपियरका नाटक पनि अनुवाद गरेर प्रस्तुत गरेका थिए । मुद्रा राक्षसको हिन्दी नाटक ‘गुफाहरू’ नयनराज पाण्डेले अनुवाद गरेर मञ्चन गरेका थिए ।
नाटक निर्देशक विजय विष्फोटले पनि गिरीश कर्नाड, विजय तेन्डुलकर, अनिल बर्वेका नाटक नेपालीमा रूपान्तरण गरेर मञ्चन गरेका छन् । मन्नू भण्डारीको हिन्दी नाटक महाभोज, स्वदेश दीपकको कोर्ट मार्सल पनि नेपालीमा अनुवाद भएर प्रस्तुत भएका छन् ।

८. नाटक लेखनमा निष्क्रियता
मञ्चनका लागि नाटक लेख्ने एक सक्रिय पुस्ता तीस र चालीसको दशकमा तयार भएको देखियो जसमा मनबहादुर मुखिया, वासु शशी, सरुभक्त, अशेष मल्ल, मनहरि खड्का, प्रकाश सायमी , दीपक आलोक , बद्री अधिकारी, मोहन निरौला, अविनाश श्रेष्ठ देखियो भने पचासको दशकपछि यो पुस्ता पूरा सेलायो । यसपछि नाटक लेखनमा अनुवादको जोड चल्यो ।
गुरुकुलको स्थापना २०६० सालमा भएपछि त्यहाँबाट अभि सुवेदी एक्ला नाटककार देखिए जो नाट्य लेखनमा सक्रिय भए । सुवेदीका केही नाटकलाई सुनील पोखरेल र शिव रिजालले मञ्चन गरे तर मौलिक नाटक लेखनको एक पुस्ता यसबेला शिथिल भइसकेको थियो । अनाम जमातका निम्ति नाटक लेख्ने रमेश केसी पूरै निष्क्रिय रहे भने शारदा सुब्बाले केही नाटकमा आफ्नो उपस्थिति देखाइन् ।
पुरु लम्साल, टङ्क चौँलागाईं, कृष्ण शाह यात्री, विप्लव ढकाल, कुमार नगरकोटी आदिले नाटक लेखनमा केही सार्थक सम्भावना दिए पनि नाट्य लेखनमा पहिला जस्तो हरियोपन देख्न सकिएन ।

९. वर्तमान नाटकको अवस्था
चालीसको दशकको अन्त्यपछि नेपाली नाट्यकर्ममा देखा परेका अनुप बराल, प्रकाश घिमिरे, विक्रम श्री, प्रकाश आङ्दम्बे, विजय विष्फोट, पुरु लम्साल, टङ्क चौलागाईं, विष्णु नेम्वाङ, डीबी किराँती, कृष्ण शाह यात्री, राम केयसी , टीकाभक्त जिरेल, अशोेक थापा, घिमिरे युवराज, गणेश गौतम, राजकुमार खतिवडा, दयाहाङ राई, राजन खतिवडा, सौगात मल्ल, सरिता गिरी, सिर्जना सुब्बा, विमल सुवेदी, पवित्रा खड्का आदिको भूमिका स्पष्ट देखिन्छ ।
नेपाली रङ्गमञ्चमा पहिलो महिला निर्देशक शकुन्तला शर्मा गुरुङ देखि पछि पुस्ताका शारदा शाक्य, सिर्जना सुब्बा, दिया मास्के, आकाङ्क्षा कार्की आदिको चर्चा गर्न सकिन्छ । यही क्रममा होटल बज्रको स्टुडिओ सेभेनपछि अङ्ग्रेजी नाटक गर्ने आयोजनकर्मीमा ललितपुरस्थित कमलमणि थिएटर पनि देखा प¥यो ।
नेपाली रङ्गमञ्चमा प्रज्ञा प्रतिष्ठानको निष्क्रियता एकातिर देखिन्छ भने सांस्कृतिक संस्थान पनि पहिलेजस्तो सक्रिय देखिँदैन । यस विषादपूर्ण अवस्थामा पनि मण्डला थिएटर, शिल्पी थिएटर , एक्टर्स स्टुडिओ अलि बढी सक्रिय देखिन्छ भने विभिन्न प्रदेशमा नाट्या संस्था खुल्दै र नाट्यकर्म गर्दै गरेको पाइन्छ । त्यस बाहेक नेपालमा वर्षेनि हुने गरेका नाट्य महोत्सव र एकाङ्की प्रतियोगिता अहिले न प्रज्ञा प्रतिष्ठानले आयोजना गर्छ न गोदावरी एलुम्नाई एसोसियसनले ?
नागरिक उड्ड्यन मन्त्रालयले आयोजना गर्ने युवा नाट्य महोत्सवजस्ता प्रतियोगिताहरू नुहुनुका कारणले मौलिक नाटक लेखनको अवस्था कमजोर हुँदै गएको सत्य स्वीकार्नै पर्छ । त्यस्ता महोत्सवहरूले पहिले मैथिली रङ्गमञ्चका हस्ती महेन्द्र मलङ्गिया , राजेन्द्र विमल जस्ता नाटककार दिएको थियो भने सुनील मिश्रा, मदन ठाकुर , रमेश रञ्जन झा, रामनारायण चूहाजस्ता कलाकार पनि दिएका थिए ।
अब विडम्बना के भयो भने नाटक किन हुन्छ र केका लागि हुन्छ भन्ने प्रश्न एकातिर छ भने नाटक मञ्चन गर्ने सङ्घ संस्था पनि सानो हलमा खुम्चिएर गएजस्तो देखिन्छ ।
यस परिस्थितिमा नाटक गरून्, नाटक लेखुन्, नाटक हेरुन् भन्ने नाराका साथ अब आउँदो पुस्ता अघि बढ्नुपर्छ ।
सम्भावना भएर पनि नाटकको मुक्ताकाशी मञ्चन, कचहरी नाटक, डबली नाटक वा सडक नाटक बन्द हुँदै गएजस्तो छ । नेपाली नाट्य विधामा नयाँ नाटक लेखिनुपर्छ । मौलिक रूपमा लेखिएको नेपाली नाटकको मञ्चनको अभियानले नै नेपाली साहित्यमा नाटक विधा मौलाउन सक्छ ।

मधुपर्क चैत २०७७