logo
२०८० चैत्र १६ शुक्रवार



कथा: उत्सवपछिको अवसाद

कला |


कथा: उत्सवपछिको अवसाद


हामी दुई घरमुली एकअर्काका छिमेकी सँधियार हौँ । बन्दबन्दीअघि हामी प्रायः सँगै मर्निङ वाक जान्थ्यौँ । कोभिड कोपले मान्छेका कतिपय मौलिक अभ्यस्तता नराम्ररी टुटाइदिएको छ । संसारभरि नै यो अवस्था एउटा सङ्क्रमणकाल जस्तो भएको छ ।

मेरा सँधियार साथी कर्णध्वज क्वारेन्टाइनमा राखिएको कुरा मैले दुई दिनपछि पत्तो पाएँ । बाह्र दिन क्वारेन्टाइन कटाएर उनी घर फर्किसकेको पनि मलाई अत्तोपत्तो भएन । अस्ति छतबाट हेर्दा उनीकहाँ राम्रै जमघट थियो । सबका सब मास्कले होला को–को हो खुट्टयाउन मलाई धौ–धौ प¥यो । साँधको पर्खालमा अडेस लागेर मस्तसँग मोबाइल चलाइरहेको उनको नातिलाई सोध्दा म खङ्ग्रङ भएँ । झट्टपट्ट मास्क भिरेर त्यहाँ पुगेँ । ठूलै खलबल भइरहेको थियो । छतमा जोडिएको उनको एक्लो कोठा बन्द थियो । सबैका अनुहार दुःख र पीडाको सट्टा भय–त्रासमा आक्रान्त भएको पाएँ । मसँग कोही बोलेनन् । मान्छे मरिसकेपछि केही सोध्ने आवश्यकता पनि ठानिनँ । सबै आ–आफ्नो मनसायले टीका टिप्पणी गरिरहेका थिए । बिहानको दस बजिसकेको थियो । ढोका खोलेर भित्र पस्ने कसैको साहस भएन ।
बिस्तारै गएर मैले झ्यालतिर चिहाएँ । झ्याल खुल्लै रहेछ । मैलिएर खैरो रङमा फेरिसकेको पातलो सिरक भुइँमा लत्रिएको थियो । मृतक एकदम उत्तानो परेर आँ.. मुख बाइरहेको र आँखा ट्वाल्ल पारेर दलिन हेरिरहेको थियो । झ्यालको ग्रिलबाट छिरेको झिनो घाम उनको मुखमा परेर हराइरहेको थियो । एउटा कुनोमा फोहोर टोकरी भरिएर टुक्राटाक्री बाहिर छरिएका थिए । खाट अगाडिको टेबुलमा आधा टोकेको बिस्कुटमाथि झिङ्गा भन्किरहेका थिए । बिस्कुटको कच्याककुचुक खोल र खाली पानीको बोतल भुइँमा सँगै परिरहेका थिए । म फरक्क फर्केर छतको कुनामा गएँ । भिज्दै गरेको आँखा पुछेँ ।
बाह्र बजेतिर स्वास्थ्यकर्मीहरू पीपीइमा देखा परे । ढोका अब बिस्तारै खुल्यो चुईं..ई..अ । स्वाब झिकेर स्वास्थ्यकर्मीहरू हिँड्न लाग्दा मृतकका ज्वाइँले भन्न भ्याए, “ए हजुर रिपोर्ट जतिसके छिट्टै पाए सत्गत राम्रोसँग गर्न पाइन्थ्यो ।” प्रतिउत्तरमा स्वास्थ्यकर्मीले भने “ल्याबमा ताँतीका ताँती छ । हाम्लाई सास फेर्ने फुर्सद छैन । सांसद, मेयरदेखि मन्त्रीसम्म । मेरो फलानो ढिस्कानोको छिटो छिटो भनेर थेगिनसक्नु दबाब आउँछ ।” गाडीमा पुगेपछि एक जना स्वास्थ्यकर्मीले साथीलाई सुनायो– ‘उता हजुरबा बुढाको लासमा झिँगा नाचिरहेको छ । नाति यता हँसीमजाक गरेर मन बहलाउँदैछ । क्या गजब छ बा ।”
आज दिउँसो त्यहाँ चिया पिउँदै थियौँ । मैले मृतकको कोठातर्फ हेर्दा ढोका–झ्याल बन्द थिए । यही बीचमा मृतकका छोराको मोबाइल बज्यो । मोबाइलमा बोल्दा–बोल्दै उसको अनुहार उज्यालो हुँदै आयो । कुरा सकियो । सबैतर्फ आँखा दौडाउँदै भन्यो, “अब ढुक्क भयो । कोभिड रिपोर्ट नेगेटिभ आयो ।” सबै उत्साहित हुँदै बोले, “धेरै राम्रो भाग्यले रिपोर्ट छिट्टै आयो ।” भित्र मृतकलाई चटक्क बिर्सेर नेगेटिभ रिपोर्ट आएकोमा सबै हर्षित देखिए । त्यस शून्यावस्थालाई घचेट्दै मृतककी एउटै छोरी भइन् प्रथम रुनेमा, “मेरो डैडी ! हामीलाई टुहुरो बनाएर जानुभो हुँ हुँ ।” बुहारी पनि के कम “बुबाहजुर ! यति चाँडै हाम्लाई छलेर गैस्यो हुँ..हुँ...।” अब बाँकी छोरो, ज्वाइँ भतिजा–भतिजी, नाति सबैको रुने लस्कर जाग्यो । टोलै एकचोटि थर्कियो । अनि छोरा, बुहारी रुँदै ढोका खोल्न दौडे । पछि–पछि सबै कोठाभित्र पसेर लासलाई सबैले ढपक्क छोपे । उत्सवपछिको अवसाद भनेझैँ त्यहाँ गहिरो शोक उत्सव मनाइरहेको देखिन्थ्यो । नरुनेमा त्यहाँ एउटा सानो सेतो बेलायती कुकुर थियो । यो कुकुर आफ्नो पुच्छर टोक्दै वरिपरि चक्कर मारिरहेको थियो ।
लासबाट हल्का महक आउन थालिसकेको रहेछ । “ढिलो चाँडो सबै जानुपर्छ यस्तो कुरामा ढिला नगर्नु राम्रो ।” मैले भनेँ । “ल ल बुबालाई तुलसीको मठमा लगेर सुताइहालौँ ।” छोराले हतारिँदै बोले । त्यसपछि रुने प्रतिस्पर्धा यन्त्रवत् रोकियो । सुतेको पातलो डस्नामा मृतकलाई झ्यानाकुटी पार्दै उचालेर तुलसीको मठमा लगेर सुताइयो ।
अन्त्येष्टी सकेर घर फर्कंदा रात परिसकेको थियो । विस्तरामा पल्टेँ । निद्रा पटक्कै लागेन । आज धेरै थकाइ लाग्यो । घरपरिवार विगत र वर्तमान सम्झेँ एक प्रकारको छटपटाहटले छोप्यो । जीवनको क्षणिक तिक्तताको बोध बल्ल थाहा भयो । घरको बूढो मूढो बराबर न हो । यस विश्रान्तिकालमा सबैको हाल यस्तै हो । पुरानो जान्छ समयले नयाँलाई दिन्छ । बिहान ऐना हेर्दा दाह्री बढेर अनुहार भूतजस्तो देखेँे । के गर्नु उमेरमा यो पाखुरोमा कति बल थियो । किशोरवयमा दुई चार जनाले आँट गर्न सक्दैनथे । बाल बराबर । अहिले त हावाले पनि लडाउन खोज्छ । मन अधीरताको डुङ्गामा दौडन खोज्छ । जीवनले कर्म माग्दोरहेछ, कल्पना होइन । अवर्णनीय जटिलतामा सबै हामी जकडिएका रहेछौँ । कोठाको बन्द ढोकामा एकोहोरो टोलाइरहेँ । रातको १२ बजिसकेछ । छटपटीको कब्जामा आधारात भयो ।
अहो ! यी रात र दिन कति लामा, ढिला, कठिन घडीमा । मन थाक्यो आँखा थाक्यो ।
यो सानो कोठा छेउमा सानो झ्याल छ । मैले झ्याल खोलेर बाहिर हेरिरहेँ । साउने झरी झरिरहेकै छ । घेरिएको पर्खाल पूरै झारले छोपिएको छ । बीचबीचबाट लामिएका झारहरू यताउता तलमाथि हल्लिएर झरी–भार सहन गरिरहेका देखिन्छन् । पारिपट्टि आँखा दौडाएँ । त्यो सडकको हालत निर्निमेष हेरिरहेँ । फराकिलो भएर गएको सडक सुनसान छ । आँखा धमिलो भएर आयो । बतासको बलियो झाँेकाले छातीमा हान्यो । मन कता जाउँ, के गरुँझैँ चञ्चल भयो । अर्कै प्रकारको बेचैनीले गर्दा म बाहिर निस्किएँ । रातिको खानामा नुन बढी परेछ । तिर्खाले हैरान बनायो । आज बोतलमा पानी राख्न पनि बिर्सिएछन्, हरे ! दुई घुट्को पानी रहेछ । छतमा गएर रातको चकमन्नतामा यताउता हराइरहेँ । खोकी लाग्यो । एकदम सुख्खा । लौ यो पक्कै कोभिड हो कि !
मानौँ कोरोनाले लखेटिरहेको छ । हे भगवान् ।बाटाका कुकुर एकअर्कामा लड्दै, भुक्दैछन् । पेट खल्लो भएर तीव्र भोक लाग्यो । घाँटी भिजाएँ ।कराएर उठाउँ भने आउन उनीहरू डर मान्छन् । जिउ भारी भएर आयो । उल्टी आउलाजस्तो भयो । सिना छुटेर कोखाको दुखाइ बढ्दै गयो । सहन नसकेर छत वरिपरि फनफन घुमेँ । अनि भुइँमा लखतरान पल्टेँ । सोचेँ– हरे मलाई तल आँगनको तुलसीको मठसम्म कसले पु¥याइदेला ? अन्तिमझैँ हुन लाग्दाको यो मेरो आत्मतुष्टि कल्ले पूर्ति गर्ला ? कठैबरा यहाँ मसँग मौनता र अन्धकार मात्र सँगै छन् ! मेरो यस धरमरे जीवन–मोडमा मलाई आफ्नो अकिञ्चन लघुताको बोध भइरहेको छ । अहिलेको प्रतिकूल परिस्थिति नै यस्तो भएर आएको छ । सन्नाटा छायो । कान बजेझैँ मैले अनुभव गरेँ । बिस्तारै दुखाइ कम हुँदै गयो अब । जीउ हल्का हुँदै गयो । चकमन्न अन्धकारमा रजत रेसाहरू छरिएझैँ मैले अनुभव गरेँ । शरीर कपासझैँ हल्का भएर आयो । उनको कोठातर्फ आँखा पुग्यो । झ्याल–ढोका बन्द थिए । छतको बल्बको मधुरो उज्यालोमा मैले केही खोज्ने प्रयास गरेँ । मेरा आँखा भरिएझैँ भएर धमिलो देखेँ । झम्झम् पानीको आनन्दित आवाजमा मेरो आँखाले विश्राम लिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?