logo
२०८० चैत्र १५ बिहीवार



च्याउको बीउ बेचेर लखपति !

अर्थ |


च्याउको बीउ बेचेर लखपति !



जनार्जन खत्री
सर्लाही, फागुन १८ गते । सर्लाहीको बागमती नगरपालिका–१०, शङ्करपुरका ध्रुवप्रसाद चौलागाईंले च्याउको बीउ बिक्री गरेर मनग्य आम्दानी गरिरहनुभएको छ ।
तीन वर्षदेखि व्यवसायिक रुपमा च्याउ खेती गर्दै आउनुभएका उहाँले गत वर्षदेखि बीउ उत्पादन गरेर बेच्न थाल्नुभएको हो । आफूले अहिले दैनिक २५० ग्रामको एक हजार प्याकेट बीउ उत्पादन गरिरहेको चौलागाईंले बताउनुभयो ।
उहाँले उत्पादन गरेको च्याउको बीउ लिन यसअघि हेटौँडा, काठमाडौंजस्ता ठाउँमा धाउनु पथ्र्यो । अहिले भने यहीँ उत्पादन भएपछि यस क्षेत्रका व्यवसायिक रुपमा च्याउखेती गर्ने किसानलाई सजिलो भएको छ ।
पाँचपटक विदेश गएर फर्किनु भएका चौलागार्इंले करिब ५० लाख रुपियाँमा च्याउको बीउ उत्पादन गर्ने उपकरण किन्नुभएको छ । स्थानीय बजारमा अहिले च्याउको माग अत्यधिक रहेकाले च्याउ र बीउ दुवै बिक्री गर्न बजारको समस्या नभएको उहाँले बताउनुभयो ।
चौलागाईंले प्रतिप्याकेट ४० रुपियाँमा स्थानीय किसानसँगै सिन्धुली, रौतहट र महोत्तरीका किसान तथा कृषि ज्ञान केन्द्र सर्लाहीलगायत देशका विभिन्न ठाउँमा बीउ बिक्री गर्नुहुन्छ । उत्पादन भएको बीउ तुरुन्त बिक्री हुन्छ ।
च्याउ खेती र बीउ उत्पादन गर्न उहाँकी श्रीमतीको पनि सहयोग छ भने स्थानीय तीन जनालाई रोजगारी समेत मिलेको छ । यही व्यवसायको कमाईबाट चारकठ्ठा जग्गा खरिद गरेको चौलागाईंले बताउनुभयो । खर्च कटाएर मासिक एक लाख रुपियाँ माथि आम्दानी गरिरहेको उहाँले बताउनुभयो ।
२०७४ सालदेखि व्यवसायिक च्याउ खेती सुरु गर्नुभएका चौलागाईंले एक हजार पाँच सय पोका राख्न सक्ने क्षमताको टनेल र घरको तल्लो तलामा एक हजार पोका च्याउ खेती गरिरहनु भएको छ । बेमौसमी च्याउ खेतीका लागि घरको दुईवटा कोठालाई चिसो बनाइराख्न एयर कन्डिसनसमेत जडान गरेको चौलागाईंले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?