logo
२०८१ बैशाख ६ बिहीवार



 प्रेमको समाजशास्त्र/टिप्पणी: ‘माधवी’को दुःखान्त प्रेम

कला |


 प्रेमको समाजशास्त्र/टिप्पणी: ‘माधवी’को दुःखान्त प्रेम


रामेश्वरी पन्त

उत्तरवैदिककालीन भारतीय समाजको कथामा आधारित उपन्यास हो ‘माधवी’ जसमा एउटी महान नारीको त्याग, बलिदान, निष्ठा र कारुणिक प्रेमको कथा छ । माधवी उपन्यास प्रेमको एउटा विशाल समुद्र हो । त्यो विशाल समुद्रभित्रकी ‘दिव्यरत्न’ माधवी र उसको जीवन भोगाइसँगै जोडिएर आएको त्यो प्राचीन भारतीय समाजको कथा पढ्दा उपन्याससँगै एउटा बृहद् समाजशास्त्र पढेजस्तो लाग्छ । महाभारतको उद्योग पर्वमा ‘अतिहठ’ को परिणाम कस्तो हुन्छ भनेर दुर्योधनलाई सम्झाउन अध्याय १०६ देखि १२३ सम्म ‘गालव चरित्र’को वर्णन गरिएको र यही प्रसङ्गलाई माधवी उपन्यास लेखनको आधार मानिएको स्वयं उपन्यासकार मदनमणि दीक्षितको भनाइ छ । यद्यपि यसका मुख्य पात्र र मूल विषयबाहेक उपन्यासमा भएका अरू सबै घटना र प्रसङ्ग उपन्यासकारको कल्पनामा आधारित छ । यही काल्पनिकीमा सिर्जिएको उपन्यासका दुई मुख्य पात्र ‘माधवी’ र ‘गालव’बीचको प्रेममा केन्द्रित रहेर यो लेख अगाडि बढ्नेछ । (स्मरण रहोस्, महाभारतमा उल्लेखित प्रसङ्गमा माधवी र गालवबीच प्रेमको कुनै गुन्जाइस नै देखिँदैन ।)

प्रेमको त्रासदी
माधवी उपन्यासभित्रकी मूल पात्र माधवी सिङ्गो नारी जातिकी प्रतिनिधि पात्र हो । माधवीले आजभन्दा हजारौँ वर्षअघि भोगेको जीवन कहीँ न कहीँ प्रत्यक्ष वा अप्रत्यक्ष रूपले पूर्वीय समाजका आजका नारीहरूले पनि भोगिरहेका छन् । माधवीको जीवनभोगाइसँगै उसको मनमा हुर्किएको प्रेम अन्ततः कसरी मनभित्रै ओइलाउन विवश हुन्छ ? कसरी एउटी नारीको त्याग र समर्पणयुक्त प्रेमको छहारीलाई एउटा हठी पुरुषले आफ्नो अहङ्कारको लाठी चलाएर भताभुङ्ग पार्छ ? यही सेरोफेरोमा घुमेको कथामा ऋषि विश्वामित्रको शिष्य गालवलाई शिक्षा पूरा भएपछि स्वतन्त्र गरिदिन्छन् र आश्रमबाट जान भन्छन् । तर गालवले गुरुदक्षिणा दिएबिना आफू कदापि नजाने हठ गरेपछि क्रुद्ध भएका विश्वामित्रले गुरुदक्षिणा स्वरूप चारवटा श्यामकर्ण घोडा माग्छन् जुन गालवको वशमा हुँदैन । असम्भव गुरुदक्षिणा मागेपछि श्यामकर्ण घोडाको खोजीमा भौँतारिँदै गालव एक दिन महादानी कहलिएको राजा ययातिको दरबारमा पुग्छ ।
उपन्यासकी नायिका ययातिपुत्री माधवी पहिलो पटक २१ वर्षको उमेरमा वरुणबलि समारोहमा गणिकाको रूपमा देखापर्छे । महाभारतमा व्यासले देवकन्या भनेकी राजपुत्री माधवीलाई ‘माधवी’ उपन्यासमा किन गणिका (अर्थात् नर्तकी वा साझा भोग्या) बनाइयो ? यसको उद्देश्य के थियो ? भनेर खोज्यो भने उपन्यासभरि कतै पाइँदैन । त्यो परम रूपवती माधवीको प्रथम प्रवेश नै अत्यन्त क्रुरतम् रूपमा भएको छ जसको हातबाट आमाको काखमा टाँसिएर बसेको एउटा अबोध शिशुलाई खोसेर दनदनी बलिरहेको आगोमा हालेर बलि दिइएको छ र लगत्तै मदिराको नशामा लठ््ठिएकी माधवीलाई नग्न अवस्थामा उठाएर राजपुरोहितले एकान्ततिर लैजान्छ । यस उपन्यासले सुरुमै पाठकको मनलाई नराम्रोसँग धक्का दिन्छ । एउटा नमीठो, दर्दनाक एवं सामाजिक यथार्थभन्दा धेरै टाढाको लाग्ने परिवेश र घटनाबाट माधवीको भूमिका सुरु हुन्छ । यही वरुणबलि समारोहमा आउँदै गर्दा उपन्यासकी नायिका माधवी र नायक गालवको देखादेख हुन्छ र यही क्रममा दुवैबीच नजानिँदो पे्रमाकर्षण पैदा हुन्छ ।
यता माधवी गणिका नियुक्त हुन्छे, उता ऋषिकुमार गालव श्यामकर्ण घोडा माग्न ययातिसँग पुग्छ । दानवीर कहलिएको ययातिसँग श्यामकर्ण हुँदैन । ययातिको दानशीलताको आडम्बरलाई गालवको गुरुदक्षिणाको घमण्डले चुनौती दिन्छ तर यी दुईको ‘आडम्बर’ र ‘घमण्ड’को जाँतोमा पिँधिन विवश हुन्छे एउटी निर्दोष नारी माधवी । आफ्नो दैलोमा झोली फैलाएर भिक्षा मागिरहेको एक संन्यासीलाई रित्तै फर्काउँदा ययातिको दानशीलताको अहम्मा ठेस लाग्ने भएपछि अन्ततः आफ्नी उही परम् रूपवती पुत्री माधवीलाई घोडा प्राप्तिको साधनका रूपमा गालवको साथ लगाएर पठाउँछ ताकि उसले श्यामकर्ण भएका राजाकहाँ गएर तिनको गर्भ धारण गरी छोरा जन्माइदेओस् र गालवको निम्ति घोडा प्राप्त गरिदेओस् । गालवले भिक्षाका रूपमा माधवीलाई लिएर श्यामकर्ण घोडाको खोजीमा यात्रा सुरु गर्छ । गालवको शिर गौरवले ठडिन्छ तर दान गरिएकी माधवी दासत्वको कहरले कुँडिन्छे । केहीअघिसम्म माधवी बाबुको सम्पत्ति थिई र वस्तुजस्तै गरी ऊ एउटा ऋषिकुमारको भिक्षापात्रमा हालिई । अब ऊ गालवको सम्पत्ति हुन्छे ।
अघि भर्खर आफ्नै हातले निर्मम तरिकाले बालकलाई बलि दिएकी माधवी आफ्नै बाबुको यशको निम्ति बलि चढेर एउटा अपरिचित पुरुषको पछि लाग्दै अनिश्चित गन्तव्यतिर पाइला चाल्न विवश हुन्छे । माधवी गालवको निम्ति भिक्षामा पाइएकी वस्तु मात्र हुन्छे । अब उसलाई गालवले जसरी चाह्यो उसरी प्रयोग गर्न सक्छ । उद्देश्य त दुवैको एउटै हुन्छ– श्यामकर्ण प्राप्त गर्नु तर स्वार्थ गालवको हुन्छ, माधवी त उसको स्वार्थ पूरा गर्ने साधन मात्र हुन्छे । यद्यपि यस यात्रामा दुवै एक अर्काप्रति आकर्षित हुन्छन् । दुवैको मनमा एकअर्काप्रति
प्रेमको बीजाङ्कुरण हुन्छ, उनीहरूको प्रेम झाङ्गिदै जान्छ । माधवीलाई आफू गालवको निम्ति केवल घोडासँग साटिने ‘वस्तु’ हो भन्ने थाहा छ तर पनि उसले गालवलाई अत्यन्त प्रेम गर्छे । गालवको लक्ष्य पूरा भएपछि उसैसँग विवाह गरेर एउटी स्वतन्त्र नारीले जस्तै जीवन बिताउने कल्पनामा पिङ खेलिरहन्छे । माधवीप्रति आकर्षित भए पनि लक्ष्य साधना गालवको प्रमुख उद्देश्य हुन्छ । ‘आफ्नो उद्देश्य पूरा भएपछि मलाई भुल्ने त छैनौ नि गालव !’ भन्दै माधवीले पटक पटक गालवसँग प्रेमको सहीछाप लगाउन खोज्छे किनकि यो यात्राभरि गालवबाहेक उसको आफ्नो भन्ने नै अरू को थियो र ? गालवले माधवीलाई आश्वस्त पार्छ । श्यामकर्ण प्राप्तिपछि दुवैले विवाह गरेर सुखी जीवन जिउने वाचा गर्छ गालवले र दुवैले एकअर्कालाई प्रेम गर्दै अघि बढिरहन्छन् ।
यौवनको सँघारमा टेक्नेबित्तिकै अत्यन्त गह्रुँगो भारी बोकाइएकी माधवीको जीवनमा यौवनको चञ्चलताले ठाउँ नै पाएन कहिल्यै । ऊ एउटा अपरिचित युवकको लक्ष्य साधनानिम्ति उसलाई बाटो देखाउँदै देखाउँदै यात्रामा अघि बढ्छे । गालव उसको पछिपछि लाग्छ । घोडा प्राप्त गर्न छोरा जन्माइदिनुपर्ने मेसिनका रूपमा परिणत हुन्छे माधवी । गालवसँग हिँड्दै हिँड्दै विभिन्न चार पुरुषबाट चार पुत्र जन्माइदिन्छे । ऊ यस्तो मेसिन बन्छे कि एक स्थानमा एक राजाबाट पुत्र जन्माएपछि तुरुन्त नै अर्को देशमा अर्को राजाको गर्भधारण गरी अर्को पुत्र जन्माउन र अर्को श्यामकर्ण प्राप्त गर्न हतार गर्नुपर्ने हुन्छ । उसलाई न आफूले जन्माएको सन्तानलाई माया गर्ने हक बन्छ न उसले आफ्ना नवजात शिशुलाई स्तनपान गराएर सम्पूर्ण मातृत्व खन्याउन पाउँछे । न त त्यो जन्मने शिशुले आमाको न्यानो काख नै पाउँछ ।
गालवले माधवीलाई अयोध्या, काशी, भोजनगरका राजाहरूसँग लगेर सुम्पन्छ । माधवीले उनीहरूका अलग अलग तीन पुत्र जन्म दिन्छे र तिनको सट्टा गालवले एकएकवटा श्यामकर्ण घोडा प्राप्त गर्छ । अन्ततः तेस्रो घोडाको निम्ति गालवले माधवीलाई नै गुरु विश्वामित्रसमक्ष पेस गर्छ र विश्वामित्रले आफ्नो भतिजामार्फत माधवीबाट चौथो पुत्र जन्माउँछन् (महाभारतमा भने स्वयं विश्वामित्रले माधवीबाट पुत्र जन्म गराएको कुरा छ) । श्यामकर्ण प्राप्त गर्न परम् सुन्दरी माधवीलाई चार अलग अलग पुरुषहरूको जिम्मा लगाउँदा गालवको मन नकुँडिएको त होइन तर पनि हरेक पटक माधवी सुम्पनुअघि उसलाई सम्झाउने गथ्र्यो, ‘लक्ष्यसिद्धि पछि तिमी र म बिहे गरेर सँगै जीवन बिताउँला ।’ माधवी मक्ख पर्थी । यही आसमा उसले आफ्ना कष्टकर दिनहरू बिताई । चारचार पुरुषहरूकी भोग्या बनेर तिनका सन्तान जन्माउनुपर्दाको पीडा भुलिदिई । एकपछि अर्को गर्दै प्रसव अवस्थामै आफ्ना नवजात शिशुलाई मातृत्वको धाराबाट विमुख पार्दै तिनका बाबुलाई सुम्पेर हिँड्नुपर्दाको अकल्पनीय पीडा बिर्सिदिई ।

माधवीको धूलिसात् सपना
माधवीले आफ्नो बाँच्ने आधार गालवसँगको प्रेम नै ठानिरही । उसले सोचिरही, गालवले पनि उसलाई प्रेम गर्छ । यही प्रेमिल सोचाइले माधवीलाई यी सब पीडा र कष्ट भुल्न सहज भयो । प्रेम त गालवले माधवीसँग पनि नगरेको कहाँ हो र ! श्यामकर्ण प्राप्तिको यात्राभरि एकअर्काको सुखदुःखको साक्षी दुवै नभएका होइनन् । बाँकी जीवन सँगै बिताउने वाचासँगै दुवैले सँगसँगै जूहीको माला नउनेका पनि होइनन् तर हरेक पटक विवश हुन्छ ऊ घोडासँग आफूले प्रेम गरेकी माधवीको कोख साट्न । किनकि उसलाई माधवीको प्रेमभन्दा पनि आफ्नो लक्ष्य ठूलो छ । कसरी गुरुदक्षिणाको भारबाट छिटो मुक्त हुने भन्ने चिन्ता हुन्छ । तर जति जनासँग माधवीको कोखको मोलमोलाइ भए पनि उसले आफ्नो मनको मोलमोलाइ हुन कहिल्यै दिइनँ किनकि उसको शरीर पो अरूले भोगेको हो, मन त केवल गालवकै निम्ति सुरक्षित राखेकी हुन्छे । उसको मनभित्र अरू कसैले स्पर्स गर्नसमेत पाउँदैन ।
गालव माधवीलाई प्रेम गर्छु भन्छ तर एउटा ऋषिकुमार भएर पनि स्वतन्त्र छ जोसुकै स्त्रीलाई स्पर्स गर्न । जोसुकै स्त्रीसँग रात बिताउन । श्यामकर्ण प्राप्तिको अभियानभरि नै माधवी एउटी तपश्विनीझैँ आफ्नो लक्ष्य साधनामा लागिरहन्छे आफ्नो शरीरको आहुति दिँदै र
भोलिको स्वतन्त्र जीवनको कल्पनामा रमाएर । तर यस अभियानभरि नै ऋषिकुमार भनिएको गालव परस्त्रीगामी देखिन्छ । जोसुकैसँगको सम्भोगमा ऊ रमाएको छ । मदिरामा झुम्दै दासीहरूसँगको सम्भोगमा रमाएको छ । मदन महोत्सवमा ‘ऋतुदान’ गर्दै हिँडेको छ । यता माधवी भने गालवको निम्ति स्वयंलाई कष्टपूर्ण मार्गमा हिँडाइरहन्छे र पनि गालवप्रति उसको प्रेमको गहिराइ झन्झन् गहिरिँदै गइरहेको हुन्छ ।
एउटा कुरा के चाहिँ सत्य हो भने नारीको प्रेम समर्पणयुक्त हुन्छ । उसले कसैलाई प्रेम गरेकी हुन्छे भने हृदयदेखि नै गर्छे, सम्पूर्ण रूपले गर्छे । तर पुरुषले उसको त्यो हार्दिकता र निःस्वार्थ प्रेमको गहिराइलाई मापन गर्न खोज्दैन । केवल सतहमा उसको शरीरलाई प्रेम गरिरहन्छ जसरी गालवले माधवीको शरीर र रूपलाई प्रेम ग¥यो । जब उसको सतही प्रेमले शरीरको प्यासलाई मेटाउन पाउँदैन अनि लत्याइदिन्छ त्यो हार्दिकता, त्यो त्यागलाई । पुरुषको प्रेम क्षणिक र स्वार्थपूर्ण हुन्छ । स्वार्थ पूरा भएपछि उसको प्रेमको पनि अन्त्य हुन्छ । त्यसैले त भनिन्छ– नारी मनले प्रेम गर्छे, पुरुष मष्तिस्कले । त्यही भएर त प्रेमको नाममा कैयौँ नारीहरूको भागमा धोका र बेइमानी मात्र पर्न पुग्छ अनि अनेक हण्डर, ठक्कर र अपमान खाँदै बाँच्न वा मर्न विवश हुन्छन् ।
गालवको प्रेम पनि यस्तै स्वार्थी रह्यो । श्यामकर्ण यात्राभरि उसको मनमा माधवीप्रति केवल अनुराग हुन्छ । ऊ माधवीको मनमा, उसको समर्पण र त्यागमा भन्दा पनि शरीरमा बढी आकर्षित देखिन्छ । माधवी यसलाई गालवको प्रेम सम्झन्छे । माधवीबाट स्वार्थ पूरा नहुँदासम्म उसलाई यसैगरी प्रेम गरेजस्तो गरिरह्यो तर जब स्वार्थ पूरा भयो, तब बिर्सिदियो आफूले गरेको वाचा र त्यागिदियो माधवीलाई । श्यामकर्ण प्राप्तिपछि माधवीलाई लिएर ययातिसमक्ष पुगेको गालव माधवी स्वयंवरबाट सुटुक्क भागिदियो ।

गालव किन भाग्यो ?
माधवीसँग बिहे गरेर सँगै जीवन बिताउने वाचा गरेको गालव स्वयंवरबाट किन भाग्यो होला त ? मनमा अनेक प्रश्न खेल्छन् र जवाफको खोजी गर्छ मनले । गुरुदक्षिणा तिरेर गुरुऋणबाट मुक्त भइसकेको गालव माधवीलाई लिएर ययाति दरबारतिरको बाटो लाग्छ । बाटोमा स्वर्णभद्र नदीको किनारमा रात पर्छ । दुवै त्यहीँ बास बस्छन् । माधवीप्रति गालवको आशक्ति बढ्छ । उसले माधवीसँग चुम्बन माग्छ तर माधवीले विवाहअघि चुम्बन दिन अस्वीकार गर्छे किनकि ऊ अब गालवको दासत्वबाट मुक्त भएर स्वतन्त्र भइसकेकी हुन्छे । माधवीको अस्वीकारले गालवको पुरुष अहम्मा ठेस पुग्छ । उसले माधवीलाई रातको अन्धकारमा त्यत्तिकै एक्लै छोडेर त्यहाँबाट हिँड्छ । माधवी उसलाई खोज्दै हिँड्छे र अन्ततः फेरि दुवै भेट भएर ययाति दरबार पुग्छन् ।
जीवनका अहम् दिन गालवको स्वार्थमा खर्चेकी माधवीको गालवसँग स्वतन्त्र जीवन बिताउने रहर पूरा हुनै लागेको स्वयंवरको अघिल्लो रात गालवको ‘पुरुषमन’ले अनेक कुरा खेलाउँछ । आफ्नै हातले चारचार पुरुषको भोग्या बन्न सुम्पिएकी माधवीसँग उसले किन बिहे गरोस् ? चारचार सन्तानकी आमा बनिसक्दा माधवीमा पहिलेजस्तो यौवनको चमक पनि त कहाँ बाँकी थियो र ? फेरि बडो कष्टसाथ कमाएको यश सम्झियो । गालव त पुरुष हो । उसका निम्ति प्रेमभन्दा प्रतिष्ठा ठूलो हुन्छ । किन आफ्नै गुरु समेतले भोगेकी माधवीलाई पत्नीका रूपमा स्वीकार गरोस् ? नारीदेहको भोक नै पो के बाँकी रहेको थियो र उसमा ! ऊ त श्यामकर्ण अभियानमै कैयौँ नारीदेह भोगेर तृप्त भइसकेको थियो ।
उसले माधवीको श्रेष्ठता सम्झियो । माधवी ज्ञान, बुद्धि र विवेकमा उभन्दा उत्कृष्ट ठहरिएकी छ । माधवीको श्रेष्ठता स्वीकार्न पनि उसको अहम्ले मानेन । एउटा चुम्बन नै त मागेको थियो उसले माधवीसँग ! यसमा पनि माधवीले आफ्नो श्रेष्ठता स्थापित गर्दै चुम्बन दिन अस्वीकार गरी । एउटा पुरुषका लागि योभन्दा अपमान अर्को के हुन सक्ला ? कसरी बिर्सन सक्थ्यो गालवले ? अन्ततः मित्रलाई स्वयंवरमा डाक्ने बहाना बनाएर उज्यालो नहुँदै दरबारबाट हिँडेको गालव स्वयंवरमा आउँदै आएन । माधवीले अन्तिम क्षणसम्म पनि गालवको बाटो हेरिरही तर ऊ आएन । गालवले आफ्नो निश्चल प्रेम, त्याग र बलिदानको अपमान गरेको महसुस हुन्छ माधवीलाई र हातमा लिइरहेको स्वयंवरको माला भुइँमा फालेर तत्काल वनको बाटो समाउँछे र वैष्णवी भएर वनका मृगहरूसँगै खेलेर रमाउँछे ।
माधवीको त्याग, समर्पण र बौद्धिकताको गुणगान गरेर माधवीलाई गालवभन्दा श्रेष्ठ देखाउन उपन्यास कहीँ कतै चुकेको छैन तर पनि अन्त्यमा आएर आफ्नै गुरुले समेत भोगेर थोत्रिएकी माधवीलाई स्वीकार्न नचाहेको गालवले स्वयंवर छोडेर भागेपछि विरक्तिएर वानप्रस्थी बन्दै वैष्णवी बनेकी माधवीलाई पुनः गालवको खोजीमा भौँतारिन लगाएको छ र अन्त्यमा उही स्वार्थी र बैगुनी गालवकै संरक्षकत्वमा रहेको देखाएर उपन्यासको अन्त्य भएको छ ।

उपन्यासकी माधवी
पुरुष नारीप्रति कहिल्यै उदार हुन सकेन, न माधवीको समयमा हुन सक्यो न आज भएको छ । सृष्टिपछि कैयौँ युग बिते तर पुरुषले कहिल्यै नारीको इज्जत गर्न जान्यो न त उसको आत्मसम्मानको कदर गर्न । ऊभित्रको अहम्ले उसलाई नारीभन्दा एक श्रेणीमाथि नै राखिरह्यो हमेसा । नारीको बौद्धिकता, त्याग, बलिदान सबैलाई उसले आफूप्रतिको कर्तव्य वा सेवाको रूपमा मात्र हेरिरह्यो ।
‘ऊ जमानाको’ महाभारतले नारी स्वाभिमानलाई विजयी गराउँदै बरु संन्यासिनी बनाएर वन पठाएकी माधवीलाई ‘यस जमानाको’ माधवी उपन्यासले पुनः ‘गालवशरणम्’ गराएर नारीको त्याग, बलिदान र स्वाभिमानलाई शिखरमा पु¥याएर एकैचोटि गल्र्यामगुर्लुम्मै खसालेको छ र पुरुषको सहाराबिना बाँच्नै नसक्ने गरी पछारेको छ । माधवी उपन्यासको अन्त्यसँगै नारी स्वाभिमानको पनि अन्त्य भएको छ । एउटी नारीको विजय–यात्रा निष्काम भएको छ, प्रेमको नाममा पराजित भएको छ । सम्पूर्ण उपन्यासभरि माया, प्रेम, करुणा, त्याग, बलिदान र बौद्धिकताको कसीमा घोटिँदै
घोटिँदै र खारिँदै खारिँदै खरो उत्रेकी एउटी महान् नारीलाई पुरुषको सहाराबिना बाँच्नै नसक्ने गराई उसको पवित्र प्रेमको अवमूल्यन गराएर उपन्यासको अन्त्य भएको छ ।

- मधुपर्क २०७७

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?