logo
२०८१ बैशाख १३ बिहीवार



महाकवि देवकोटाको जन्मजयन्तीकाे अवसरमा स्रष्टाहरु सम्मानित

कला |


महाकवि देवकोटाको जन्मजयन्तीकाे अवसरमा स्रष्टाहरु सम्मानित


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २९ गते । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसर पारी मानव अधिकार तथा शान्ति समाज काठमाडांैले पाँच जिल्लाका स्रष्टालाई स्रष्टा सम्मान प्रदान गरेको छ । समाजले शनिबार एकसाथ दाङ, नवलपुर, कैलाली र पर्सामा आयोजित पाँच वटा कार्यक्रममा स्रष्टा सम्मान सौगात पुरस्कार प्रदान गरेको हो ।

समाजले नगद २० हजार राशी र ताम्रपत्रसहित स्रष्टाहरुलाई सम्मान प्रदान गरेको समाजका कार्यक्रम अधिकृत सरिता पौडेलले जानकारी दिनुभयो ।

काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्ष २०७७ को कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान नाटककार अशेष मल्ललाई, पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान लेखक आहुतिलाई, चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान गीतकार व्याकुल माइलालाई, ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान साहित्यकार प्रमोद प्रधानलाई, जोगमाया बराल स्रष्टा सौगात वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेललाई र भूमिप्रसाद बराल स्रष्टा सौगात वसन्ती शाहीलाई प्रदान गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले महाकवि देवकोटाको योगदानको चर्चा गर्दै देवकोटाको साहित्य जनमनमा बसेको बताउनुभयो । समाजका संस्थापक सभापति कृष्ण पहाडीले नेपाली साहित्यमा महाकवि देवकोटाको योगदान अद्वितीय भएको चर्चा गर्दै समृद्ध साहित्यले नै समाजलाई सुसंस्कृत र समुन्नत बनाउने धारणा व्यक्त गर्नुभयो । मानव अधिकार तथा शान्ति समाजले साहित्यको आराधन र स्रष्टा सम्मानलाई अभियानको रुपमा अघि बढाएको उहाँले बताउनुभयो ।

समाजका सभापति उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसद एवम् पूर्वमन्त्री गगन थापा, सांसद एवम् पूर्व मन्त्री शेरबहादुर तामाङ, पुरस्कृत स्रष्टाहरु अशेष मल्ल, आहुति, व्याकुल माइला, प्रमोद प्रधान, ज्ञानुवाकर पौडेल र वसन्ती शाही, समाजका सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल र केन्द्रीय सदस्य नम्रता खरेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैगरी शान्ति समाजकाअनुसार नवलपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. गंगाधर अधिकारीले स्रष्टा गोविन्दराज विनोदीलाई महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान प्रदान गर्नुभयो । त्यस्तै, शान्ति समाज दाङ शाखाका उपसभापति तुलसीराम सुनारको सभापतित्वमा तुलसीपुरमा आयोजित कार्यक्रममा बरिष्ठ साहित्यकार एबम प्राध्यापक गदाधर पौडेलले श्रीप्रसाद दाहाल स्रष्टा सौगात लेखिका बालिका चौधरीलाई प्रदान गर्नुभयो ।

यसैगरी शान्ति समाज कैलालीका सभापति भक्त विश्वकर्माको सभापतित्वमा धनगढीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशसभा सदस्य भरतबहादुर खड्काले राधादेवी दाहाल स्रष्टा सौगात वरिष्ठ साहित्यकार श्रेष्ठ प्रिया पत्थरलाई प्रदान गर्नुभयो । कैलालीका ८ वटा साहित्यिक तथा सामाजिक संस्थाहरुले पनि सोही कार्यक्रममा प्रिया पत्थरलाई सम्मान गरेका थिए ।

त्यस्तै, शान्ति समाज पर्सा शाखा सभापति अमरबहादुर गौतमको सभापतित्वमा वीरगञ्जमा आयोजित कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा स्रष्टा गणेश लाठले श्रीनारायण दाहाल स्रष्टा सौगात रेणु गुप्तालाई प्रदान गर्नुभयो । कार्यक्रममा वीरगञ्ज कलेजका प्रमुख बिनोद गुप्ता, लक्ष्मी साहित्य समाजका अध्यक्ष महेश गौतम, बीरगंज जेसीजका अध्यक्ष मुकेश सिंह, साहिव दरवार संस्थानका कोषाध्यक्ष चिनुमाया मानन्धर लगायतले विभिन्न संस्थाको तर्फबाट पुरस्कृत स्रष्टालाई सम्मान गर्नुभएको थियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?