logo
२०७७ फाल्गुन १८ मंगलवार

समयसँगै फेरिएको स्वस्थानी कथा

कला |


2021-02-20-32379


सन्दीप सापकोटा

स्वस्थानी व्रतकथा नेपाली संस्कृतिको अभिन्न अङ्गका रूपमा  छ । पौराणिक कथा स्वस्थानीमा तत्कालीन समयको ग्रामीण सामाजिक परिपाटीको प्रत्यक्षीभूत उठान गरिएको छ । समाजमा रहेका सामाजिक उत्पीडनलाई कथाका माध्यमबाट मुखरित गरिएको छ । यतिखेर स्वस्थानी समयसापेक्ष नरहेको आवाज पनि उठ्न थालेको छ । तर, स्वस्थानी कथाले केही दशकअघिसम्म समाजमा साक्षरता अभिवृद्धि गर्न ज्यादै नै ठूलो भूमिका खेलेको थियो । समाजमा स्वस्थानी पढ्न सक्ने व्यक्ति भनेर मानक नै कायम गरिन्थ्यो । कतै–कतै ग्रामीण परिवेशमा आज पनि यो मापदण्डको पुनरावृत्ति सुन्न सकिन्छ । विशेषगरी साँवा अक्षर चिन्ने महिलाले स्वस्थानी व्रत अवधिमा व्रतकथा पढ्ने हुनाले सजिलैसँग चिट्ठीपत्र पढ्न र लेख्न सक्ने, सामान्य पाठ पढ्ने र नाम लेख्न सक्ने हुन्थे । तर, सञ्चारका साधन र पाठ्यसामग्रीको विविधताले पनि अहिले परम्परागत साक्षरताको अध्याय समाप्त भइसकेको छ ।
यसैगरी, स्वस्थानी व्रतकथामा वर्णित पौषशुक्ल पूर्णिमामा हातगोडाका नङहरू काटी, एकचित्त भई, शुद्धसँग व्रत विधिको पालना गर्दै.... आदि जस्ता नियमले सरसफाइलाई विशेष जोड दिएको छ । माघ महिनामा ठण्डा जलले नुहाएर व्रत बस्ने, मध्याह्नमा नदीकिनारमा शिवशक्ति पूजनले शास्त्रीय मान्यताको हठयोग र सिर्जनको पूजालाई सङ्केत गर्छ । प्रकृति र पुरुष एक–अर्काका पूरक हुन् भन्ने रहस्यलाई पनि स्वस्थानी कथाले सौम्य चित्रण गरेको छ । समाजमा रहेका उच्छृृङ्खल क्रियाकलापलाई नियन्त्रित गर्दै एकाग्रता र विधिको पालना गरेर आफ्नो सत्मा बस्दा असम्भव कुरा पनि पूरा हुने वर्णन छ । स्वस्थानमा बसेर वातावरण र शरीरलाई सफा राखेर संयम चित्तमा बसेर परम तत्वको चिन्तन गर्दा मान्छेमा सकारात्मक ऊर्जाको विकास हुन्छ र समाज पनि सकारात्मक दिशातर्फ उन्मुख हुन्छ ।
स्वस्थानी कथामा गोमा ब्राह्मणीको सङ्घर्षशील जीवनलाई दर्शाइएको छ । छातीमा व्यथा बोकेर नियतिलाई धिक्कार्दै गरिब जिन्दगीलाई प्रयोगशाला बनाउन पुगेकी गोमाले न माइती न त घरबाटै अलिकति पनि सुख पाइन् । उल्टै छोरा परदेश गएपछि बुहारीले पनि साथ नदिएर माइततिर भाग्नु विडम्बना हो । तर, जस्तोसुकै परिस्थितिमा पनि नहारी आफ्नो छोरालाई सांसारिक जीवनको सर्वोच्च पद चक्रवर्ती सम्राट् बनाएकी गोमाको जीवन अन्त्यमा सार्थक पनि भएको छ । यसको तात्पर्य जस्तोसुकै कष्टकर परिस्थितिमा पनि सङ्घर्ष गर्दा मानिस सुखी र सफल बन्न पुग्छ भन्ने हो । यस्तै, स्वस्थानी व्रतकथाको अन्त्यमा गोमा ब्राह्मणीले आफ्ना बुहारीहरू चन्द्रावती र लावण्यवतीलाई राजढुकुटीको साँचो हस्तान्तरणले समाजमा पुराना पुस्ताले क्रमशः नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गरी समाजलाई क्रियाशील र अग्रगामी बनाउनुपर्छ भन्ने हो । यसको तात्पर्य फेरि ज्येष्ठ पुस्ताको उपेक्षा गर्नु भन्नेचाहिँ कदापि होइन ।
सतही विश्लेषण नै गर्ने हो भने पनि स्वस्थानी व्रतमा (प्रकृति/शक्ति) नारीकै पूजा हुन्छ । शक्ति नै संसारको अस्तित्वको मुख्य स्रोत हो । नारीले नै जगत्मा पूर्णता प्रदान गर्छिन् । शास्त्रमै लेखिएको छ– शक्तिविना शिव केवल शव हो । शिवत्व प्राप्त गर्न शक्तिको वास चाहिन्छ । त्यसैले सनातनीय संस्कारमा शक्तिलाई नै प्रधानता दिइएको हुन्छ । स्वस्थानीमा वर्णन गरिएका अष्ट मातृकाहरू– ब्राह्मी (सृष्टि गर्ने ब्रह्माकी शक्ति), नारायणी (पालन गर्ने नारायणकी शक्ति) महेश्वरी (संहार गर्ने महेश्वरकी शक्ति), कौमारी (कुमारको शासकीय शक्ति), वाराही (वराहकी पृथ्वी÷धारण शक्ति), इन्द्राणी (इन्द्रकी राज्य शक्ति), चामुण्डा (शिवकी आत्मशक्ति) र महाकाली
(कालशक्ति) आदिको पूजा स्वस्थानीमा गरिन्छ । यी विविध शक्तिको सम्बन्ध मानिससँग प्रत्यक्ष परोक्ष रूपमा कायम रहेको हुन्छ । स्वस्थानीलाई यिनै अष्टमातृकाको सम्पूर्ण शक्ति भएकी प्रधान देवता मान्ने गरिन्छ ।
बदलिँदो समयक्रमसँगै स्वस्थानी कथालाई पुराणकारले आफूअनुसार ढाल्दै गएको अनुभूति कथा पढ्दा जोकोहीले पनि प्राप्त गर्न सक्छन् । राष्ट्रिय अभिलेखालयमा रहेको लगत नम्बर १९१ को संस्कृत स्वस्थानी सर्वप्रथम विक्रम संवत् १६२९ (नेपाल संवत् ६९३) मा लेखिएको, यो जम्मा आठ पत्रको रहेको र पछि विस्तारित हुने क्रमसँगै यसमा विभिन्न पुराणका अनेक प्रसङ्ग थपिँदै आजको वृहत् रूपमा आएको मानिन्छ । संस्कृतमा लेखिएको ३० वर्षपछि नेपाल भाषामा ३४ पत्रे र २३७ वर्षपछि मात्र नेपाली भाषामा ५५ पत्रे स्वस्थानी लेखिएको अध्ययनबाट जानकारीमा आएको छ । “एकतीस अध्याय र एक महिनाको व्रत पनि पछिल्लो समयको रूपान्तरण हो । यसअघि बाइस अध्यायमात्र थियो । प्रचलित स्वस्थानी कथा किताबमा उल्लेख गरिने स्वस्थानी व्रत तथा पूजाविधि नेपाली भाषामा स्वस्थानी प्रचलनमा आएपछि विकास गरिएको हो । व्रत र उपासना पनि अड्चालीस घन्टेबाट एक महिनामा अठारौँ शताब्दीमा मात्र विस्तार गरेको प्रमाण पाइएको छ (बर्केन्होल्ज, पृ. १०९) ।”
सात वर्षकी गोमा ब्राह्मणी र ७० वर्षको बूढो शिव शर्मा ब्राह्मणको अनमेल विवाहलाई स्वस्थानी कथाको प्रमुख जडका रूपमा लिइन्छ । तत्कालीन समाजमा जनसङ्ख्या ज्यादै न्यून थियो, सामाजिक संरचनामा विवाहलाई ज्यादै महत्वपूर्ण कृत्यका रूपमा लिइन्थ्यो । रजस्वला नभई छोरीको कन्यादान दिँदा स्वर्ग प्राप्त हुने विश्वास थियो । फेरि विवाह नहुनेको सामाजिक अवहेलना हुन्थ्यो । यस अवस्थाको समाजमा छोरीको निम्ति योग्य वर पाउन नसक्दा बाध्यात्मक परिस्थितिवश यो विवाह सम्पन्न भएको देखिन्छ । ७० वर्षीय वृद्ध शिव शर्माले सात वर्षीय गोमा ब्राह्मणीका बुवा शिव भट्ट ब्राह्मणलाई छोरी नदिए आत्मत्याग गर्ने भन्ने डर देखाएपछि ब्रह्महत्याको डरले बाध्यकारी भूमिका निर्वाह गर्नुप¥यो ।
मान्छेभित्रको आस्था सबैभन्दा बलियो हुन्छ । अझ धार्मिक आस्था त यति बलियो हुन्छ कि यसलाई भत्काउन त्यति सजिलो छैन । त्यसैले त करिब साढे चार सय वर्षअघि (विसं १६२९) लेखिएको एउटा सानो स्थानीय कथाले बिस्तारै आफ्नो कथनलाई फैलाउँदै ठूलो आकार लिएर आज पनि व्यापक मान्यता प्राप्त गरिरहेछ । सुरुमा एउटा कुनै जातिविशेष (नेवार)ले गर्ने गरेको व्रत आज अन्य जातिले पनि गर्ने गरेको पाइनुले यो एउटा सीमित घेराबाट माथि उठेको देखिन्छ । संस्कृतबाट नेवारी, नेवारीबाट नेपाली र नेपालीबाट अन्य भाषा (हिन्दीलगायत) भाषामा उल्था हुनु र विभिन्न समुदायले स्वस्थानी मनाउनु संस्कृतिको साटासाट र परिष्करण हो । वरिष्ठ संस्कृतिविद् महेश्वर जुजु राजोपाध्याय स्वस्थानीका बारेमा भन्नुहुन्छ, ‘कुनै पनि संस्कृति राष्ट्रको सम्पदा हो । राष्ट्रको अस्तित्व जोगाउन संस्कृतिको पनि जगेर्ना गर्नुपर्छ । स्वस्थानी कथा लेख्नुको उद्देश्य पनि यही हो । स्वस्थानी व्रतकथामा उल्लिखित पात्रहरू महादेव, सतीदेवी तथा पार्वतीको सम्बन्ध नेपालकै पवित्र तीर्थस्थल पाशुपत क्षेत्रसँग रहेकाले स्वस्थानीको महत्वको पनि यस क्षेत्रसँग जोडिएको छ । शिव–पार्वती नेपालका प्राचीन आदिवासी किरातका आराध्य देव भएको र स्वस्थानी नेपालको किरातकालीन इतिहास भएकाले यसको महत्वलाई जोगाइराख्न स्वस्थानी व्रत परम्परालाई निरन्तरता दिनु आवश्यक हुन्छ । त्यसैगरी, गोमा नवराजको कथाको सेरोफेरोले बनेपा र भक्तपुरलाई समेटेको हुनाले पनि स्वस्थानी कथा नेपालको इतिहास हो भनेर भन्न सकिन्छ । अतः इतिहासको संरक्षण गर्नु हाम्रो कर्तव्य हो ।’
हिजो उठान गरिएका विषयवस्तु सर्वकालिक हुनैपर्छ भन्ने छैन । आजका कतिपय विचार भोलिका रुग्ण अस्थिपञ्जर बन्न सक्छन् । समाज त परिवर्तनीय छ । संस्कृति सर्वथा मानव हितार्थ हो । स्वस्थानीमा वर्णित पात्रले नकारात्मकतातिर प्रेरित गरेको होइन, समाजमा साक्षरताका अभावमा पिल्सिएका अत्यन्त सिधा र सरल ग्रामीण नारी र नरलाई सम्भावित जोखिमका लागि तयार पारेको हो । समाजमा आउन सक्ने गतिरोध, परिवारमा आउन सक्ने कलह, काम, क्रोध, लोभ, मोह आदि मानवीय विकारका नकारात्मक परिणाम स्वस्थानी कथाले समाजमा पस्केको छ । स्वस्थानी व्रतकथाले समाजमा रहेका कलुषित भावनालाई हटाई शान्ति, भाइचारा र विश्वबन्धुत्व कायम गर्न विशिष्ट योगदान पु¥याएको छ । सम्बन्धित निकाय, बौद्धिक र प्राज्ञिकजनले विशेष रुचिसाथ स्वस्थानी व्रतकथाको संरक्षणमा ध्यान दिनु आवश्यक छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

national-life-insurance